एनआरएनएको सम्पर्कमा आएको ७ महिनापछि युएईबाट सकुशल घर फर्के शमसेर घिमिरे

news-details

यूएईमा बिरामी परी अलपत्र परेका शमसेर घिमिरेलाई गैरआवासीय नेपाली संघले आवश्यक सहयोग गरेर सकुशल स्वदेश फर्काउन सफल भएको छ । एनआरएनए यूएईको सम्पर्कमा आएको ७ महिनापछि उनी बुधबार स्वदेश फर्कन सफल भएका हुन् ।

खरप्पु–९ लमजुङका घिमिरे ३ बर्ष अगाडि यूएई पुगेका थिए । एनआरएनए यूएईको सम्पर्कमा आउँदा घिमिरेको खुट्टामा गम्भीर प्रकारको घाउ थियो । वैदेशिक रोजगारका लागि युएई पुगेका घिमिरेलाई कम्पनीले १४ महिनामात्र जागिर दियो । कम्पनीले अन्यायपुर्वक जागिरबाट निकालि दिएपछि उनी अवैधरुपमा बस्न बाध्य भए । कम्पनिबाट पाउनु पर्ने सेवा सुविधा पनि नपाएका घिमिरेसंग श्रम भिसा नहुँदा अवैध बने । उनी न घर आउन सक्ने भए न त वैध भएर यूएईमा काम गर्ने अवस्थामा नै पुगे ।

उनी सडकमा आउनु बाहेक केही उपाय भएन । उनको समस्यामा यतिमै मात्र सीमित भएन । उनको खुट्टामा सानो घाउ देखियो । दिन प्रतिदिन उक्त घाउ बढ्दै जान थाल्यो । एकातिर जागिर गुमाउनुको पीडा अर्कोतिर दिनदिनै बिरामी हुँदै जाँदा घिमिरेको अवस्था चिन्ताजनक बन्न थाल्यो ।

घिमिरेको यस्तै अवस्थामा एनआरएनए यूएर्यका पदाधिकारीसँग ७ महिना अगाडि भेट भयो । अनि परदेशी भूमीमा उनलाई भगवान भेटे झै लाग्न थाल्यो । एनआरएनए युएईका राहात तथा उद्धार कार्यक्रम संयोजक प्रवीण पोखरेल तथा एनसीसीका पदाधिकारीहरुले घिमिरेको उपचार थाले, उनलाई आवश्यक सहयोग दिन थाले ।

घिमिरेको अस्पतालमा उपचार गरिरहँदाको तस्बीर

उनलाई तुरुन्त अस्पताल भर्ना गरेर झण्डै एक महिना अस्पतालको बसाई पछि उनको अवस्थामा केही सुधार आयो । उनलाई अस्पतालबाट सेल्टरमा सारियो । अन्तमा झण्डै ७ महिना पछि शमसेरको आउटपास बन्यो र उनी स्वदेश फर्कन सफल भएको एनआरएनएले जनााएको छ ।

उनलाई ७ महिना सम्म युएईमा रहँदा दैनिक खर्च, उनको आवश्यक औषधि उपचार खर्च, पिसिआर र हवाई टिकटको ब्यवस्था गरेर एनआरएनएको राहत तथा उद्दार कार्यक्रम स्वदेश फर्काइएको एनआरएनएले जनाएको छ ।
एनआरएनएले स्वदेश फिर्ता भएपछि होटल क्वारेन्टिन, पिसिआर तथा काठमाण्डौबाट घर सम्म जानका लागि यातायात खर्च समेत सहयोग गरिने एनआरएनएले जनाएको छ ।

घिमिरेको अवस्थाका बारेमा युएईबाट संघका केन्द्रिय उपाध्यक्ष तथा बैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक डा.बद्री के.सीलाई जानकारी आए लगत्तै संघको स्वास्थ्य विभागका संयोजक डा.संजीव सापकोटासंग समन्वय गरेर तत्काल उनको आवश्यक उपचारको पहल थालिएको थियो ।

संघका उपाध्यक्ष डा.के.सीको संयोजकत्व तथा सल्लाहमा युएईमा राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरु तथा कार्यक्रमका संयोजक पोखरेलको सक्रियतामा घिमिरेको नेपाली दुतावासमा आवश्यक कागजपत्र मिलाउने तथा स्वदेश फिर्तीमा सहयोग पुगेको हो ।

काठमाडौं विमानस्थलमा आर्लिएपछि घिमिरेको खुशीको सीमा थिएन । उनले खुसीले भावविभोर हुँदै भने–‘सायद एनआरएनले सहयोग नगरेको भए म यो अवस्थामा स्वदेश फिर्ता हुन सक्ने थिइन होला, एनआरएन प्रति सधैं ऋणी छु ।’ घिमिरेका ५ जना परिवारका सदस्य उनकै भरमा चलेको छ ।

घिमिरेसंगै एनआरएनएले युएईमा ब्यवस्थापन गरेको सेल्टरमा झण्डै ७ महिनासम्म उनी संगै बसेका साथी अमित लामालाई राहत तथा आवश्यक कागजी प्रक्रियामा सहजीकरण गरी हवाईटिकट, पिसिआर, आउटपासमा सहयोग गरी स्वदेश ल्याएको छ ।

घिमिरे र लामालाई स्वदेश फर्काउनका लागि नेपाली दुतावास युएईले आवश्यक सहजिकरण गरेको थियो । शमसेर र अमित अहिले होटल क्वारेन्टिनमा छन् र उनीहरु चाँडै आफ्नो घर जाने र आफ्नो परिवारलाई भेटेर खुशी बाँड्न आतुर छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *