नेपालको अक्सिजन संकट सामना गर्न मध्यपूर्वका गैरआवासीय नेपालीले पठाएका ५ सय ६० थान अक्सिजन ग्यास सिलिण्डर आज नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।
एनआरएनएका अध्यक्ष कुमार पन्तले स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्दयेश त्रिपाठीलाई उक्त परिणामको अक्सिजन सिलिण्डर हस्तान्तरण गरेका हुन् ।
एनआरएनए मध्यपूर्वको संयोजनमा ओमानबाट खरिद गरिएको उक्त अक्सिजन सिलिण्डर नेपाल एयरलायन्सको वाइडबडी विमानबाट हिजो काठमाडौ ल्याइपु¥याइएको हो ।
नेपालमा अक्सिजनको अभावका कारण सयौँको संख्यामा कोरोना संक्रमितहरुले ज्यान गुमाउनु परेपछि यूएई, कतार, ओमन, साउदी अरब, कुवेत, बहराइनमा रहेका नेपालीहरुले स्वतस्फूर्त रुपमा रकम उठाएर ५६० थान अक्सिजन नेपाल सरकारलाई पठाएका हुन् ।
अक्सिजन सिलिण्डरहरू प्राथमिकताको आधारमा वितरण गरिने जानकारी दिदै अध्यक्ष पन्तले अहिले प्राप्त सिलिण्डरहरु सुदूरपश्चिमलाई १००, कर्णालीलाई १००, लुम्बिनीलाई २००, प्रदेश २ लाई ८५ र गण्डकी प्रदेशलाई ७५ थान वितरण गरिने बताए ।
यस्तै उनले ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ अभियान अन्तर्गत थप सहायता पनि आउने क्रममा रहेको र संघले ६७० वटा अक्सिजन कन्सन्ट्रेटर तत्कालै उपलब्ध गराउँने पनि जानकारी दिए ।
मध्यपूर्वका गैरआवासीय नेपालीले नेपाल पठाए ५६० थान अक्सिजन सिलिण्डर








