अमेरिकाका पौडेल र सुवेदीले एनआरएनए सचिवालयमै मच्चाए बितण्डा

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोबरमा हुने महाधिबेशनका लागि प्रारम्भिक प्रतिनिधि छनौटको विषयलाई लिएर एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष केशव पौडेल र वर्तमान अध्यक्ष बुद्धिसागर सुवेदीले काठमाण्डौंस्थित सचिवालयमा अभद्र व्यहारसहित वितण्डा मच्चाएका छन् ।

एनआरएनए सचिवालयका कर्मचारीलाई एनआरएनए अमेरिकाका अध्यक्ष सुवेदी र पूर्वअध्यक्ष पौडेलले संघको कार्यालयमै पुगेर अभद्र व्यवहार गरेका हुन् । अध्यक्ष सुवेदीले एनआरएनएको विधानविपरित सिफारिस गरेका महाधिवेशन प्रतिनिधिहरूको नाम सचिवालयले खारेज गरिदिएपछि कर्मचारीमाथि हातपात प्रयास भएको बताइएको छ ।

स्रोतका अनुसार अनुसार सचिवालयले प्रतिनिधिहरूको नाम सार्वजनिक गरेपछि सुवेदी र पौडेल बालुवाटारस्थित संघको कार्यालय पुगेका थिए । सचिवालयले संघको विधान विपरित कुनै पनि काम नभएको भन्दै सुवेदी र पौडेललाई सम्झाउने प्रयास गरेको थियो ।

गैरआवासीय नेपाली संघको विधानअनुसार २५ प्रतिशत प्रतिनिधिहरू निर्वाचनमार्फत चयन हुनुपर्छ । तर सुवेदी र पौडेलले आफ्नो तजबिजिमा प्रतिनिधि छनोट गरेर पठाएपछि संघको पदाधिकारी बैठकले ती प्रतिनिधिहको नाम खारेज गर्दै मंगलबार मतदाता नामावली प्रकाशन गरेको थियो ।

एनआरएनए सचिवालयमा भएको वितण्डाका विषयमा सचिवालयका कार्यकारी निर्देशक राजेश राणाले संघको आन्तरिक विवादका विषयमा बोल्न मानेनन् । ‘ नामावली प्रकाशनका विषयमा सामान्य विवाद हुनु स्वभाविक भए पनि म कर्मचारी भएकाले बोल्न मिल्दैन’ राणाले बताए ।

एनआरएनएको विधानअनुसार कुनैपनि राष्ट्रिय संघका जम्मा प्रतिनिधिमध्ये २५ प्रतिशत निर्वाचित हुनुपर्छ । त्यस्तै, ६५ प्रतिशत प्रतिनिधि पुरानो कार्यसमितिले चयन गर्छ । बाँकी १० प्रतिशत मात्र अध्यक्षले चयन गर्न पाउँछन् । तर सुवेदीले निर्वाचित भएर आउनुपर्ने २५ प्रतिशत (४८ जना) आफ्नो तजबिजीमा छानेपछि सचिवालयले अस्वीकार गरेको हो । दशौं महाधिवेशनका लागि एनआरएनए अमेरिकाको प्रतिनिधि संख्या १८९ हुने छन् ।

एनआरएनए सचिवालयका अनुसार अमेरिकासँगै अस्ट्रेलिया र युकेमा पनि प्रतिनिधि चयन विधानसम्मत नभएपछि विवाद छ । अस्टेलियाबाट १८२ र युकेबाट १७५ जनाले महाधिवेशनमा प्रतिनिधित्व गर्छन् । विवाद रहेका तीनवटै देशमा कांग्रेस निकट अध्यक्षमा निर्वाचित भएका हुन् ।

हाल नेपालमा रहेका सुवेदी र पौडेल दुवैजना कांग्रेसनिकट हुन् । एनआरएनको आगामी नेतृत्वमा जुनसुकै हालतमा कांग्रेसी उमेद्वार जिताउन उनी विभिन्न शक्तिकेन्द्रहरू धाइरहेका छन् । त्यसका लागि उनीहरूले प्रधानमन्त्री निकट व्यक्तिहरूसँग साँठगाँठ गर्ने, कांग्रेस नेता तथा मन्त्री भेट्ने र शक्तिका आडमा निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्ने प्रयासमा छन् ।

सुवेदी गत मे महिनामा एनआरएनए अमेरिकाको अध्यक्ष निर्वाचित भएका हुन् । उनी निर्वाचित भएको चुनाव निकै विवादित बनेको थियो । सुवेदीले लाखौं डलर खर्च गरेर मतदातको तथ्यांकमाथि पहुँच कायम गर्दै अध्यक्ष निर्वाचित भएका एनआरएन अमेरिकाका एक सदस्यले बताए ।

यसअघि संघको नवौं महाधिवेशनमा उपाध्यक्ष पदमा पराजित भएका पौडेल एनआरएनभित्र पटकपटक विवादमा आइरहने पात्र हुन् । नेपालमा रहँदा कांग्रेसको विद्यार्थी संगठनमा सक्रिय पौडेल एनआरएनमा हुने सामान्य विवादमा पनि आफ्नो हैसियत बिर्सेर निकै आक्रामक हुने गरेका छन् ।

पौडेलले दशौं महाधिवेशनमा कुल आचार्य प्यानलबाट महासचिवका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । यसअघि, उपाध्यक्ष पदमा लज्जास्पद हार व्यहोरेका पौडेलले महासचिवमा प्रतिस्पर्धा गर्ने घोषणा गरेपछि संघभित्र लज्जाको विषय भएको छ । अध्यक्षका प्रत्यासी आचार्य भने वर्तमान अध्यक्ष कुमार पन्तसँग नवौं महाधिवेशनमा पराजित भएका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *