एनआरएनए जापानको आर्थिक छानबिनले पायो पूर्णता, प्रधानाङ्गको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानमा बिगतदेखिनै आर्थिक अनिमियतता तथा पारदर्शिता नभएको आवाज उठेपछि एनआरएनए आइसीसीले एनआरएन जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्गको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।

एनआरएनए जापानका संस्थापक अध्यक्ष समेत रहेका प्रधानाङ्गको संयोजकत्वमा ५ सदस्यीय उच्चस्तरीय छानबिन समिती गठन गरिएको र छानविनका लागि काम थालिएको छ । छानविन समितिमा डा.बलराम श्रेष्ठ, विजय थकाली, डा.सरोज कंडेल र शालिकराम भण्डारी सदस्य रहेका छन् ।

हालै सम्पन्न एनआरएनए जापानको साधारण सभामा समेत आर्थिक अनियमितताको बिषय गहनरुपमा उठेपछि गत अक्टुबर २ तारिक बसेको एनआरएन आइसीसीको बैठकले एनआरएन एसिया प्यासिफिक संयोजक गोबिन्दप्रसाद श्रेष्ठ (रोबिन्द)लाई छानविन समिति गठन गर्न र समस्या समाधानका लागि जिम्मा दिएको थियो ।

एनआरएन एसिया प्यासिफिक संयोजक श्रेष्ठले जापानको एनआरएनलाई नजिकबाट बुझेका र सबैले मानेका संस्थापक अध्यक्ष प्रधानाङ्गको संयोजकत्वमा छानबिन समिति बनाएपछि कामले तीब्रता पाएको छ ।

उच्चस्तरीय छानविन समितिको गत बुधबार बसेको बैठकले समितिले गर्ने कार्य, क्षेत्राधिकार, समय, उठान गरिएका बिसय तथा दिशानिर्देशहरू सम्बन्धी निर्णय गरी काम शुभारम्भ गरिएको जानकारी संयोजक प्रधानाङ्गले दिए । बैठकमा एनआरएनए आइसीसी कोषाध्यक्ष महेश श्रेष्ठ, एशिया प्यासिफिक संयोजक गोविन्द श्रेष्ठ, एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारी सहित समितिका पदाधिकारीको उपस्थिति रहेको थियो ।

प्रधानाङ्गको संयोजकत्वमा पहिला नै समिति बनेको भएता पनि बैठक बस्न सकेको थिएन । अव समितिको क्षेत्राधिकार, समयसीमा तथा मार्गनिर्देशन पुरा भएकाले आजैका मितिबाट छानविनको काम शुरु भएको एसिया प्यासिफिक संयोजक श्रेष्ठले जानकारी दिए ।

समितिका संयोजक प्रधानाङ्गले एनआरएनए जापानको बर्तमान कार्यसमिती लगायत पुर्व कार्यसमितीहरू र छानबिनसंग सम्बन्धित सरोकारवाला जापानबासी नेपाली दाजुभाई दीदीबहिनीहरूलाई उच्चस्तरीय छानबिन समितिको कामलाई परिणाममुखी बनाउन सकारात्मक सहयोग तथा साथ दिनका लागि अपिल गरेका छन् ।

छानविन समितिले गर्ने काम र क्षेत्राधिकार

एनआरएनले बनाएको उच्चस्तरीय छानबिन समितिको कार्यक्षेत्राधिकार, छानबिनका बिसय, समितिको समयासीमा तोकेको छ ।

समितिले एनआरएनए जापानले सन् २०१५ मा महाभूकम्पको सहयोगार्थ उठाइको रकम प्रयोग सम्बन्धमा, सन् २०१८ मा सम्पन नेपाल फेस्टिबलमा विभिन्न संघ सस्थाले दिएको सहयोग रकम बार्षिक प्रतिबेदनमा उल्लेख नगरेको सम्बन्धमा, आध्यात्मिक सेवा केन्द्र जापानद्वारा प्रदान गरिको सहयोग रकमको सम्बन्धमा, स्मारिका प्रकाशनमा अनियमितता भएको भन्ने सम्बन्धमा र केहि कसैबाट उजुरी परेको खण्डमा छानबिन गर्न पाउने जनाइएको छ ।

समितिलाई छानबिन गर्नका लागि आवश्यक सहयोगी चयन गर्न पाउने समेत अधिकार दिइएको छ । समितिको कार्यावधि २०२१ जनवरी २२ सम्म तोकिएको छ । समितिलाई आवश्यक सहयोग गर्नको लागि एनआरएनए जापान कार्यसमितिलाई समेत पत्राचार गरिसकिएको समितिका सदस्य डा.बलराम श्रेष्ठले जानकारी दिए ।
समितिले दिएको प्रतिवेदन एसिया प्यासिफिक संयोजकमार्फत एनआरएन आइसीसीमा पठाउने निर्णय भएको छ ।

‘आफुलाई आइसीसीले सुम्पेको जिम्मेवारी अत्यन्त गहन भएको र एनआरएनए जापानलाई भने निक्कै चासोको साथ अन्य देशका एनआरएनले समेत हेरेको हुनाले गंभीरढंगबाट आइसीसी कोषाध्यक्षसंग परामर्श गरी समिति बनाइएको छ’ एसिया प्यासिफिक संयोजक श्रेष्ठले भने–‘एनआरएनए जापानको इतिहासमा नजिकबाट निरन्तर काम गरेका, जापानका संघसंस्थाहरूसंग आबद्ध रहेका, जापानको कानूनी ज्ञातासमेत रहेका, आवश्यक योगदान दिन सक्ने र बिना पुर्बाग्रह आफ्नो जिम्मेवारी सम्पन्न गर्ने बिश्वास उच्चस्तरीय छानबिन समितिप्रति रहेको छ ।’

एनआरएनजस्तो सामाजिक संस्थामा लिन नभई दिन आउने भएकाले जस्तो सुकै अनियमिततालाई सबै मिलेर रोक्नु पर्ने एसिया प्यासिफिक संयोजक श्रेष्ठको भनाई छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *