‘एनआरएनएलाई अनिर्णयको बन्दी नबनाऔं’–उपाध्यक्ष डा.केसी

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औँ महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन अझै हुन नसक्दा अन्योलता झनै बढेर गएको छ । आगामी फेब्रुअरी २८ मा निर्वाचन मिति तोकिएको भएता पनि निर्वाचन हुनेमा आशंका त्यतिकै छ ।

एनआरएनएभित्रका विवाद मिलाउने जिम्मा पाएको प्रमुख संरक्षक शेष घले नेतृत्वको एनआरएनए उच्चस्तरीय समितिको समयावधी पनि सकिन लागेको छ । यद्यपी उक्त समितिले सोमवार आफ्नो बैठक बोलाएको छ । बैठकले निर्वाचन गराउने सहमति निकालेको खण्डमा पछिल्लो समयमा तोकिएको मितिमा निर्वाचन हुने संभावना भने कायम नै छ ।

यद्यपी जापान निर्वाचनमा प्रविधिको दुरुपयोग गरेको भन्दै वर्तमान कार्यसमितिका केही पदाधिकारीलाई मात्र नेपाल प्रहरीमा उजुरी हालेर निर्वाचन भाँड्ने अर्को खेल भएको छ ।

एनआरएनएका उपाध्यक्ष तथा आगामी कार्यकालका अध्यक्षका उम्मेदवार डा. बद्री केसीले एनआरएनएको महाधिबेशन तथा निर्वाचन रोकेर कसैले पनि अनिर्णयको बन्दीमा पार्न नहुने बताएका छन् । डा. केसीले पत्रकार सम्मेलन गरी तत्काल निर्वाचनका कार्यतालिका प्रकाशित गरेर समयमा नै निर्वाचन गराउन आग्रह गरेका छन् ।
उनले भनेका छन्–‘गत वर्षको जुलाई ३१ भित्रै ६४ एनसीसीको निर्वाचन सम्पन्न भई आइसीसी महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लागिसकेको छ,यस बीचमा महाधिवेशन प्रतिनिधिका विषयमा केही एनसीसीमा देखिएको असन्तुष्टिले वर्तमान असहज अवस्था सिर्जना भएको तर यस परिस्थतिलाई सहज बनाउन र असन्तुष्टि समेत सम्बोधन भइसकेकोको अवस्थामा पनि निर्वाचनलाई अनिर्णयको बन्दी बनाइराख्नु वास्तवमा न्यायोचित छैन ।’

संघका सबै पक्षलाई समेटेर सबैखाले असन्तुष्टिको अन्त्य गर्ने उद्देश्यले नै पटक पटक समस्या समाधानका लागि पहल भएको र विधानसम्मत छन् भन्ने ठहर पाटन उच्च अदालतले समेत गरिसकेको डा. केसीको भनाई छ ।

संघका अध्यक्ष कुमार पन्तद्वारा गठित ५ सदस्यीय समितिले अघिल्लो महिनाको (जनवरी) पहिलो साता पनि सबै पक्षसँग छलफल गरी ७ बुँदे सहमति समेत जुटाइसकेको छ ।

डा केसीले निर्वाचन सम्पन्न गर्न हदैसम्मको लचकता अपनाउँदा पनि केही शक्ति केन्द्रको आडमा साइबर क्राइमको नाममा झूठा र आधारहिन आरोप लगाई निर्वाचनमा उम्मेदवारी घोषणा गरेका संघका पदाधिकारीको मनोबल गिराउने खेल भइरहेको बताएका छन् ।

संघको निर्वाचनमा भएको ढिलाईले विश्वभरका ३६ सय बढी गैरआवासीय नेपालीहरुको मतदानको अधिकार मात्रै खोसिएको छैन उनीहरु संस्थाप्रति उदासिन बनेको डा.केसीको चिन्ता छ ।

अध्यक्षका उम्मेदवार केसी भन्छन्–‘संघलाई वैधानिक रुपमा अघि बढाउन पनि निर्वाचनको विकल्प छैन । त्यसैले संघको निर्वाचनलाई सुनिश्चित गर्न निर्वाचनको कार्यतालिका प्रकाशन गर्न निर्वाचन समिति समक्ष माग गर्दछु ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *