गैरआवासीय नेपाल संघ (एनआरएनए) को आगामी कार्यसमितिका लागि एशिया प्यासिफिक क्षेत्रीय संयोजक पदमा उम्मेदवार विनोेद कुँवरले एनआरएनएभित्रका विवाद समाधान गरेर मात्र निर्वाचन प्रकृयामा जानु पर्ने बताएका छन् ।

एनआरएनएभित्र वर्तमान अवस्थामा केही असन्तुष्टि र विरोध देखिएको भन्दै संघको केन्द्रीय महाधिवेशन तथा निर्वाचन प्रक्रिया अगाडि बढाउन नहुने तर्क कुँवरको रहेको छ ।

उनले सबै पक्षलाई समेटेर सहमतिका साथ निर्वाचनको वातावरण बनेमा संस्था एकजुट हुने र सबै निर्वाचन प्रक्रियामा सहभागी हुने जनाएका छन् । कुँवरसहित विश्व राई र दिलिप सिंह गुरुङले संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अहिले गैर आवासीय नेपाली संघमा देखिएको डेलिकेट्स चयन लगायतका विवादहरुलाई समाधान गरेर सौहार्द्रपूर्ण रुपमा महाधिवेशनको वातावरण निर्माणका लागि केन्द्रीय नेतृत्व साथै सम्बन्धित सम्पूर्ण व्यक्तिहरुलाई अनुरोध गर्न चाहन्छौं ।’

अहिलेको विवाद समाधान नगरी असमझदारीबीच गरिने निर्वाचनले समाधान दिनुको साटो उल्टै समस्या थप जटिल हुने र संस्था विभाजनसम्मको रेखा कोर्ने उनीहरुको भनाइ छ ।

संस्थाको अधिवेशनको कुनै विकल्प नरहेको र यथाशीघ्र अधिवेशनमार्फत नेतृत्व हस्तान्तरण प्रक्रियामा जानुपर्ने भनाई कुँवरको छ । उनले संस्थाभित्रको विवाद समाधान गर्नुको साटो मन्त्रालय र अदालतमा जानु सबै पक्षले लगत काम गरेको समेत बताएका छन् । उनले भनेका छन्–‘ मुद्दा मामिलातिर लाग्नु दुःखद् हो, यस्ता कार्यहरुले संस्थालाई अहितमात्र गर्दैन कि भविष्यका लागि नराम्रो नजिर बस्न जान्छ ।’

अन्तर्राष्ट्रिय समन्वय परिषद आइसीसीले नै स्मार्ट एनआरएन बनाउने क्रममा निर्माण गरेको एमआइएस सिस्टमलाई पालना नगर्नु वा गर्न नसक्नु अर्को दुःखद पक्ष भएको कुँवर बताउँछन् । दक्षिण कोरियाले कुनै विवादबिना नै महाधिबेशन गर्न सक्दा अन्य देशमा विवाद निकाल्नु आआफ्नो स्वार्थ बाझिएको कुँवरको भनाई छ ।

एनआरएनएभित्रको विवाद मिलाउन सम्पूर्ण अग्रज र अभियन्तालाई समेटेर आन्तरिक संवादमार्फत समाधानको बाटो तत्काल खोजिनु पर्ने कुँवरको सुझाव छ । विभिन्न व्यक्तिवादी र राजनैतिक स्वार्थका कारण गैर आवासीय नेपाली संघ इतिहासकै सबैभन्दा कठिन र जटिल मोडमा पुगेको भन्दै उनले संस्थापक अध्यक्षदेखि पूर्व अध्यक्षहरु, संस्थाका सल्लाहकारहरु, स्थापनाकालदेखि नै अनवरत रुपमा लागेका अभियन्ताहरु लगायतको सल्लाह, सुझावलाई ग्रहण गरी समाधान खोज्न सकिने उनको बुझाई छ ।