एनआरएनए एशिया प्याशिफिक सम्मेलन बैंककमा सुरु, आपसी एकतामा सम्मेलन केन्द्रित

news-details

थाईल्याण्डको राजधानी बैककमा आयोजित गैरआवासीय नेपाली संघ (एनआरएनए)को ९ औँ एशिया प्याशिफिक क्षेत्रीय सम्मेलनको शनिवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुवरले उद्घाटन गरेका छन ।

एनआरएनएभित्र एकता र मिलाप ल्याउनका लागि ‘मिलाप’ सेलिब्रेसनसहित थाइल्यान्डमा क्षेत्रीय सम्मेलन आयोजना गरिएको र सम्मेलनमा एनआरएनएले उठाँउदै आएको मुद्धाका साथै एनआरएनबीचको एकता र सहकार्यलाई जोड दिइएको आयोजकको भनाई छ ।

उदघाटन समारोहमा बोल्दै प्रमुख अतिथिसमेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले गैरआवासीय नेपालीलाई देश विकाशको अभियानमा सहकार्य गर्न आग्रह गर्दै विदेशमा रहेका नेपाली श्रमिकको सुरक्षाका लागी सरकारले कुनै कसुर बाकी नराख्ने बताए ।

मन्त्री कुँवरले देशलाई आपत–विपद् परेको अवस्थामा पनि गैरआवासीय नेपालीले आर्थिक, भौतिक र मानवीय सहयोग गरेर अविस्मरणीय योगदान गरेको स्मरण गरे । झण्डै ५० लाख नेपाली युवा वैदेशिक रोजगारमा जाँदा ठूलो श्रम र पूँजी विदेश पलायन हुने गरेको उल्लेख गर्दै उनले नेपाललाई नै श्रम बजारको रूपमा विकास गर्ने गरी यसलाई मर्यादित र व्यवस्थित गर्नुपर्ने खाँचो औँल्याए । विदेशमा रहेका नेपाली राजदूत र श्रम गन्तव्य रहेका देशका राजदूतसँग श्रम पूँजीलाई अझ प्रभावकारी बनाउन श्रम कूटनीतिमा जोड दिइएको उनको भनाइ छ ।

साथै उनले संविधानले नै गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक अधिकारसहित दोहोरो नागरिकताको अधिकार प्रत्याभूत गरेको सन्दर्भमा सरकारले नागरिकता विधेयक संसद्बाट पारित गरिसकेपछि केही समस्या आए पनि यसलाई प्रतिनिधिसभाले पुनः पारित गरिसकेको बताए । आइतबार बस्ने राष्ट्रियसभाको बैठकले उक्त विधेयक पारित गर्ने पनि उनले विश्वास व्यक्त गरे ।

गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र कँडेल शर्माले विश्वमा अवैतनिक पर्यटन दूतको रूपमा रहेका एनआरएनका प्रतिनिधिहरूलाई बढीभन्दा बढी पर्यटक नेपाल पठाउन आग्रह गरे ।
प्रतिनिधीसभा सदस्य डा. सूर्य पाठकले गैरआवासीय नेपालीलाई नागरिकता दिनुपर्छ भन्ने विषयमा राजनीतिक दलबीच मतभिन्नता नभएकाले छिट्टै नागरिकता ऐन पारित हुने उल्लेख गर्दै मुलुकमा लगानीको प्रशस्त सम्भावना रहेकाले एनआरएनको भूमिका अग्रणी रहेको उल्लेख गरे ।

थाइल्याण्डका लागि नेपाली राजदूत गणेशप्रसाद ढकालले यहाँ गैरआवासीय नेपालीको संख्या न्यून भए पनि एसिया क्षेत्रको सम्मेलनको आयोजना हुनु खुसीको कुरा भएको बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले नेपालको आर्थिक समृद्धिका लागि एनआएरएनले विदेशमा सिकेका सीप, ज्ञान र पूँजीको उपयोग गर्न आग्रह गरे । उनले एक जना एनआरएनले कम्तिमा एक जना पर्यटक नेपाल पठाउन सकेपनि देशलाई धेरै फाइदा हुने उल्लेख गर्दै एक देश एक प्रोजेक्टको अवधारणा अनुसार नेपालमा लगानी गर्न पनि गैरआवासीय नेपालीहरुलाई अनुरोध गरे ।

सम्मेलनमा संघका कार्यकारी अध्यक्ष कुल आचार्यले ढिलै भए पनि संसद्ले नागरिकता विधेयक पारित गरेर गैर आवासीय नेपालीलाई राज्यले सम्मान गरेकोमा सरकारलाई धन्यवाद ब्यक्त गर्दै नागरिकता ऐनले एनआरएनहरूको नेपालमा रहेको सम्पत्तिको रक्षा र नेपालमा ढुक्क भएर लगानी गर्ने वातावरण बन्ने विश्वास व्यक्त गरे । साथै उनले सँस्थामा केही असन्तुष्टि रहेको भए त्यसमा छलफल गर्दै सहमती र सहकार्यका साथ अगाडी बढ्न सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई अनुरोध गरे ।

संघका अर्का अध्यक्ष रविना थापाले संघको १०औँ महाधिवेशनपछि आयोजना भएको एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन महत्वपूर्ण हुने भएकाले कार्यक्रमको नाम नै मिलाप राखिएकाले हाल एनआरएनएमा देखिएको विवाद उक्त सम्मेलनपछि अन्त्य हुने दाबी गरिन ।

यस्तै संघका अर्का अध्यक्ष डा. बद्री केसीले भाइचारा अभिवृद्धि तथा पारस्परिक सहयोगलाई बढावा दिने सोचका साथ मिलापको अवधारणाअनुरुप यो भेला आयोजना गरिएको उल्लेख गर्दै गैरआवासीय नेपालीको महिनाभरको कमाई विप्रेषणका रूपमा भित्रिएर मुलुकको अर्थतन्त्र धानिएकाले उनीहरूलाई मताधिकारको अवसरबाट पनि बञ्चित गर्न नहुने धारणा राखे ।

एनआरएनका पूर्वअध्यक्ष भवन भट्टले वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानीलगायतका कुरामा जोड् दिन आवश्यक रहेको बताउदै संघभित्रको एकतालाई अझै रचनात्मक बनाउनुपर्ने बताए ।

सो अवसरमा समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना, राष्ट्रिय मानवअधिकार आयोगका सदस्य लिली थापा, राष्ट्रिय मुस्लिम आयोगका सदस्य मिर्जा अर्सद बेग, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख ओम शर्मा र व्यवसायी राजेन्द्र खेतान लगायतले समृद्ध राष्ट्रका लागि नेपाली प्रवासीहरूको भूमिकाका बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा आयोजक राष्ट्र एनआरएनए थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेतले कार्यक्रममा सहभागी सम्पूर्णमा आभार प्रकट गर्दै सम्मेलनमा उठेका गैरआवासीय नेपालीहरुको मागलाई संसदमा उठाइदिन कार्यक्रममा सहभागी मन्त्री एवं सांसदहरुलाई आग्रह गरे ।

‘मिलाप’ नाम दिइएको सो सम्मेलनमा महिला, युवालगायत संघका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा छलफल हुने एसिया क्षेत्रीय संयोजक पारसमणि पोखरेलले बताए । सम्मेलनमा वक्ताहरूले थाइल्याण्ड, म्यानमार र सिङ्गापुरमा रहेका रैथानेले उठाउँदै आएका पिपल फर नेपाली ओरजिन (पिएनओ)को मान्यता पाउनुपर्ने माग गरेका थिए । सो अवसरमा राष्ट्रिय तथा स्थानीय कलाकारले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

सम्मेलनका विभिन्न सत्रमा ५० भन्दा बढी वक्ता रहने र गैरआवासीय नेपाली संघका मुख्य मुद्दा नेपाली नागरिकताको निरन्तरता, मताधिकारको अधिकार, नेपालमा लगानी तथा महिला युवाका समस्या र समाधानको विषयमा सम्मेलन केन्द्रित हुने गैरआवासीय नेपाली संघले जनाएको छ । सो सम्मेलनमा विभिन्न विषयगत विज्ञले आ–आफ्नो कार्यपत्रसमेत प्रस्तुत गर्नेसमेत संघले जनाएको छ ।

एशिया प्याशिफिक सम्मेलनका लागी बिश्वका ३० भन्दा बढी देशका ३०० भन्दा बढी गैरआवासीय नेपाली बैंकक आएका छन । बैंकक सम्मेलनमा एनआरएनए संस्थापक महासचिव भीम उदाष, एनआरएनएका पूर्वअध्यक्ष एबं संरक्षक भवन भट्ट, अध्यक्ष कुल आचार्य, रबिना थापा, डा. बद्री केसी, उपाध्यक्ष आरके शर्मा, महेश श्रेष्ठ, भुषण घिमिरे, धर्मराज अधिकारी, रोविन्द प्रसाद श्रेष्ठ, महिला उपाध्यक्ष बिष्णुमाया परियार, युवा उपाध्यक्ष रोशन थापा, महासचिब डा. केशब पौडेल, उपमहासचिव ओम गुरुङ, रामशरण सिंखडा, टिका गुरुङ, सह कोषाध्यक्ष नारायण सुवेदी, टंक गैरे, प्रवक्ता शिव कुमार बरुवाल, युवा संयोजक अब्दुल बासिद, एनआरएनए एशिया प्याशिफिक क्षेत्रका संयोजक पारसमणी पोखरेल, डिपी कँडेल, सहसंयोजक नवीन बिक, ददीवाल खड्का, हरी भट्टराई सहभागी छन ।

यस्तै एनआरएनए मध्यपुर्व संयोजक मनोज गोर्खाली, एनआरएनए युरोप क्षेत्रिय संयोजक सन्तोष भट्टराई, सह संयोजक ललित कुमार न्यौपाने ,एनआरएनए युएईका अध्यक्ष ठाकुर प्रसाद ढुंगाना, एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, आईसिसि सदस्य पुर्ण पोखरिया, एनआरएनए मलेसियाका अध्यक्ष बिनोद थापा, आईसिसि सदस्य नेत्र केसी, एनआरएनए कोरियाका अध्यक्ष दीपक पुन, आईसिसि सदस्य डा विमल सुवेदी, एनआरएनए सिंगापुरका अध्यक्ष किरन पराजुली, एनआरएनए कम्बोडियाका अध्यक्ष लाल सिंह खड्का, एनआरएनए जापानका अध्यक्ष शिव पौडेललगायतका धेरै गैरआवासीय नेपाली संघका प्रतिनिधी सम्मेलनमा सहभागी छन ।

सम्मेलनमा नेपाली जनप्रगतीशील मञ्च मध्यपूर्वका अध्यक्ष शनि कुमार ओली, नेपाली जनसम्पर्क समिती युएईका सभापती भुवानी प्रसाद तिमल्सिना, नेपाली जनप्रगतीशील मञ्च युएईका अध्यक्ष बाबुराम बिश्वकर्मा, नेपाली जनसम्पर्क समिती कतारका सभापती मोहम्मद अजिज अलीलगायत विभिन्न राजनितिक दलका नेताहरु, विभिन्न संचारमाध्यमका प्रतिनिधी लगायतको उल्लेख्य सहभागिता रहेको छ ।

एसिया प्रशान्त क्षेत्रका बिभिन्न राष्ट्रिय समन्वय परिषदका प्रतिनिधीहरु, यूरोप, अमेरीका ओसियाना, अफ्रिका तथा मध्यपूर्वका ३० देशहरुबाट समेत गरी करिब ३०० प्रतिनिधीहरुको सहभागिता रहेको एशिया प्याशिफिक क्षेत्रीय संयोजक डिपी कंडेलले बताए । उनले भाईचारा अभिवृद्धि तथा पारस्परिक सहयोगलाई बढवा दिने सोचका साथ मिलापको अवधारणा अनुरुप यो भेला आयोजना गरिएको बताए ।

सम्मेलनको दौरानमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विभिन्न मनोरन्जनात्मक साँस्कृतिक कार्यक्रम, गजल तथा हांस्यव्यंग विधामा प्रस्तुती दिने छन ।

सम्मेलन बैंकक घोषणापत्र जारी गर्दै आइतबार सम्पन्न हुने छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *