एनआरएनए निर्वाचनमा धक्का : चैत ९ गतेसम्म निर्वाचन गतिविधि स्थगनको आदेश

एकताका लागि चर्को दबाब
news-details

गैरआवासीय नेपाली संघको आगामी चैत १० र ११ (मार्च २४ र २५) गते तोकिएको निर्वाचनका गतिविधि तत्काल स्थगन गर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । अदालतले एनआरएनएको निर्वाचन रोकेर ९ गते दुवै पक्षलाई छलफलमा आउन अन्तरिम आदेश दिएको हो ।

उच्च अदालत पाटनका न्यायाधीश दुर्गाबहादुर विश्वकर्माको एकल इजलासले चैत ९ गते छलफलका लागि दुवै पक्षलाई बोलाउँदै उक्त मितिसम्म निर्वाचनका गतिविधि नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

अदालतको यो आदेशसँगै गत अक्टोबरमा नै हुनुपर्ने एनआरएनएको निर्वाचन फेरि अन्योलमा परेको छ । निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका तथा डेलिगेट्सलाई अदालतको आदेशले थप निराशा जगाएको छ ।

गैरआवासीय नेपाली संघको संस्थापन पक्षले आगामी चैत १० र ११ गते संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचनको मिति घोषणा गरेपछि उक्त निर्णयका विरुद्ध गैर आवासीय नेपाली संघका सदस्य चिन्तामणि सापकोटा र उमेशकुमार पुडासैनीले उच्च अदालत पाटनमा रिट निवेदन दिँदै निर्वाचन रोक्न माग गरेका थिए ।

उक्त रिटमाथि भएको प्रारम्भिक सुनुवाइमा चैत ९ गतेका लागि छलफल गर्न मिति तोकिएको छ । चैत ९ गते दुवै पक्षबीच छलफल गराई निर्वाचनको कार्यतालिका रोक्ने गरी अन्तरिम आदेश जारी गर्नु वा नपर्ने भन्ने सम्बन्धमा सुनुवाई हुनेछ ।

एनआरएनएले घोषणा गरेको निर्वाचनमा वर्तमान उपाध्यक्ष डा. बद्री केसी र महिला उपाध्यक्ष रविना थापाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका थिए भने अर्का अध्यक्षका आकांक्षी कुल आचार्यले निर्वाचनमा सहभागी नहुने भन्दै बहिस्कार गरेका थिए ।

एकताका लागि चर्को दबाब

एनआरएनएले निर्वाचन तथा महाधिबेशनको मिति घोषणा गरेर अगाडि बढेपछि एनआरएनएका पूर्व अध्यक्ष शेष घलेले कुल आचार्य समूहलाई साथमा लिएर मार्च २२ देखि २५सम्म समानान्तर महाधिबेशन गर्ने भन्दै तयारी थालेपछि एनआरएनबृतमा चौतर्फीरुपमा एकताको दवाव बढेको छ ।

संस्था फुटाउनु हुँदैन भनेर विश्वभरका एनआरएनहरु लागिरहेका छन् । ‘फुटेर होइन एकताका लागि सबैले छाति चौडा गर्नुपर्छ’ एनआरएनए उपाध्यक्षका उम्मेदवार धर्मराज अधिकारी भन्छन्–‘ आफु मात्र होइन संस्थाको हीतमा सबैले सोच्न जरुरी छ ।’

एकताका लागि संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच निरन्तर छलफल भइरहेको छ । ‘आज वा भोलिसम्ममा सहमति हुन्छ, एनआरएनएको विवाद अन्त्य हुन्छ’ एनआरएनए एक अभियन्ताले रोजगार मञ्चलाई बताए ।

एनआरएनएको महाधिबेशनभन्दा पनि एकताको महाधिबेशनका लागि विश्वभरका एनआरएनहरु अहिले काठमाडौं आइरहेका छन् । सबैको एउटै उदेश्य छ–‘हामी संस्था फुटेको साक्षी बस्न सक्दैनौ ।’

एनआरएनएका उम्मेदवार दर्ता गराएका तथा निर्वाचनमा सहभागि नभएकाहरुले पनि एकताका लागि पहल गरिरहेका छन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *