गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को १० औं विश्वसम्मेलन तथा महाधिवेशनबाट चुनिने नयाँ कार्यसमितिमा दक्षिण कोरियाबाट जुनु गुरुङले महिला संयोजक पदमा उम्मेदवारी घोषणा गरेकी छन् ।
विशेषगरी विदेशमा समस्यामा परेका नेपाली महिलाहरुको उद्धार तथा सहायतामा अग्रपंक्तिमा खटिदै आएकी गुरुङले प्रवासमा रहेका नेपाली महिलाहरुको हकहित र उनीहरुको समस्या समाधानका लागि आइसीसीमार्फत सरोकारित निकाय समक्ष आफुले पहल गर्ने बताइन । गुरुङले एनआरएनएमा महिला सांगठनिक सुदृढीकरण, समावेशीता, महिलाको नेतृत्व बिकास, महिला सशक्तिकरण र महिला उद्यमशिलता लगायत ५ वटा मुख्य एजेन्डा अघि सारेकि छिन ।
‘विदेशमा रहनुभएका सम्पूर्ण महिला दिदीबहिनीहरुको हकहितको आवाज उठाउन, समस्या समाधानमा एनसीसीमार्फत पहलकदमी भूमिका खेल्न, महिला उद्यमशिलताको विकास गर्दै आर्थिकरुपमा सबल बनाउन तथा नेतृत्व विकासको लागि महिला संयोजकमा मेरो उम्मेदवारी हो, विश्वभर रहनुभएका यहाँहरु सबैले मलाई यो अवसर दिनुहुनेछ भन्ने आशा राखेको छु ।’
एनआरएन अभियानमा लामो समयदेखि सक्रिय गुरूङले एनआरएनए आइसीसीको एशिया तथा प्रशान्त क्षेत्रको क्षेत्रीय महिला संयोजक हुदै वर्तमान कार्यसमितिमा मानार्थ परिषद सदस्यको जिम्मेवारी निभाईरहेकी छिन । क्षेत्रीय महिला संयोजक हुदा उक्त क्षेत्रका ९ वटा देशका एनआरएनए एनसीसीहरुमा महिला फोरम गठन गर्न सफल गुरुङले आफ्नो कार्यकालमा एशिया प्रशान्त क्षेत्रको पहिलो र दोश्रो महिला भेला-बैठक गराउनसमेत सफल बनेकी थिइन् ।
दक्षिण कोरियामा महिलाहरुको संस्था वमेन फर वमेनकोसमेत अध्यक्षको जिम्मेवारीसमेत निभाइसकेकी गुरुङ कोरियामा रहेका दर्जनौ संघ संस्थामा संलग्न रहेकी छिन । कोरिया सरकारले सामाजिक कार्यमा उत्कृष्ट योगदान दिनेहरुलाई दिदै आएका मानार्थ नागरिकता प्राप्त गर्ने पहिलो नेपाली महिलासमेत रहेकी गुरुङले अहिलेसम्म सामाजिक सेवा र एनआरएन अभियानबाट प्राप्त अनुभवको प्रयोग गर्दै थप जिम्मेवारी वहनका लागि महिला संयोजक पदमा उम्मेदवारी दिएको बताइन ।
दक्षिण कोरियामा रेष्टुरेन्ट, मार्टलगायतका व्यवसायहरु संचालन गर्दै आएकी गुरुङको नेपालमा पनि जलविद्युत, शिक्षा र हस्पिलिटी क्षेत्रमा लगानी रहेको छ ।








