एक करोड राशीको ‘भवन कृति रत्न’ सम्मान राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष पुनलाई हस्तान्तरण

news-details

नेपालका युवा उद्यमी तथा गैरआवासीय नेपाली संघ,अन्तर्राष्ट्रिय समन्वय परिषदका पूर्व अध्यक्ष भवन भट्टले स्थापना गरेको एक करोड राशीको ‘भवन कृति रत्न’ सम्मान राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई प्रदान गरिएको छ ।

गैह्र आवासीय नेपाली संघको केन्द्रीय कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा ‘भवन कृति रत्न’ पुरस्कार शिक्षामन्त्री देवेन्द्र पौडेल, भवन भट्ट तथा उनकी आमा इन्द्रकुमारी भट्टद्वारा पुनलाई प्रदान गरिएको हो । भट्टले आफ्नो जन्म दिनको अवसर पारेर सम्मान तथा रकम हस्तान्तरण हुन् ।

नेपालका वैज्ञानिक तथा समाजसेवी पुनले राष्ट्रिय आविष्कार केन्द्रको स्थापना सहित देशमा वैज्ञानिक अनुसन्धान, सूचना–प्रविधि तथा समाजका अन्य क्षेत्रमा राष्ट्रको उन्नति र सम्बद्र्धनका लागि पु¥याएको योगदानको कदर गर्दै बी बी ट्रष्टका अध्यक्ष भट्टले उनलाई ‘भवन कृति रत्न’ सम्मान सहित रु. एक करोडको राशी प्रदान गरेको हो ।
सम्मान ग्रहण पछि पुनले आफ्नो अभियानलाई थप मजबुत बनाउन टेवा पुग्ने बताउँदै आफ्नो व्यक्तिगत नभई राष्ट्रिय आबिष्कार केन्द्रको लागि रकम खर्चने प्रतिवद्धता व्यक्त गरे । ‘देशमा रोजगार सृजना गर्ने उद्यमीले हो, उद्यमी बन्न अनुसन्धान गर्नुपर्छ, त्यसका लागि सरकारले वातावरण बनाइ दिनु पर्छ’
पुनले भने ।
कार्यक्रममा शिक्षा मन्त्री देवेन्द्र पौडेलले सरकारले विज्ञान तथा अनुसन्धानका क्षेत्रमा काम गरिरहेको भएता पनि प्रयाप्त नभइरहेको अवस्थामा राष्ट्रिय आविष्कार केन्द्र र यसका अध्यक्ष महाबिर पुनले गरिरहेको कार्य उदाहरणीय बनेको बताए ।

यो पुरस्कार नेपालमा प्रदान गरिने पुरस्कार मध्ये सबैभन्दा ठूलो राशीको पुरस्कार हो । गैरआवासीय नेपाली संघ (एनआरएनए)को दशौं विश्व सम्मेलनका अवसरमा ‘भवन किर्ती रत्न’ पुरस्कार घोषणा गरिएको थियो । प्रत्येक दुई–दुई वर्षमा प्रदान गरिने यो पुरस्कार तथा सम्मान नेपालको विकास र नेपालीको हितका लागि काम गर्ने संस्था वा व्यक्तिलाई प्रदान गरिने जनाइएको छ ।

बी बी ट्रष्टका अध्यक्ष तथा ‘भवन किर्ती रत्न’ पुरस्कारका संस्थापक भट्ट यो पुरस्कार प्रदान गर्न पाएकोमा आफूलाई अभूतपूर्व आनन्द प्राप्त भएको बताएका छन् । महाकवि लक्ष्मी प्रसाद देवकोटाको अमर वाणी, “खोज्छन् सबै सुख भनी, सुख त्यो कहाँ छ ?आफू मिटाई अरुलाई दिनु जहाँछ,”भनेझैं भट्टले पनि आफूलाई यो पुरस्कार एक अत्यन्त सुपात्र र पुरस्कारका सच्चा हकदारलाई अर्पण गर्न पाउँदा अत्यन्त सुख अनुभूति भएको बताए ।

गोर्खा जिल्लाको तान्द्राङमा एक मध्यम परिवारमा जन्म लिएका भट्ट युवा अवस्थामा नै जापानमा एक विद्यार्थी तथा कामदारको रुपमा प्रवेश गरेसँगै अत्यन्त सफल व्यवसायीको रुपमा आफुलाई स्थापित गरे । आफ्ना पिता यदु प्रसाद भट्टलाई आदर्श मान्ने भट्टले आफूले जापानमा जति सम्पत्ति कमाए तापनि सो सम्पत्ति नेपाल र नेपालीका लागि उपयोग हुन नसके त्यसको तात्विक महत्व नहुने बुझेर करिब डेढ दशक देखि नेपालमा बी बी होल्डिङ्स स्थापना गरेर होटल, शिक्षा, पर्यटन, हवाई सेवा, उर्जा, संचार तथा विभिन्न व्यापारमा लगानी गरेर हजारौं रोजगारी सिर्जना गरिरहेका छन् ।

व्यवसायमा व्यस्त भइरहेकै समयमा भट्ट स्वामी आनन्द देवको नामाकरण सहित ओशोको अनुयायी भएर ओशो आश्रममा योग तथा ध्यानमा समेत समय बिताइरहेका छन् ।

“सामान्य जीवन त सबैले बाँचेकै हुन्छौं । तर जीवन त्यस्तो होस् जसले आफूलाई मात्र नभएर आफ्नो समाज, आफ्नो देश र आफू वरिपरिका सबैलाई लाभान्वित गराउन सकोस्,” भट्टको भनाई छ ।

एनआरएनएका अध्यक्ष कुल आचार्य र स्वामी अरुण आनन्दले भवन भट्टले आफ्नो देशमा गरिरहेको लगानी तथा समाजसेवाको प्रसंसा गर्दै सबैभन्दा ठूलो राशीको ‘भवन कृति रत्न’ सम्मान स्थापना गरेकोमा खुशी व्यक्त गरे ।

‘भवन किर्ती रत्न’ पुरस्कारबाट सम्मानित म्याग्दीका महावीर पुनले माध्यमिक शिक्षा पछि नेपालमै शिक्षकको रुपमा काम गरे पश्चात संयुक्त राज्य अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट शिक्षा हासिल गरेका थिए । आफ्नो जन्म स्थान सानैमा छाडेका पुन अध्ययन पश्चात त्यही स्थानमा गएर त्यहाँका बाल–बालिकाको शिक्षाका लागि महत्वपूर्ण योगदान गरेका थिए ।

म्याग्दीमा इन्टरनेट सेवा विस्तारका लागि उनले गरेको मेहनत र सफलताले पुनलाई अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गरायो । उनले स्थापना गरेको राष्ट्रिय आविस्कार केन्द्रले विज्ञान तथा खोजका क्षेत्रमा उल्लेखनीय योगदान गर्दैै युवा वैज्ञानिकलाई प्रोत्साहन र नेपालमा नै वैज्ञानिक खोजहरूका कामलाई प्रश्रय दिंदै आएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *