एनआरएनको लाप्राक नमूना बस्ती हस्तान्तरणको अन्तिम चरणमा

लाभग्राहीसँग छलफल गर्न उपाध्यक्ष लामा पुगे लाप्राक
news-details

गैरआवासीय नेपाली संघले निमार्ण गरिरहेको एकीकृत लाप्राक नमूना बस्ती हस्तान्तरणको अन्तिम चरणमा पुगेको छ । गोरखाको धार्चे गाउँपालिकामा ५ सय ७३ घर निमार्ण गरेर एनआरएनले हस्तान्तरण गर्न लागेको हो ।

एनआरएनएका उपाध्यक्ष तथा लाप्राक परियोजनाका संयोजक सोनाम लामाको नेतृत्वमा लाप्राक नमूना बस्तीको स्थलगत भ्रमण गरी छिटो कार्यसम्पन्न गरी हस्तान्तरण चरणमा पुग्न लागेको बताएको छ । उपाध्यक्ष लामाले स्थानीय जनप्रतिनिधि तथा लाभग्राहीसँग छलफल गरी केही अपुरा काम सम्पन्न गरी आधिकारिकरुपमा हस्तान्तरण गर्न एनआरएन आतुर रहेको बताएको जनाए ।

धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोस गुरुङ्ग तथा ४ नं वडाका अध्यक्ष राज गुरुङ्ग र लाभग्राहीसंग बाँकी रहेको काठको काम र शौचालय निर्माण सम्बन्धि काम छिटो सम्पन्न गर्न अनुरोध गरेको लामाले जानकारी दिए ।

कोभिड १९ को कहर पछि लाभग्राहीकै अनुरोधमा ‘आफ्नो घर आफैं बनाउ’ भन्ने भावनाको साथ निश्चित रकम तोकी लाभग्राहीहरुलाई जिम्मा दिएको काम सन्तोषजनक नभएकोले संघले पटक पटक समयसीमा थप गर्दा समेत अपेक्षित रुपमा काम सम्पन्न हुन नसकेकोमा दुःख प्रकट गर्दै परियोजना संयोजक लामाले संघले योजनाबद्ध रुपमा बस्तीको नक्शा तयार पारी निर्माण गरेको जानकारी गराए ।

 

उपाध्यक्ष लामाले छलफलका क्रममा भने–‘५ सय ७३ वटा एकै प्रकारका घरहरु सहितको एकीकृत बस्ती नेपालकै पहिलो नमूना वस्ती भएकोले छिटो काम सम्पन्न गर्न लाभग्राहीहरु, गाउँपालिका तथा वडा कार्यालयको सहयोग र सहकार्य आवश्यक रहेको छ ।’

समयमा बस्ती हस्तान्तरण हुन नसकेमा एकीकृत बस्तीलाई आवश्यक पूर्वाधारका लागि राष्ट्रिय पूनर्निर्माण प्राधिकरणबाट प्राप्त हुने रकमसमेत गुम्न सक्ने खतरा भएकोले छिटो बस्ती निर्माण गर्नुको कुनै विकल्प नरहेको जानकारी लामाले गराए ।

लामाले आधिकारीक रुपमा बस्ती हस्तान्तरणको समयमा लाभग्राहीलाई जग्गाको धनीपूर्जा समेत दिन संघको पहलमा जग्गा नापी कित्ताकाट गर्ने काम सम्पन्न भएकोमा जग्गा धनिपूर्जाका लागि अवश्यक प्रकृया पूरा गर्न नापी कार्यालय गोरखाका प्रमुखलाई भेटेर अनुरोध समेत गरेको जानकारी गराए ।

धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङ्गले तोकिएको समयमा काम सम्पन्न गर्न सबैलाई अनुरोध गर्दै समयमा काम सम्पन्न नगर्ने लाभग्राहीाई कारवाही गर्न सकिने जनाए । उनले भने–‘बस्ती निर्माणमा सहयोग गर्ने सम्पूर्ण संघसंस्था तथा गैरआवासीय नेपालीहरु प्रति आभार प्रकट गर्दछु, स्थानीय तहको तर्फबाट गैरआवासीय नेपालीहरुलाई स्वागत गर्न पाउँदा मख्ख छौं ।’

उनले संघकै अग्रसरतामा राष्ट्रिय प्रसारण लाईनबाट बस्तीसम्म विधुतिकरणको काम अन्तिम चरणमा पुगेको र बस्ती भित्र पोल गाड्ने काम सम्पन्न भएकोमा नेपाल सरकार प्रति आभार प्रकट गरे । गाउँपालिका अध्यक्षले लाभग्राहिहरुमा उद्यमशिलता बिकास गरी जिवनयापनको लागि आवश्यक पहल गरिदिन हुन समेत गैरआवासीय नेपालहरुलाई आह्वान गरे । उनले अधिकारीक रुपमा बस्ती हस्तान्तरण गर्न आगामी वैशाख १२ उपयुक्त हुने सुझाव दिए ।

उक्त अवसरमा वडा अध्यक्ष राज गुरुङले लाभग्राहीले काम गरे वापतको रकम सीधै लाभग्राहीलाई नै भुक्तानी गर्न अनुरोध गर्दै समस्याका बाबजुत पनि सम्यम र धैर्यताका साथ आफ्नो योजना अघि बढाएकोमा एनआरएनलाई धन्यवाद दिए ।

लाप्राक परियोजना सह संयोजक, श्याम तामाङ्गले, निमार्ण सम्बन्धि भएका प्रगतिहरुका विवरण पेश गर्दै अव समयमै सम्पूर्ण कामहरु सम्पन्न हुने विश्वास व्यक्त गरे । एनआरएन सचिवालयका कार्यकारी निर्देशक राजेश रानाले लाभग्राहीहरुलाई गरेको कामको भुक्तानी सम्बन्धि आवश्यक प्रकृयाहरुका बारेमा जानकारी गराएका थिए ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *