एनआरएनए निर्वाचन : टिम कुललाई सकसै सकस

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी अक्टोबरमा हुने निर्वाचनमा अध्यक्षका प्रत्यासी रहेका बेलायतका कुल आचार्यलाई आफ्नै टिमभित्रबाट सकस परेको छ । उनले न अहिले उम्मेदवारी घोषणा गर्न सकेका छन् नत आफ्नो टिम नै बनाउन सकेका छन् ।

गत सोमबार नै होटल याक एण्ड यतिमा भब्यताका साथ उम्मेदवारी घोषणा गर्ने तयारीमा रहेका आचार्य आफ्नै टिम मिलाउन नसक्दा विलखबन्दमा परेका छन् । केही झुण्ड बोकेर पार्टी नेता, कार्यकर्ता र नजिककासँग कोठे बैठकमा रहेका आचार्यलाई आफ्नै टिम भित्रकाहरुले असहयोग गर्न थालेपछि एनआरएनएको निर्वाचनको दौडबाट न भाग्न सकेका छन् नत दौडन नै सकेका छन् । उनी अहिले फोन उठाउन पनि नसक्ने अवस्थामा पुगेका छन् ।

एनआरएनए निर्वाचनमा राजनैतिक पार्टी प्रष्टसँग घुसाएका आचार्यले अहिले आफ्नै नेपाली काँग्रेस पार्टी मिलाउन, अन्य पार्टीका नेता खुशी पार्न मात्र नभएर आफ्नै टिममा को को पार्ने भन्नेमा उनको निद हराम भएको छ । गत सोमबार उम्मेद्वारी घोषणा गर्न लाखौ खर्चिएर फोटो सुटदेखि मिडिया प्रयोग गरेर पनि पछि हटेका आचार्य अहिले आफ्ना नजिककालाई मात्र चेपेर हिडेकाले उनलाई ठूलो संकट आइरहेको छ ।

अघिल्लो निर्वाचनमा कुमार पन्तसँग हार व्यहोरेका आचार्यलाई अहिले आफ्नै पार्टीबाट अध्यक्ष पदमा उम्मेदवारी दिएकी महिला उपाध्यक्ष रबिना थापा भारी भएको छ । रबिनाले आफ्नो पक्षमा पार्टीको निर्णय ल्याउने दावी गरिरहँदा आचार्य टिमले थापालाई वास्ता नगर्ने र भाउ नदिने भन्दै अगाडि बढेको छ । अर्कोतर्फ थापाले कुनै पनि हालतमा अध्यक्षको उम्मेदवारी फिर्ता नलिने अडान दिदै आएकी छिन् ।

आचार्यलाई आफ्नो टिम बनाउन अर्को सकस परेको छ । सबैलाई बोक्रो मीठो बोलेर आफ्नै टिममा ल्याउने आश्वासन दिएका आचार्यलाई अहिले टोक्नु न बोक्नु भएको छ । संस्थामा राम्रो काम गरेकाहरुलाई नै पाखा लगाएर अन्य उम्मेदवार बोक्दै हिडेपछि उनका नजिक भन्नेहरु नै आचार्यलाई हराउनु पर्छ भनेर लागेका छन् ।
कुल आचार्यलाई पार्टी मिलाउन सकस, आफ्नो टिम मिलाउन सकस, एनआरएनएका एजेण्डा बोक्न सकस र सबैभन्दा त नकारात्मक आचरण बोकेका झुण्ड नै उनलाई ठूलो सकस भएको छ ।

आचार्यको टिममा अहिले देखिएका उम्मेदवार विगतका निर्वाचनमा नराम्ररी पराजित भएका अनुहार धेरै छन् । आचार्य स्वंम पनि पराजित भइसकेका उम्मेदवार हुन् । त्यसै गरी उनको टिममा महिला उपाध्यक्षकी उम्मेदवार जानकी गुरुङ अघिल्लो निर्वाचनमा महासचिव पदमा हारेकी थिइन् । चुनाव हारेपछि दुई बर्ष हराएकी गुरुङ अहिले उपाध्यक्षमा आचार्य टिममा आएर सक्रियता देखाउन थालेकी छिन् ।

अघिल्लो निर्वाचनमा आचार्यको प्यानलबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएका अमेरिकाका केशव पौडेल पनि नराम्ररी पछारिएका थिए । चुनाव हारेपछि हराएका पौडेल अहिले आचार्य प्यानलबाट नै महासचिवमा उम्मेदवारी घोषणा गरेर जुर्मुराउन थालेका छन् ।

आचार्यलाई नेपाली काँग्रेसको महाधिबेशन अर्को लफडा हुनेवाला छ । नेपाली काँग्रेसको आधिकारिक उम्मेदवार आचार्य भएपनि महाधिबेशनमा काँग्रेस धेरै चिरा हुने भएकाले उनलाई सबैभन्दा ठूलो अन्र्तघात हुने पक्का छ । अहिले काँग्रेस भित्र नै गुटउपगुट भएकाले त्यसको प्रत्यक्ष असर आचार्यलाई पर्ने छ ।

अर्कोतर्फ आचार्यले एनआरएनभित्र राजनीति प्रष्टसँग छिराएको भन्दै उनका निकट प्रभावशाली एनआरएनका नेतृत्वका आकांक्षीले उनलाई पहिला नै छोडेका छन् । वर्तमान महासचिव डा. हेमराज शर्मा, सचिव गौरिराज जोशी, आरके शर्मा, कोषाध्यक्ष महेश श्रेष्ठ, प्रवत्ता डिबी क्षेत्री, महिला उपाध्यक्षकी उम्मेदवार यसमिन बेगम, जापानबाट पारसमणि पोखरेलले आचार्यलाई छोडेर अर्को पक्षमा लाग्दा ठूलो झड्का लागेको छ ।

आचार्यले अन्य पार्टी निकटका उम्मेदवार आफ्नो पक्षमा पार्न पार्टीका नेताहरुलाई पैसा बुझाइरहेका छन् । अर्कोतिर पाटीहरुलाई पनि आर्थिक चलखेल हुने डरले प्रष्ट खुल्नलाई सकस परिरहेको छ । पार्टी नेताहरुले भित्रभित्रै खुसुक्क मिल्ने र मिलाउने खेल गरिरहँदा टिम कुललाई नै असहज भइरहेको छ ।

अघिल्लो निर्वाचनमा हार व्यहोरेपछि वर्तमान कार्यसमितिका हरेक गतिविधिलाई राजनीति छिराएर विरोधका लागि मात्र विरोध गरिरहेका आचार्य आफ्नै ठोस एजेण्डा नभएका उम्मेदवारका रुपमा चिनिन्छन् । भोलिका दिनमा एनआरएनएको नेतृत्वमा पुगेर विश्वमा रहेका एनआरएन तथा नेपालको पक्षमा आचार्यले काम गर्न सक्लान् भनेर कसैले विश्वास गरेका छैनन् । यद्यपी उनको विजयका लागि हार्दिक शुभकामना ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *