एनआरएनए निर्वाचन : अध्यक्षमा डा.केसी र थापाको उम्मेदवारी दर्ता, आचार्य ‘रिङ आउट’ हुने संभावना

निर्वाचन मिति फेरि सर्यो
news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए) १० औं महाधिबेशन तथा निर्वाचनका लागि विवादकाबीच पनि उम्मेदवारी दिने होड चलिरहेको छ । एनआरएनएको आगामी कार्याकालका लागि अध्यक्ष पदमा वर्तमान महिला उपाध्यक्ष रविना थापाले उम्मेदवारी दर्ता गराएकी छिन् ।

थापाले मंगलबार एनआरएनए सचिवालयमा निर्वाचन समितिका प्रमुख भिमसेन बन्जारालाई आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् । थापाको उम्मेदवारी आएपछि एनआरएनबृतमा तरंग पैदा भएको छ । थापासँगै एनआरएनएका वर्तमान उपाध्यक्ष डा. बद्री केसीले अध्यक्षमा सोमबार नै उम्मेदवारी दर्ता गराइसकेका छन् । अव संघमा थापा र केसीबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

अध्यक्षका अर्का आकाक्षी कुल आचार्य भने एनआरएनए निर्वाचनमा ‘रिङ आउट’ हुने संभावना बढेको छ । उनी प्रतिनिधिको नामावलीमा विवाद देखिएको भन्दै निर्वाचनबाट भागिरहेका छन्, यद्यपी उनले जित्ने अवस्था देखेको खण्डमा उम्मेदवारी दर्ता गर्ने मनसायमा उनका निकटले बताइरहेका छन् ।

एनआरएनएको आगामी निर्वाचनका लागि उत्साहपूर्वक उम्मेदवारी दर्ता भएपछि आचार्यले धम्कीपूर्ण स्टाटस लेखेका छन् । उनले भनेका छन्–‘ अब संस्था बचाउन एउटा ठोस निर्णय गर्नु पर्ने बेला आएको छ, म सबै साथीहरुलाई एक ढिक्का हुन र संस्थाको हितको लागि जस्तो सुकै कडा निर्णय गर्न पनि तयार रहन अपिल गर्दछ ।’ उनको कडा निर्णय कस्तो हुने हो खुलाएका छैनन् ।

एनआरएनएमा अध्यक्ष पदका लागि रविनाको उम्मेदवारी परेपछि आचार्य न निर्वाचनमा सहभागि हुनु न टाढिनु दुविधामा परेका छन् । आचार्य निर्वाचनमा नआए उनका टिमलाई पनि उम्मेदवारी नहाल्न दवाव दिइरहेका छन् ।

संघको निर्वाचन समितिका प्रमुख भिमसेन बन्जाराका अनुसार संघको पूर्वनिर्धारित कार्यतालिका अनुसार सोमवार र मंगलवार मात्र नभएर अरु तीन दिनसम्म मनोनयन दर्ताका लागि समय थप गरिएको छ । उम्मेदवार हुन् चाहने व्यक्तिले अनलाइन तथा प्रत्यक्ष संघको कार्यालयमा उपस्थित भएर आफ्नो उम्मेदवारी दर्ता गर्न सक्ने निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन मिति फेरि सर्यो

आगामी मार्च २१ र २२ मा हुने भनिएको एनआरएनएको निर्वाचन ३ दिन पछि सारिएको छ । सहमतिका लागि अन्तिम प्रयास भइरहेकाले सबैलाई समेट्नका लागि समय सारिएको बुझिएको छ ।
‘पटक पटक निर्वाचनको मिति सार्नु गलत हो’ अध्यक्षकी उम्मेदवार थापाले भनिन्–‘ आज पनि एनआरएनए सचिवालयमा आएपछि निर्वाचन मिति सरेको जानकारी पाइयो’ ।
एनआरएनएको निर्वाचन आगामी मार्च २४ र २५ तारिख हुने निर्वाचन समितिले जनाएको छ ।

एनआरएनए उपाध्यक्षमा अष्ट्रेलियाबाट धर्मराज अधिकारीले उम्मेदवारी दर्ता गरिसकेका छन् भने अन्य उम्मेदवारको पनि धमाधम उम्मेदवारी दर्ता भइरहेको छ ।
एनआरएनएको महासचिवमा अमेरिकाबाट गौरीराज जोशी र युकेबाट विनय अधिकारीले उम्मेदवारी दर्ता गरिसकेका छन् । जोशी हाल सचिव छन् भने अधिकारी ग्लोबल गोरखा समाजको अध्यक्ष छन् ।

निर्वाचन समितिले अहिले पनि उम्मेदवारी दर्ता भइरहेको र उम्मेदवारी आउने क्रम जारी रहेको जनाएको छ । अहिलेसम्म २० जनाको हाराहारीमा उम्मेदवारी दर्ता भइसकेको र अन्यको ईमेल भेरिफाइ कार्य भइरहेको जनाइएको छ ।

संघको अध्यक्ष सहित ५१ पदाधिकारीको लागि मनोनयन हुन लागेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिले सोमवार बिहान अन्तिम ३५९० जनाको मतदाता नामावली समेत सार्वजनिक गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *