धन कमाउन मलेसिया पुगेका ठाकुर र बोगटी फर्किए ह्वीलचियरमा

एनआरएनएको सहयोगमा स्वदेश फर्कन सफल
news-details

धन कमाउने मीठो सपना बोकेर वैदेशिक रोजगारमा गएका सबै नेपालीका सपना पुरा हुन सकेका छैनन् । परिवार र आफ्नो राम्रो भविष्यका लागि वैदेशिक रोजगारका लागि मलेसिया गएका बाजुराका मदन बोगटी र जनकपुरका धिरेन्द्र ठाकुर धन बोकेर होइन आफै ह्वीलचियरमा बोकिएर स्वदेश फर्किएका छन् ।

पैसा कमाउन त परै जाओस् भएको पैसा रित्याए अनि जीवनभरका लागि घाइते बनेर उनीहरु स्वदेश फर्किए । अपाङ्ग झैं बनेर ह्वीलचियरमा फर्कनुपर्दा वैदेशिक रोजगार बोगटी र ठाकुरलाई अभिसाफ बन्यो ।

प्रवासी भूमीमा नै अपाङ्ग बन्नु पर्दा उनीहरुलाई धेरै समस्या पर्यो । आफुले काम गर्ने कम्पनीले कुनै उपचार नगरिदिदा गैरआवासीय नेपाली संघ उनीहरुका लागि भगवान बनेर आयो । बोगटी र ठाकुरलाई नेपाली दूतावास मलेसियाको समन्वयमा एनआरएनए मलेसिया र एनआरएनए आइसीसीले संचालन गरिरहेको ‘एनआरएनए कोभिड–१९ राहत तथा उद्धार कार्यक्रम’ अन्तर्गत स्वदेश फर्काउन सफल भएको हो ।

५ बर्ष पहिला सुरक्षा गार्डका लागि मलेसिया पुगेका बोगटी काममा जाँदा दुर्घटनामा परेर घाइते बने । उनले आफ्नो कम्पनी छोडेर गैरकानूनीढंगले काम गरिरहेका थिए । ‘ड्युटीमा जाँदा एक्सिडेण्ड परेर मेरो खुट्टा भाँचियो’ उनले भने–‘कम्पनीले उपचार गरेन, आफुसँग भएको पैसा पनि सकियो, त्यसपछि त झन बिचल्लीमा परियो ।’

जोहोरबारुमा कार्यरत उनलाई एनआरएनए मलेसियाको स्वंमसेवकले भेटाएर राहत उपलब्ध मात्र गराएनन् नेपाली दूतावास क्वालाम्पुरसम्म ल्याएर झण्डै एक महिना एनआरएनको आफ्नै सेल्टरमा राखे । ‘हामीले सेल्टरमा राखेर खानबस्नदेखि नेपाल जानका लागि हवाई टिकट उपलब्ध गरायौं’ एनआरएन मलेसियाका अध्यक्ष हरि भट्टराईले भने ।


एनआरएनले औषधी उपचारका साथै नेपाल जाने टिकट मात्र नभएर घरसम्म नै जाने व्यवस्था गरिदिएपछि ठाकुर मख्ख छन् । ‘विदेशमा नै सडिन्छकी भन्ने डर लागेको थियो तर एनआरएनका सरहरुले मेरो जीवनमा ठूलो गुन लगाउनु भयो’ नेपाल फर्किएपछि बोगटीले भने–‘ अव बाचिन्छ ।’


यता ह्वीलचियरमा खुट्टा गुमाएर फर्किएका जनकपुरका ठाकुरको कथा बेग्लै छ । धन कमाउन मलेसिया उडेका ठाकुर आज खुट्टा गुमाएर अपाङ्ग बनेर फर्किएका छन् । मलेसिया २ बर्ष अगाडि गएका २४ बर्षका ठाकुर अबिबाहित हुन् । मलेसियामा काम गरेर कमाएको ठाकुरको पैसा स्थानीय गुन्डाले लुटेर लगे । ती गुुण्डाहरुले पैसा मात्र लुटेनन् उनलाई मराणासन्न हुने गरी कुटेर छोडे ।


ठाकुर भन्छन्–‘गुन्डाहरुले कुटेपछि म भाग्ने क्रममा हाम्फाल्दा मेरो खुट्टामा गहिरो चोट लाग्यो ।’ उनलाई नेपाली साथीहरुले स्थानीय मेडिकलमा उपचार त गरे तर निको हुन सकेन । नेपाल फर्कनका एयरपोर्ट पुगेका उनलाई खुट्टा गन्हाएको भन्दै फर्काइयो । त्यसपछि नेपाली दूतावास पुगेका ठाकुरलाई एनआरएन मलेसियाले सहयोग गर्न थाल्यो । उपचारका क्रममा हस्पिटलले एउटा खुट्टा काट्न भनेपछि अहिले उनको खुट्टा छैन ।


एनआरएनए मलेसियाले उनलाई सेल्टरको व्यवस्थापन गरेर आवश्यक सहयोग गरी नेपाली दूतावाससँग समन्वय गरेर नेपाल ल्याउनका लागि पहल गरेको एनआरएन मलेसियाका राहत तथा घर फिर्ती सहयोग कार्यक्रमका संयोजक राजु शर्माले जानकारी दिए ।


गैरआवासिय नेपाली संघका नेपालमा रहेका स्वंसेवकहरुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा गएर उनीलाई स्वागत गर्दै घर जानका लागि जनकपुरको हवाई टिकटको उपलब्ध गराएको जानकारी एनआरएनए कोभिड–१९ राहत तथा उद्धार कार्यक्रमका प्रवन्धक राजेन्द्रकुमार राउतले दिए । उनलाई एनआरएनले एउटा ह्वीलचियरसमेत उपलब्ध गराउने राउतको भनाई छ ।


मलेसियाबाट बोगटी र ठाकुरसहित १४ जना नेपाली एनआरएनको विभिन्न प्रकारको सहयोगमा स्वदेश फर्किएका थिए । एनआरएनए कोभिड–१९ राहत तथा उद्धार कार्यक्रम एनआरएनए आइसीसी उपाध्यक्ष डा. बद्री केसीले संयोजन गरिरहेका छन् ।


एनआरएनले अहिलेसम्म झण्डै ६ हजार जनालाई प्रत्यक्ष सहयोग गरिसकेको तथा भोलिका दिनमा पनि गर्ने एनआरएनएले जनाएको छ । कोभिडका कारण विदेशमा कुनै समस्या भएमा या घरफिर्तिका लागि सहयोग आवश्यक भएमा एनआरएन एनसीसी तथा आइसीसीसँग सम्पर्क राख्न एनआरएनले अपील गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *