एनआरएनए प्रतिनिधि मण्डल र प्रचण्डबीच नागरिकता विधेयकबारे छलफल

news-details

गैरआवासीय नेपाली संघको एक प्रतिनिधि मण्डलले पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उनको निवास खुमलटारमा गई भेटघाट गरेको छ । प्रतिनिधि मण्डलका पदाधिकारीहरूले सरकारले प्रतिनिधि सभामा पेश गर्न लागेको नागरिकता विधेयकबारे छलफल गरेका थिए ।

उक्त अवसरमा संघका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष डा बद्री केसी, संस्थापक अध्यक्ष डा उपेन्द्र महतो लगायतका पदाधिकारीहरूले यो विधेयक ल्याउनको लागि सहयोग गरेकोमा पार्टीका अध्यक्षलगायत नेकपा माओवादी केन्द्र प्रति हार्दिक धन्यवाद प्रकट गरे । उनीहरूले यो विधेयक अन्तिम चरणमा आइसकेकोले यसलाई पारित गराइ विश्वमा रहेका सबै गैरआवासीय नेपालीहरुको भावनालाई सम्बोधन गर्न हार्दिक आग्रह गरे ।

जवाफ अध्यक्ष प्रचण्डले संविधानमा गैरआवासीय नेपाली नागरिकताको लागि जुन व्यस्था गरिएको छ त्यही अनुरूप विधेयक आउने जानकारी गराए । यसमा आफ्नो र पार्टीको तर्फबाट यहाँहरूलाई पूर्ण सहयोग रहने पनि बताए ।

उक्त भेटघाट कार्यक्रममा पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, संघको तर्फबाट उपाध्यक्ष महेश कुमार श्रेष्ठ, युरोपका क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा, युरोप क्षेत्रका युवा संयोजक रमेश काफ्ले, पूर्व आईसीसी सदस्य पशुपति भण्डारी लगायतका प्रतिनिधिहरू, गैरआवासीय नेपाली नागरिकता सम्बन्धी फोकल पर्सन सरोज दाहाल र सचिवालयका अधिकृत कुनाल मिश्राको उपस्थिति रहेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *