गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार तथा पूर्व उपाध्यक्ष कुल आचार्यले आगामी कार्यकालका लागि अध्यक्ष पदका लागि औपचारिक उम्मेदवारी घोषणा गरेका छन् । उनी अघिल्लो कार्यकालका लागि पनि अध्यक्ष पदका नै उम्मेदवार हुँदा झिनो मतले पराजित भएका थिए ।
काठमाडौंमा शुक्रबार घोषणा सभा आयोजना गरी आचार्यले २०२१–२०२३ कार्यकालका लागि संघको अध्यक्षमा पुन : उम्मेदवारी घोषणा गरेका हुन् । संघको १० औं महाधिबेशन तथा विश्वसम्मेलन आगामी अक्टोबरको २३–२५ सम्म काठमाडौंमा हुँदैछ ।
उम्मेदवारी घोषणा गर्दै आचार्यले एनआरएनएको १० औं महाधिबेशनले नीति र नेतृत्व परिवर्तन गर्ने भएकाले आम एनआरएनएले उत्सवका रुपमा लिएको बताएका छन् । उनले आफ्नो उम्मेदवारी प्रकाश पार्दै भने, ‘एनआरएनएलाई सही अर्थमा आम प्रवासी नेपालीहरुको साझा संस्था बनाउने मेरो अभियान हो, संस्थामा सबैको सहभागिता र अपनत्व सिर्जना गरेर यो अभियानलाई पूर्णता दिने छु ।
‘पैत्रिक सम्पतिको अधिकार, राहदानी सहित तेश्रो पुस्ता पछि पनि कायम रहने गरी गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गर्न सर्वोच्च प्राथमिकता दिने छु’ अध्यक्षका प्रत्यासी आचार्यले प्रतिवद्धता जनाए ।
अध्यक्ष पदका उम्मेदवार आचार्यले आफ्नो दुई वर्षे कार्यकालमा संसारभर एनआरएनएको पन्जीकृत सदस्य संख्या पाँच लाख पुर्याउने र राष्ट्रिय समन्वय परिषद्हरुको संख्या कम्तीमा एक सय पुर्याउने घोषणा गरेका छन् । हाल एनसीसीको संख्या ८४ रहेपनि कतिपय एनसीसीहरु निष्कृय रहेका छन् भने संघका पन्जीकृत सदस्यहरुको संख्या एक लाखको हाराहारीमा छ ।

गैरआवासीय नेपालीहरुलाई मात्रै नभई संसारका विभिन्न देशमा रहेका नेपाली मूलका मानिसहरुलाई पनि जोड्ने उनको योजना रहेको छ । पर्वतको धाइरिङमा जन्मेका आचार्य हाल बेलायतमा बसोबास गर्दै आइरहेका छन् । उनी लण्डनका स्थापित व्यवसायी हुन् ।
अध्यक्षका प्रत्यासी आचार्यले वैदेशिक रोजगारीलाई थप व्यवस्थित र मर्यादित बनाउने भन्दै मध्यपूर्व, मलेसिया लगायतका मुलुकमा काम गर्ने नेपालीहरुको सुरक्षामा पनि विशेष ध्यान दिने घोषणा गरे । उनले वैदेशिक रोजगारीमा रहेका र थपिने नेपाली महिला कामदारको सुरक्षा र सीपको विकासमा संघले संस्थागत रुपमा ध्यान दिने उनले बताए ।
आचार्यले अगाडि सारेका एजेण्डा र प्रतिबद्धतासँग सहमति जनाउँदै आइसीसीका अन्य पदमा पनि उम्मेदवारी घोषणा भएको छ । वर्तमान कार्यसमितिका सचिव आरके शर्माले आइसीसी उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । कतारमा कर्मथलो बनाएका शर्माले आफ्नो अनुभव र संस्थामा बसेर थप काम गर्नका लागि उपाध्यक्षमा उम्मेदवारी दिएको बताए ।
उपाध्यक्ष पदमा नै अमेरिकाबाट एसी शेर्पाले उम्मेदवारी घोषणा गरेका छन् । संघको महासचिव पदमा अमेरिका निवासी एनसीसी अमेरिकाको दुई कार्यकाल नेतृत्व गरिसकेका डा. केशव पौडेलले उम्मेदवारी घोषणा गरेका छन् । त्यसैगरी सचिव पदमा मलेसियाबाट खगेन्द्र न्यौपाने र कतारबाट प्रविन गुरुङले उम्मेदवारी घोषणा गरेका छन् ।
सोही कार्यक्रममा युवा उपाध्यक्ष पदमा कतारबाट मध्यपूर्व युवा संयोजक राज रेग्मीले उम्मेदवारी घोषणा गरेका छन् । कार्यक्रममा जुमको माध्यमबाट जोडिएका अतिथिहरुले उम्मेदवारहरुलाई शुभकामना दिएका थिए ।








