विवादकैबीचमा एनआरएनए निर्वाचन तालिका सार्वजनिक, निर्धारित मितिमै निर्वाचन हुनेमा शंका

डिसेम्बर ११ मा उम्मेदवारको मनोनयन पत्र दर्ता, डिसेम्बर २६ र २७ गते मतदानको कार्यक्रम
news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पछिल्लो पटक डिसेम्बर १५ तारिखमा निर्धारण गरेको नयाँ नेतृत्व चयनको निर्वाचन केहि दिन हेरफेर गर्दै नयाँ निर्वाचन तालिका सार्वजनिक गरेको छ ।

संघको बैठकले यसअघि १० औं अन्तर्राष्ट्रिय महाधिवेशन डिसेम्बर १९ र २० मा हुने र त्यो अगावै निर्वाचन हुने कार्यतालिका सार्वजनिक गर्दै डिसेम्बर १५ तारिखमा निर्वाचन मिति तय गरेको थियो । नयाँ निर्वाचन तालिका अनुसार अब निर्वाचन डिसेम्बर २६ र २७ तारिखमा हुने जनाइएको छ ।

संघको निर्वाचन समितिले मंगलबार बेलुका सूचना प्रकाशित गर्दै नयाँ निर्वाचन तालिका सार्वजनिक गरेको हो । निर्वाचन तालिका अनुसार डिसेम्बर ६ मा मतदाता नामावाली प्रकाशन, डिसेम्बर ७ मा मतदाता नामावली उपर दाबी बिरोध, डिसेम्बर १० मा मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने रहेको छ ।

यस्तै डिसेम्बर ११ मा उम्मेदवारको मनोनयन पत्र दर्ता, डिसेम्बर १२ मा उम्मेदवारको पहिलो नामावली प्रकाशन, डिसेम्बर १३ मा उम्मेदवारविरुद्ध दाबी विरोध, डिसेम्बर १४ मा उजुरीउपर निर्णय, डिसेम्बर १५ मा उम्मेदवारको दोश्रो नामावली प्रकाशन, डिसेम्बर १७ मा उम्मेदवारको मनोनयनपत्र फिर्ता, डिसेम्बर १८ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र डिसेम्बर २६ र २७ गते मतदानको कार्यक्रम राखिएको छ ।

निर्धारित मितिमा निर्वाचनको शंका

महाधिवेशन प्रतिनिधि विवादका कारण गत अक्टोबरमा हुने संघको अन्तर्राष्ट्रिय महाधिवेशन स्थगित भएको थियो । अध्यक्षका उम्मेदवार तथा एनआरएनएका सल्लाहकार कुल आचार्य समूहबाट महिला उपाध्यक्षका लागि उम्मेदवार बनेकी जानकी गुरुङ, एनआरएनए अमेरीकाका सल्लाहकार वेद प्रसाद खरेल, कतार आईसीसी मानार्थ सदस्य नवराज ओली (शनी)ले महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया विधानविपरित भएको दाबी गर्दै अक्टुबर २३, २४ र २५ मा तोकिएको संघको महाधिवेशनसम्बन्धी सम्पूर्ण कार्य तत्काल रोक्न परराष्ट्र मन्त्रालयमा उजुरीसहित निवेदन दर्ता गराएपछि एनआरएनए अधिवेशनको विवाद सतहमा आएको हो ।

प्रतिनिधि विवाद चुलिएपछि परराष्ट्र मन्त्रालयले संघलाई निर्वाचन रोक्न भन्दै पत्राचार गरेको थियो । परराष्ट्रको पत्रले निर्धारित मितिमा महाधिवेशन हुन नसकेर स्थगित भएपछि कुमार पन्त नेतृत्वले आफ्नो कार्यकाल ६ महिना थप गर्दै नोभेम्बर ३० भित्रै निर्वाचन गर्ने बताएको थियो ।

यसबीचमा परराष्ट्र मन्त्रालय, संघ र संघका बीच पटक–पटक औपचारिक तथा अनौपचारिक छलफल भएकोमा परराष्ट्र मन्त्रालयले पछिल्लो पटक संघको कार्यसमितिको कार्यकाल समाप्त भइसकेको भन्दै संरक्षक परिषदलाई निर्वाचन गराउन निर्देशन दिदै पत्राचार गरेपछि एनआरएनए निर्वाचनको विवाद नयाँ मोडमा पुगेको हो ।

परराष्ट्र मन्त्रालय र संघको छलफलकैबीचमा संघले डिसेम्बर १५ मा निर्वाचन गर्नेगरी निर्वाचन समयतालिका सार्वजनिक गरेकै दिन परराष्ट्रले पत्र काटेर निर्वाचन गराउने जिम्मेवारी एनआरएनएको संरक्षक परिषदलाई तोकिदिएको थियो । संरक्षक परिषद्को नेतृत्वमा एनआरएनएका पूर्व अध्यक्ष शेष घले रहेका छन् ।

परराष्ट्र मन्त्रालयले संरक्षक परिषदलाई निर्वाचन गराउने अधिकार दिएलगत्तै संघले उच्च अदालत पाटनमा उत्प्रेषण आदेश माग गदै परराष्ट्र मन्त्रालयसहित सरकार विरुद्ध मुद्दा दायर गरेको थियो । सरकार विरुद्धको निवेदनमा दशौँ महाधिवेशन गराउन संरक्षक परिषद्लाई जिम्मा दिने मन्त्रालयको निर्णय गैरकानूनी रहेको भन्दै त्यसलाई बदर गर्न माग गरिएको थियो । अदालतले यस विषयमा दुवै पक्षलाई राखेर छलफल गराउन आवश्यक रहेको भन्दै परराष्ट्रको पत्र कार्यान्वयन नगराउन अन्तरिम आदेश दिएको छ ।

अदालतमा मुद्धा चलिरहेको अवस्था तथा प्रतिनिधी विवाद नटुंगिदै सार्वजनिक गरिएको नयाँ निर्वाचन तालिका अनुसार घोषित मितिमै निर्वाचन हुनेमा एनआरएनहरु नै ससंकित छन् । उता परराष्ट्र मन्त्रालयको अनावश्यक हस्तक्षेप र पत्राचारले फेरी पनि निर्वाचन हुन्छ भन्नेमा ढुक्क हुन सक्ने अवस्था नरहेको एनआरएनहरु नै बताउँछन् ।

एनआरएनएको नयाँ नेतृत्वका लागि समूह नै बनाएर डा बद्री केसी, रविना थापा र कुल आचार्य मैदानमा उत्रिएका छन । तिनवटै समूहले आफुहरुले एनआरएनएमा राजनीति नछिराएको बरु बिचार मिल्नेहरु एक ठाँउमा उभिएर प्रतिष्पर्धामा गएको बताइरहेका छन । तथापी कांग्रेसले भने सार्वजनिकरुपमै आर्चायलाई जिताउन अपिलसहित आफ्ना नेताहरु नै खटाएपछि एनआरएन निर्वाचनमा राजनैतिक रङ प्रत्यक्षरुपमा देखा परेको छ ।

 

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *