एनआरएन मलेसिया समस्यामा परेका नेपालीको सहयोगमा जुट्दै

एनआरएनद्धारा ५ जना स्वंमसेवक नियुक्त गरी परिचालन
news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले अहिले समस्यामा परेका नेपालीहरुको सहयोगमा जुटेको छ । एनआरएन मलेसियाले नेपालीहरुको सहयोगका लागि विभिन्न शहरमा ५ जना स्वंमसेवक नियुक्त गरेर परिचालन गरेको छ ।

कोभिड १९ को महामारी पछि समस्यामा परेका नेपालीहरुका लागि एनआरएन मलेसिया आक्रामकरुपमा सेवामा जुटेको हो । पछिल्लो समयमा मलेसियामा रोजगार गुमाएका, अलपत्र परेका, विरामी परेर उपचार गर्न नसकेका, खानबस्न अभाव भएका, मानसिक विरामी परेका, दूतावाससम्म जान आर्थिक समस्यामा परेका वा नेपाल एयरपोर्टबाट घरसम्म जान आर्थिक अभाव भएका, कानूनी तथा अन्य परामर्शका लागि एनआरएन मलेसियाका स्वमसेवकले काम गरिरहेका छन् ।

नेपाली दूतावास मलेसियासँगको समन्वयमा एनआरएन मलेसियाले विभिन्न सहयोग गरिरहेको छ ।

मलेसियामा रहेका श्रमिकका हरेक समस्या सामाधानमा सारथी भएर काम गरिरहेको एनआरएन मलेसियाका अध्यक्ष हरि भट्टराईले जानकारी दिए । उनले भने–‘मलेसियाका विभिन्न राज्यमा रहेका नेपालीहरुका लागि सेवा दिनका लागि हाम्रा भोलेन्टिएर साथीहरु खटिनुभएको छ, हामी सबै नेपालीको दुःखमा सकेको साथ दिइरहेका छौ र थप दिनेछौ ।’

एनआरएन मलेसियाले केएलका लागि गाविन्द घर्तिमगर, प्रकाश पौडेल, मिमलाल,पेनाङका लागि सुरेशकुमार देवकोटा र जोहोरका लागि बेदना श्रेष्ठले स्वंमसेवकका रुपमा समस्यामा परेका नेपालीहरुलाई सहयोग गरिरहेको अध्यक्ष भट्टराईले जनाए ।

कोभिड १९ ले असर गरेका नेपालीहरुलाई राहत तथा खाद्यान्न सहयोगमा एनआरएन मलेसियाले धेरै काम गरिसकेको छ । ‘मलेसियामा कोही भोको र समस्यामा बस्नु नपरोस् भनेर हामी दूतावाससँगको सहकार्यमा काम गरिरहेका छौ’ एनआरएन मलेसियाका कोषाध्यक्ष कृष्ण नेपालले जानकारी दिए ।

अशक्त महिलालाई सहयोग

शारीरिक रुपमा अशक्त नेपाली महिला श्रमिकलाई स्वदेश फर्किनको लागि एनआरएन मलेसियाले सहयोग गरेको छ ।

सोलुखुम्बु पासाङ लाम्हु ९ आङ् निङमा शेर्पालाई स्वदेश फर्कन हवाई टिकट उपलब्ध गराएर एनआरएन मलेसियाले सहयोग गरेको हो ।

वैदेशिक रोजगारीको लागि मलेसिया पुगेकी शेर्पाको कम्पनीबाट ड्युटी सकिएर होस्टेल फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा परेर खुट्टा भाचियो । दुर्घटनामा परेर खुट्टा भाचिएपछि कम्पनीले उपचार गरिदिन आनाकानी गरेपछि उनलाई झन समस्या थपियो । खुट्टाको घाउ पुनः बल्झिएर पछिल्लो समयमा दुईवटै खुट्टामा संक्रमण देखिन थालेपछि शेर्पाले आफैं आवश्यक उपचार गराउदै औषधि सेवन गर्न थालिन् । शेर्पाले अन्त्यमा रोजगारदाता कम्पनी छोड्ने निर्णय गरेर अबैधानिक रुपमा काम गर्न थालेको बताइन् ।

पछिल्लो समय सिकिस्त बिरामी परेर थल्ला परेकी शेर्पासंग आफ्नो खुट्टाको थप उपचार गराउन न त आर्थिक रकम थियो , न त घर फर्किनलाई हातमा पासपोर्टनै । पीडैपीडामा बाचिरहेकी शेर्पाले आफ्नो उद्धार गरिदिनका लागि मलेसियामा रहेको नेपाली दूतावास, एनआरएन तथा समाजिक संस्था शेर्पा किदुग मलेसियामा निवेदन दिइन् ।

अन्ततः मलेसिया स्थित नेपाली दूतावासको विशेष सहयोग र पहलमा एनआरएनए मलेसियाले शेर्पालाई स्वदेश फर्किन सहयोग स्वरुप हवाई टिकट उपलब्ध गराए लगतै उनी क्वालालम्पुरदेखि काठमाडौंसम्म भएको हिमालयन एयरलाइन्सको उडानबाट स्वदेश फर्किन सफल भइन् ।

आर्थिक सहयोग प्रदान

पछिल्लो समयमा एनआरएनए मलेसियाले विभिन्न उदाहरणिय सामाजिक कार्यहरु गर्दै आईरहेको छ। केही दिन अगाडि मात्रै मलेसियामा उपचारको क्रममा मृत्यु भएको झापा जिल्ला निवासी दिपक लिम्बुको परिवारलाई राहत स्वरुप नेपाली १४ हजार २५ रुपैयाँ प्रदान गरि सहयोग गरेको छ । त्यस्तै घरफिर्तीको निम्ति आर्थिक अवस्था कमजोर रहेको सखुवासभा जिल्ला निवासी बलराम माझीलाई आरएम ५०० , जामलिंग भोटेलाई आरएम ५०० रिंगेट , भिम कुमार दर्जी लगायतको नेपाली श्रमिकहरुलाई आर्थिक सहयोग गरेको एनआरएनए मलेसियाले जनाएको छ ।

एनआरएन मलेसियाले अन्य कोही मलेसियामा समस्यामा परेका वा कुनै कानूनी तथा आर्थिक परामर्शका लागि सम्झनका लागि अनुरोध गरेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *