गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा लगानीको लागि सहज वातावरण बनाउन आग्रह गरेको छ ।

एनआरएनएका अध्यक्ष विनोद कुँवर नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मालाई भेट गरेर नेपालमा लगानीका लागि सहजीकरण गरिदिन आग्रह गरेको हो ।

भेटका क्रममा अध्यक्ष कुँवरले विदेशी लगानीका लागि अझैपनि कतिपय प्रावधान झन्झटिलो रहेकाले त्यसमा सुधारको जरुरी रहेको बताए ।

यस्तै विदेशीले ५ करोड भन्दा कम लगानी गर्न नपाउने व्यवस्था रहेकाले गैरआवासीय नेपालीहरुले साना लगानी गर्न चाहेकोले साना लगानीलाई पनि प्रोत्साहन गरिनुपर्नेमा उनले जोड दिए ।

सो क्रममा अर्थमन्त्री शर्माले एफडीआई सहजताका लागि आफू लागिपरेको बताएका थिए । उनले विदेशमा सिकेको ज्ञान, सिप र पुँजीलाई भित्र्याउन पनि एनआरएनएलाई आग्रह गरे ।

भेटका क्रममा अध्यक्ष कुँवरसहित जानकी गुरुङ, भुमा लिम्बु, जुनु गुरुङ, उमेश कुमार पुडासैनीलगायतको सहभागिता रहेको थियो ।

गत मार्च २२ देखि २४ सम्म काठमाडौंको याक एण्ड यति होटेलमा घले समूहद्धारा आयोजित संघको दशौं महाधिवेशनबाट कुँवरको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

यद्यपी संस्थापन पक्षले भने मार्च २६ देखि २७ सम्म दशौ अधिवेशन गरेर कुल आचार्य, रविना थापा र डा बद्री केसीको अध्यक्षतामा सर्वसम्मतले नयाँ कार्यसमिति चयन गरेको छ ।

घले समूहले संघको आधिकारिक कार्यसमिति दावी गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता गराएको छ भने संस्थापन पक्षले पनि संशोधित विधान पारित गरेर परराष्ट्रमा प्रमाणिकरणका लागि दर्ता गराएको छ ।

अनाथालयलाई खाद्यान्न सहयोग

यसैबीच संघले काठमाडौंमा रहेको अनाथालयलाई खाद्यान्न लगायत दैनिक उपभोग्य सामाग्री सहयोग स्वरुप प्रदान गरेको छ ।

लगानीको लागि सहज वातावरण बनाउन अर्थमन्त्री शर्मालाई एनआरएनएको आग्रह

संघका अध्यक्ष विनोद कुँवरसहितको पदाधिकारीहरुको टोलीले काठमाडौ महानगरपालिका टोखामा रहेको पवित्र सेवा आश्रममा पुगी आश्रमकी संचालक दिक्षा चापागाईलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन ।

अनाथ बालबालिकाहरुलाई आश्रय तथा शिक्षा प्रदान गर्दै आइरहेको आश्रमलाई आवश्यक दाल, चामल, तेल, नुन, आलु, पानीलगायतका सामाग्री सहयोग स्वरुप प्रदान गरिएको अध्यक्ष कुँवरले बताए ।

लगानीको लागि सहज वातावरण बनाउन अर्थमन्त्री शर्मालाई एनआरएनएको आग्रह

यस्तै खानेपानीको समस्या नहोस भनेर १ वर्षसम्म दैनिक १० जार पानीको व्यवस्था गरिएको अध्यक्ष कुवँरले जानकारी दिएका छन ।