एनआरएनएले पहिलो पटक ल्यायो वैदेशिक रोजगारसम्बन्धीको छुट्टै ‘श्वेतपत्र’

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले वैदेशिक रोजगारमा रहेका नेपालीहरुको सुरक्षा, समस्या समाधान र रोजगारीबाट स्वदेश फर्किएकाहरुको पुर्नस्थापनामा जोड दिदै पहिलो पटक ‘श्वेतपत्र’ सार्वजनिक गरेको छ ।

एनआरएनएका उपाध्यक्ष एवं वैदेशिक रोजगार तथा कल्याणकारी विभाग र एनआरएनए कोभिड–१९ राहत तथा उद्धार कार्यक्रमका संयोजक डा. बद्री केसीको संयोजनमा तयार पारिएको श्वेतपत्र एनआरएनए मुख्यालय काठमाडौमा आइतबार आयोजित कार्यक्रमकाबीच अध्यक्ष कुमार पन्तले सार्वजनिक गरेका हुन् ।

गैरआवासीय नेपाली संघले श्रमिकका मुद्धा पहिलो प्राथमिकतामा राखेको बताउदै संघका अध्यक्ष कुमार पन्तले विगतदेखिनै नेपाली श्रमिकको समस्या र त्यसको समाधानका लागि राज्यलाई घच्घच्याउदै आएको विषय श्वेतपत्रले समेटेको बताए । उनले प्रवासमा रहेका श्रमिकको समस्या समाधानका साथै स्वदेशमा अनुभव र ज्ञान लिएर फर्किएकाहरुको उचित व्यवस्थापनमा सरकारसँग सहकार्य गरेर संघ अघि बढ्न तत्पर रहेको बताए ।

विशेषगरी कोभिड १९ बाट सिर्जित परिस्थिती र नेपाली श्रमिकको उद्धारका लागि संघले सरकार तथा विभिन्न दातृनिकायसँग सहकार्य र सहयोगको पहल गरेको जानकारी दिदै संघका उपाध्यक्ष एवं श्वेतपत्र संयोजक केसीले यो श्वेतपत्र एनआरएनएको अब आउने नयाँ कार्यसमितिका लागि दिशानिर्देशकारुपमा रहने बताए । उनले भने–‘ वर्तमान कार्यसमितिले गरेका काम र भोलि आउने कार्यसमितिका लागि दिशानिर्देशनका लागि श्वेतपत्र सार्थक बन्नेछ ।’

कोभिड–१९ को महामारी पछि गैरआवासीय नेपाली संघ र विदेशस्थित नेपाली कुटनैतिक निकायबीचको सहकार्यमा करिब २ लाख नेपालीहरुको उद्धार गरिएको जनाउदै संघले आगामी दिनमा नेपाल सरकार र गैरआवासीय नेपाली संघको सहकार्यलाई अझ सशक्त बनाएर एक संयुक्त स्थायी संरचनामार्फत वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सहयोगको बाटो खोल्न यो श्वेतपत्रले आधार तयार पार्ने विश्वास लिएको जनाएको छ ।

कोभिड–१९ का कारणले विभिन्न गन्तव्य देशस्थित अस्पतालमा उपचार गरिरहेका नेपालीहरुको लागि आवश्यक सहयोग पु¥याउन, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आवश्यक तालिम, कानूनी परामर्श, अलपत्रमा परेकाहरुको घर फिर्ती र कोरोना भाइरसको प्रभावका कारण वैदेशिक रोजगारीमा अलपत्र परेर स्वदेश फर्किएकाहरुको उचित व्यवस्थापन र विदेशस्थित नेपाली सरकारी नियोगहरुमा पर्याप्त साधन र स्रोतको समेत व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएकोले नीतिगत सुधारका गर्न श्वेतपत्रमा उल्लेख गरिएको छ ।

वैदेशिक रोजगारीले ल्याएको सामाजिक परिर्वतनसहित कयौ अवसर र चुनौतिहरुलाई समेटेर गैरआवासीय नेपाली संघकोतर्फबाट यो श्वेत पत्र जारी गरिएको संघका प्रवक्ता डिबी क्षेत्रीले बताए । श्वेतपत्रमा विशेषत् नेपालको वर्तमान आप्रवासन स्थिति, गन्तव्य देशहरुमा नेपालीहरुको अवस्था र उनीहरुले भोग्नुपरेको समस्या, नेपालमा फर्किएका नेपालीहरुको पुर्नएकीकरणको सम्भावित उपाय, सरकारबाट अपेक्षा र एनआरएनएको भूमिका लगायतका बारेमा वास्तविक रुपमा चित्रण गर्ने कोसिस गरिएको संघले जनाएको छ ।

कोभिड –१९ पछि नेपालमा वैदेशिक रोजगारीको अवस्था र नेपाली आप्रवासी कामदारले सामना गर्नुपर्ने समस्या र चुनौतीहरुको पहिचान गरेर त्यसको समाधानका लागि नेपाल सरकार र सरोकारवालाहरुलाई सचेत गराउनुका साथै नेपाली आप्रवासी कामदारहरुलाई सहयोग प्रदान गर्न सक्ने क्षेत्रहरुको पहिचान गर्ने उद्देश्यका साथ श्वेतपत्र जारी गरिएको संघले जनाएको छ ।

श्वेतपत्र सार्वजनिक कार्यक्रममा एनआरएनए उपाध्यक्ष रविना थापा, सल्लाहकारी टिबी कार्की, वैदेशिक रोजगारविज्ञ डा गणेश गुरुङ, रामेश्वर नेपाल, एनआरएन मलेसियाका निवर्तमान अध्यक्ष हरि भट्टराईलगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *