गैरआवासीय नेपाली संघका प्रमुख निर्वाचन आयुक्त लीलामणि पौडेलले राजीनामा दिएका छन ।

नेपाल बार एसोसिएसनका महासचिवसमेत रहेका पौडेलले व्यक्तिगत कारण देखाउँदै संघका अध्यक्ष कुमार पन्तलाई राजिनामापत्र बुझाएका छन ।

पौडेलको राजीनामासँगै डिसेम्बर २६ र २७ मा हुने भनिएको निर्वाचन झनै अन्योलमा परेको छ ।

निर्वाचन कार्यतालिका अनुसार हिजो शुक्रबार मतदाताको अन्तिम नामावली प्रकाशन गर्नुपर्ने थियो। पौडेलले राजीनामा दिएपछि मतदाताको अन्तिम नामावली प्रकाशन हुन सकेन भने निर्वाचनका बाँकी तालिका पनि प्रभावित भएका छन्।

गैरआवासीय नेपाली संघको दशौं महाधिवेशन गत अक्टोबरमा नै हुनुपर्ने थियो। तर महाधिवेशन प्रतिनिधि चयनमा विधान विपरीतका क्रियाकलाप भएको भन्दै उजुरी परेपछि महाधिवेशन तथा निर्वाचन कार्यक्रम स्थगित भएको थियो।

सरकारले विधान बमोजिम विवाद समाधान गरी नयाँ निर्वाचन तथा महाधिवेशन गराउन डा शेष घले नेतृत्वको संरक्षक परिषदलाई जिम्मेवारी दिएपनि काम चलाउ समितिका अध्यक्ष कुमार पन्तले उच्च अदालत पाटनमा मुद्दा दायर गरी अदालतको आदेश भन्दै चुनाव गराउन निर्वाचनका कार्यक्रम सुचारु गराएका थिए ।