‘मिलाप’ सेलिब्रेट गर्न थाइल्यान्डमा एनआरएनएको क्षेत्रीय सम्मेलन शुरु

news-details

एनआरएनए एशिया प्यासिफिक क्षेत्रीय सम्मेलन आजबाट थाइल्यान्डमा सुरु भएको छ । सम्मेलन एनआरएनएमा लामो समयदेखि देखिएका विवाद समाधान र ‘मिलाप’ सेलिब्रेसनका लागि सफल हुने जनाइएको छ । एनआरएनएभित्र एकता र मिलाप ल्याउनका लागि थाइल्यान्डमा क्षेत्रीय सम्मेलन आयोजना गरिएको आयोजकको भनाई छ ।

थाइल्यान्डको राजधानी बैंककस्थित मिलिनियम हिल्टन होटलमा २६ अगष्ट अर्थात आजदेखि सुरु भई २८ अगष्ट २०२२ मा समापन हुने यस सम्मेलनमा क्षेत्रीयस्तरका सरोकारका विभिन्न विषयहरुका साथै एनआरएनले उठान गर्दै आएका महत्वपूर्ण मुद्धाहरुमा बिज्ञहरुको प्रस्तुतीका साथै सहभागीहरुबाट राय संकलन गरिने जनाइएको छ ।

भेलामा नेपाल सरकारकातर्फबाट प्रमुख अतिथीको रुपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरको उपस्थिति रहने जनाइएको छ भने विशिष्ठ अतिथीको रुपमा प्रतिनिधीसभा सदस्य डा. सूर्य पाठक, गण्डकी प्रदेशका पर्यटन, उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्री मणिभद्र कंडेल शर्मा, पुष्पराज तिमिल्सीना (समावेशी आयोग), लिली थापा (राष्ट्रिय मानव अधिकार आयोग), मिर्जा अर्साद बेग (राष्ट्रिय मुस्लिम आयोग), गणेश प्रसाद ढकाल (थाईल्याण्डका लागी नेपाली राजदुत), राजेन्द्र खेतान (अनररी काउन्सिलर, पोर्चुगल) ओम शर्मा (केन्द्रीय सदस्य तथा बिदेश विभाग प्रमुख, नेकपा माओबादी केन्द्र), चन्द्र ढकाल (वरिष्ठ उपाध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघ)लगायत गैरआवासीय नेपाली आन्दोलनका संस्थापक अग्रजहरु तथा वर्तमान नेतृत्व वर्गहरुको उल्लेख्य सहभागिता रहने छ ।

सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका बिभिन्न राष्ट्रिय समन्वय परिषदका प्रतिनिधीहरु, यूरोप, अमेरीका ओसियाना, अफ्रिका तथा मध्यपूर्ब क्षेत्रका ३० देशहरुबाटसमेत गरी करिब ३०० प्रतिनिधीहरुको सहभागिता रहने आयोजकको भनाई छ ।

समृद्ध राष्ट्रको लागी नेपाली प्रवासीहरुको भूमिका, नागरिकताको निरन्तरता, पिएनओका मुद्धा, विदेशमा बस्ने नेपाली बिज्ञहरुको राष्ट्र निर्माणमा भूमिका, सामाजिक रुपान्तरणको लागी लैगिंक समानता साथै गैरआवासीय आन्दोलनले उठान गरिरहेका मुद्धाहरु खासगरी सम्मानजनक वैदेशिक रोजगारी तथा सामाजिक सुरक्षा, प्रवासबाट मताधिकार, युवा तथा महिलाका सवाल तथा पढ्दै कमाउंदै जस्ता महत्वपूर्ण कार्यक्रमहरुबारे छलफल र बिभिन्न एनसीसीहरुका प्रस्तुती सम्मेलनमा रहने आयोजकको भनाई छ ।

भाईचारा अभिवृद्धि तथा पारस्परिक सहयोगलाई बढवा दिने सोचका साथ मिलापको अवधारणा अनुरुप यो भेला आयोजना गरिएको बताउँदै आयोजक समितिले कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बिभिन्न मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम, गजल तथा हांस्यव्यंग प्रस्तुतीसमेत रहने जनाएको छ ।

कार्यक्रममा एनआरएनएका कार्यकारी अध्यक्ष कुल आचार्यले थाइल्यान्डमा आयोजित सम्मेलन ‘मिलाप’को विन्दु भएको बताउदै सबै एकै ठाउँमा भेला भएको बेला केहि असन्तुष्टिहरु भए त्यसलाई छलफल गरेर मिलाइने र असन्तुष्ट पक्षलाई बाहिर जान नदिने बताए ।

त्यस्तै संघका अध्यक्ष रबिना थापाले एनआरएनएको दशौं महाधिवेशन ‘मिलाप’को महाधिवेशन रहेको र त्यही ‘मिलाप’ सेलिब्रेट गर्न आफुहरु थाइल्यान्ड आएको बताईन् ।

कार्यक्रममा बोल्दै संघका अर्का अध्यक्ष डा. बद्री केसीले सबैले व्यक्तिगत स्वार्थ त्यागेमा मात्र मिलाप हुने बताउदै बिस वर्षदेखि संस्थाप्रति पु¥याएको योगदानलाई कदर गर्दै सबैलाई ‘मिलाप’को बाटोमा जान आग्रह गरे ।

कार्यक्रममा एशिया प्याशिफिक संयोजक पारसमणि पोखरेलले ‘मिलाप’ एकीकरणका लागि यो सम्मेलन सफल हुने जनाउँदै कार्यक्रम तालिकाको बारेमा जानकारी दिएका थिए भने अर्का संयोजक डिपी कडेलले कार्यक्रमलाई सफल बनाउनका लागि आफुहरु अहोरात खटेको जनाउदै सहभागीहरुको रचनात्मक सहयोग र सुझाबको अपेक्षा गरेको बताए ।त्यस्तै एनआरएनए थाइल्यान्डका अध्यक्ष भविन्द्र बस्नेतले सम्मेलनमा सहभागी सबैलाई स्वागत गर्दै कार्यक्रम सफल बनाउँन अनुरोध गरे ।

कार्यक्रमको अन्तमा भेलाको निचोड प्रस्तुत गरिने आयोजकले जानकारी दिएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *