एनआरएनएद्धारा श्रमिक उद्धारको आर्थिक पारदर्शिताका लागि ‘सुपरिवेक्षण समिति’ गठन

news-details

गैरआवासीय नेपाली संघले उद्धार तथा राहत कार्यमा भएको खर्चको पारदर्शिताका लागि ३ सदस्यीय सुपरिवेक्षण समिति गठन गरेको छ ।

अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको निर्णय अनुसार सचिव आरके शर्मा, कोषाध्यक्ष महेश कुमार श्रेष्ठ र महिला संयोजक भोमा देवी लिम्बु भएको ३ जनाको समिति गठन गरिएको संघका प्रवक्ता डिबी क्षेत्रीले जानकारी दिए ।

श्रमिकहरुको उद्धारका बिषयमा बिभिन्न व्यक्तिहरुबाट सामाजिक संजालमा आएका कुराप्रति संघको गम्भिर ध्यानाकर्षण भएको भन्दै उक्त समितिले प्रत्येक राष्ट्रिय समन्वय परिषदमा एक उपसमितिमार्फत अनुगमनको तयारी गरेको क्षेत्रीको भनाई छ ।

साथै संघले यस कार्यक्रमको समग्ररुपमा स्वतन्त्र लेखापरीक्षण गराउने कार्यका लागि प्रक्रिया समेत अगाडि बढाईसकेको जानकारी दिदै विदेशमा रहेका नेपालीहरुको राहत तथा उद्धार प्रकृया अझै जारी रहेकाले सम्पूर्ण आर्थिक विवरणहरुको अभिलेख राख्ने क्रम जारी रहेको बेलामा आएका विभिन्न खाले टिकाटिप्णीहरुप्रति संघ संवेदनशील रहेको जनाएको छ ।

राहत तथा उद्धारका क्रममा कुनै कमिकमजोरी भेटिएको र आर्थिक हिनामिनामा कुनै व्यक्ति संलग्न भएको देखिएमा कानून बमोजिम कारवाहीको प्रकृया अघि बढाइने र कुनै पनि भ्रममा नपरि संघले जारी राखेको उद्धार प्रकृयामा सहयोग गर्न संघका उपाध्यक्ष तथा कोभिड–१९ राहत तथा उद्धार कार्यक्रमका संयोजक डा. बद्री केसीले आग्रह गरे ।

कोभिड १९ को महामारी पछि संघले हालसम्म पनि उद्धार र सहयोगको काम जारी राखेको बताउदै उपाध्यक्ष केसीले विश्वका ५० भन्दा बढी देशमा रहेका नेपालीहरुलाई प्रत्यक्ष रुपमा सहयोग गर्दै आएको संघले विदेशमा रहेका नेपालीहरुको सहयोगार्थ संयुक्त राष्ट्र संघका निकायसम्म आफ्नो आवाजलाई बुलन्द गरेको बताए ।

सोही आवाजको कदर गर्दै मध्यपूर्वमा रहेका नेपाली श्रमिकहरुको उद्धारको लागि संघले सकृय रुपमा काम गर्दे आएको, कोरोना महामारीको चुनौतीकाबीच संघका सबै संयन्त्रहरु परिचालित गरिएका र सोको जानकारी पदाधिकारीहरुलाई वेलाबेलामा दिइएको उपाध्यक्ष केसीको भनाई छ ।

हालसम्म मध्यपूर्वका बिभिन्न देशबाट १६५ जनाले हवाई टिकट सेवा, २४५ जनालाई पिसिआर सेवा, ४५३ जनालाई विभिन्न प्रकारका कानुनी परामर्श सेवा, २७१३ जनालाई गन्तब्य मुलुकहरुमा खाना तथा बासको ब्यवस्था, २४९ जनालाई पुनःरोजगारीमा फर्काउनका लागि आवश्यक सहयोग एवं समन्वय, ३४७९ जनालाई दुतावाससंग सम्बन्धित विभिन्न प्रकारका कागजी प्रक्रिया तथा अन्य आवश्यक कुराहरुमा समन्वयात्मक सहयोग पुर्याईएको संघले जानकारी दिएको छ ।

साथै नेपालमा आईसकेपछि समेत अति आवश्यक भएका नेपाली श्रमिकहरु ९५७ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आआफ्नो घरसम्म जानका लागि यातायात खर्च समेत सहयोग प्रदान गरिएको छ र प्रदेश १, २ र ७ का विभिन्न १४ वटा स्वास्थ्य संस्थाहरुका कोरोना क्वारेन्टिन सेन्टरहरुका लागि विभिन्न प्रकारका मेडिकल सामग्रीहरु समेत प्रदान गरिएको संघले जनाएको छ ।

यस्तै दातृसंस्थाको सहकार्यमा मलेशियाका जेलमा रहेका १७ जना र अन्य एक जना गरी १८ जना नेपाली कामदारहरुलाई सकुशल नेपाल फिर्ता गराएर परिवारको जिम्मा लगाएको पनि संघले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *