यो साता कोरोना संक्रमणबाट विदेशमा थप ५ जना नेपालीको निधन

news-details

विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा थप ५ जना नेपालीको निधन भएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता मृत्यु भएका सबै युएईका हुन् । योसँगै शनिवार साँझ सम्म विदेशका विभिन्न १६ देशमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २ सय पुगेको छ ।

स्वास्थ्य समितिका अनुसार यो साता दक्षिण कोरियामा रहेका नेपालीहरुमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको छ ।

समितिका संयोजक डा संजीव सापकोटाका अनुसार जापान, अष्ट्रेलिया कतार लगायतका देशमा यो साता कोरोना संक्रमणदर सामान्य रुपमा वृद्धि भएको छ ।

संघका अनुसार हाल सम्म विश्वका ४० देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १६ देशमा रहेका नेपालीहरुको ज्यान हो ।

हालसम्म नेपालबाहेक विदेशमा मात्र ३४ हजार ९ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ । ३२ हजार ९ सय ८९ जना कोरोना संक्रमणबाट मुक्त भएको समितिले जनाएको छ । यो कुल संक्रमित संख्याको ९४ प्रतिशत हो ।

यस्तै नेपालमा मात्र ४५ हजार २ सय ७७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ती मध्य २७ हजार १ सय २७ जना कोरोना मुक्त भएका छन् । नेपालमा कोरोना मुक्त हुने संख्या औसत ६० प्रतिशत रहेको छ ।
नेपालमा २ सय ८० जनाको कोरोना कारण ज्यान गएको छ । कोरोना संक्रमणका कारण नेपालसहित जम्मा ४ सय ८० जनाको निधन भएको स्वास्थ्य समितिले जनाएको छ ।

यस्तै विश्वभर ८० हजार २ सय १६ जनामा नेपालीमा संक्रमण देखिएको छ भने ती मध्ये ६० हजार १ सय १० जना कोरोना मुक्त भएका छन् । नेपाल सहित कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या औसत ७५ प्रतिशत रहेको छ ।

५६ हजार ७ सय ७७ जनाको उद्धार

कोरोना भाइरसको संक्रमण पछि भएको विश्वव्यापी लकडाउन पछि विदेशमा अलपत्र गरेका नेपालीहरुको उद्धार कार्य जारी रहेको छ । गैरआवासीय नेपाली संघ र विदेशस्थित नेपाली नियोगहरुको संयुक्त पहलमा ५८ देशबाट ३ सय ५९ वटा फलाइट मार्फत हाल सम्म ५६ हजार ७ सय ७७ जना नेपालीलाई ३० देशबाट उद्धार गरिएको छ । यस्तै विदेशमा बिभिन्न कारणले निधन भएका २ सय ९९ जना नेपालीहरुको लास नेपाल पठाएको छ ।

महामारीमा एनआरएनएको महत्वपूर्ण भूमिका : मन्त्री ज्ञवाली

मध्यपूर्वका ४ देशमा लागु हुने आईएलओको परियोजनाको लागि गैरआवासीय नेपाली संघले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीसँग छलफल गरेको छ । मध्यपुर्वका देशहरुमा रहेका नेपालीहरुको समस्याको बारेमा केन्द्रित भर्चुअल छलफललाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले कोभिड–१९ कारण उत्पन्न असहज परिस्थितिमाझ गैरआवासीय नेपाली संघले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।

उहाँले महामारीका बेला विदेशस्थित गैरआवासीय नेपाली संघ र विदेशस्थित नेपाली दूतावासबीच निकै राम्रो सहकार्य भएको भन्दै आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिइने उल्लेख गर्नुभयो ।

विदेशबाट फर्किएका नेपालीहरुलाई नेपालमै उनीहरुको क्षमता र सीपका अनुसार रोजगारीको वातावरण तयार गर्न सरकारले रणनीति बनाइसक्न लागेको र कतिपय योजना समेत बनिसकेको उहाँको भनाई थियो । नेपाल फर्केका नेपालीहरुको ज्ञान र सीपको तथ्यांक संकलन गर्ने कार्यमा गैरआवासीय नेपाली संघले सहकार्य गर्न सक्ने मन्त्री ज्ञवालीले बताउनुभयो ।

छलफलमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले विदेशमा बस्ने नेपालीहरुले राज्य सरह संघप्रति अपेक्षा राख्ने गरेको अनुभव सुनाउँदै सरकारसँग सोही तहको सहकार्यको अपेक्षा राखेको बताउनुभयो । संघको साधन र श्रोतले सबै समस्यालाई समाधान गर्न नसक्ने भएको कारणले अन्तर्राष्ट्रिय समूदायसँग सहकार्य सुरु गरिएको जानकारी समेत उहाँले गराउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वैदैशिक रोजगार समितिका संयोजक तथा उपाध्यक्ष डा बद्री केसीले कोरोना संक्रमण पछि समस्यामा परेका नेपालीहरुको सहयोगको लागि ती देशमा आइएलओसँग सहकार्य गरेर स्वयसेवा तथा कानुनी परामर्श सहितको ५ महिने कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

बैठकमा गैरआवासीय नेपाली संघका महासचिव डा हेम राज शर्माले कोभिड –१९ को कहरका बीच संघको आयोजनामा हुने दोस्रो विज्ञ सम्मेलनको बारेमा जानकारी दिनुभयो । उहाँले विदेशमा स्वास्थ्य क्षेत्रमा सक्रिय नेपाली चिकित्सक एवं विज्ञहरुको सहयोग लिएर अघि बढ्न नेपाल सरकारलाई सुझाव दिनुभयो ।

संघको सक्रियतामा शुक्रवार सम्पन्न बैठकमा कतार, मलेसिया, युएई र साउदी अरबस्थित नेपाली राजदुतहरु, संघका केन्द्रीय पदाधिकारी, श्रमसहचारी, राष्ट्रिय समितिका अध्यक्षहरु लगायतको उपस्थिति थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *