दोश्रो एनआरएन विश्व ज्ञान सम्मेलनको तयारी पुरा, प्रधानमन्त्रीले उद्घाटन गर्ने सम्मेलनमा २०० वटा कार्यपत्र प्रस्तुत हुने

news-details

गैरआवासीय नेपाली संघको आयोजनामा शुक्रवारदेखि हुने दोस्रो विश्वज्ञान सम्मेलनको तयारी पुरा भएको एनआरएनएले जनाएको छ । भर्चुअल माध्यमबाट हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने जानकारी दिइएको छ ।

विदेशमा रहेका र विदेशबाट फर्किएका नेपालीको ज्ञान, सीप र बौद्धिकतालाई नेपालको विकास एवं समृद्धिका लागि प्रयोगमा ल्याउन संघले दुई वर्षअघिदेखि विश्व ज्ञान सम्मेलन आयोजना गर्न थालेको हो । असोज २३ गतेदेखि २५ गतेसम्म हुने सम्मेलनको तयारी पूरा भएको संघका महासचिव तथा सम्मेलनका संयोजक डा. हेमराज शर्माले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्य र नेपाल सरकारको १५ औँ पञ्चवर्षीय योजनाका विषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् । सम्मेलनमा ४ वटा प्लेनरी र विविध विषयमा १५ वटा सिम्पोजियम शत्र हुने एनआरएनले जनाएको छ । २५ भन्दा बढी देशका १ सयभन्दा बढी प्रतिष्ठित विश्वविद्यालय, अनुसन्धान केन्द्रहरुबाट ३ सयभन्दा बढी प्रस्तोताहरुको सहभागिता रहनेछ । सम्मेलनमा २ सय वटा कार्यपत्र प्रस्तुत हुने महासचिव शर्माले जानकारी दिए ।

परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीसहित नेपाल सरकारका उच्च प्रतिनिधीसहित स्वदेश तथा विदेशका विज्ञहरूको सहभागिता हुने जनाइएको छ ।
कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोना पश्चात् विश्वभर चालिएका कदम र नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिका बारेमा सम्मेलन केन्द्रित हुने महासचिव शर्माले जानकारी दिए ।

पहिलो विज्ञ सम्मेलनका निर्णयहरु कार्यान्वयन भए नभएको छलफल हुने महासचिव शर्माको भनाई छ ।

गैरआवासीय नेपाली संघको मुख्य आयोजना र नेपाल सरकारको सह–आयोजनामा हुने सम्मेलनमा काठमाडौँ विश्व विद्यालयको सहकार्य रहनेछ । परराष्ट्र मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्व विद्यालय, राष्ट्रिय अनुसन्धान केन्द्र एवं निजी क्षेत्रको महत्वपूर्ण सहयोग तथा सहभागिता रहेको सम्मेलनमा गैरआवासीय नेपाली विज्ञहरु, नेपालमा रहैका विज्ञहरु, र नेपालसँग जोडिएका विदेशी विज्ञहरु सहभागी हुने एनआरएनएका प्रवत्ता डिबी क्षेत्रीले जानकारी दिए ।

सम्मेलनको पहिलो दिनका विभिन्न सत्रमा कृषि र खाद्य सुरक्षा, प्रविधिमैत्री र स्टार्ट अप कम्पनी, भौतिक पूर्वाधार विकास, कोरोना महामारीको कहर र सार्वजनिक स्वास्थ्य, व्यावसायिक शिक्षा, अनुसन्धान, प्रविधि तथा बजारीकरणका बारेमा कार्यपत्रहरु प्रस्तुत हुने छन् । यस्तै नेपाललाई उपयुक्त हुने नयाँ प्रविधिको सम्भावना र यस क्षेत्रमा लगानीका साथै नेपालको विकास नीति निर्माणमा डायस्पोराको कस्तो भूमिका हुन्छ भन्ने विषयमा केन्द्रित भएर कार्यपत्र प्रस्तुत हुने संघका प्रवक्ता क्षेत्रीले बताए ।

सम्मेलनको दोस्रो दिन महामारी तथा प्राकृतिक प्रकोप संकट व्यवस्थापन, विज्ञान तथा प्रविधि नीति तथा नेपाली अर्थतन्त्रमा कोरोना महामारीको प्रभाव र पुनरुत्थान लगायतका सत्रहरु समावेश गरिएका छन् । यस्तै तेस्रो दिन जीवन र स्वास्थ्य विज्ञान, उर्जा, आर्थिक रुपान्तरण, सूचना तथा सञ्चार प्रविधि, वातावरण र समाज विज्ञानका विषयमा कार्यपत्र प्रस्तुत हुने छ । सम्मेलन पश्चात श्वेतपत्र जारी हुने जनाइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *