कोरोना भाइरस संक्रमणको जोखिमका कारण रोकिएको अन्तर्राष्ट्रिय उडान सुचारु गर्दा भाडादर झन महंगो बनाइएकोमा गैरआवासीय नेपाली संघ मलेसियाले सरकारको ध्यानाकर्षण गराएको छ ।

नियमित उडान शुरु भएपछि हवाई भाडा चार्टड भन्दा सस्तो र सहज हुने अपेक्षा गरेका नेपालीहरुलाई निराश बनाउदै नियमित उडानमा हवाई भाडा चार गुणा भन्दा महंगो गरिएको भन्दै एनआरएनए मलेसियाले आपत्ती जनाएको छ ।

एनआरएनए मलेसियाका अध्यक्ष हरि भट्टराई र महासचिव हेमराज सापकोटाले हस्ताक्षरसहित निकालेको ध्यानाकर्षण पत्रमा भनिएको छ –‘नियमित उडान भएपछि सस्तो टिकट पाइएला र स्वदेश फर्कन सहज हुन्छ भन्ने हाम्रो अनुमान थियो । तर, नियमित उडानमा हवाई भाडा त चार गुणाभन्दा महंगो गरिएको छ ।’

नियमित उडान खोल्दा मलेसियामा समस्यामा परेका वा स्वदेश फर्कन आतुर नेपालीहरु सस्तो र सहज हिसाबले फर्किन पाउछन् भन्ने विश्वासमा नै यो अवस्थाले ठेस लागेको महसुस भएको एनआरएनए मलेसियाले जनाएको छ ।

रोजगारी तथा विभिन्न सिलसिलामा विश्वभर छरिएर रहेका नेपालीहरु कोभिड १९ का कारण प्रभावित बनिरहेका छन् । रोजगार गुमाउने वा स्वदेश फर्कन चाहनेहरुको संख्या दिनानुदिन बढिरहेको एनआरएन मलेसियाको भनाई छ ।

गत २०७६ चैत ९ गतेदेखि बन्द भएका अन्तर्राष्ट्रिय तर्फका नियमित उडान भदौ १७ गतेदेखि खोल्न सरकारले अनुमति दिएकोमा र विगतमा चार्टड उडानबाट विदेशमा भएका नेपाली फर्काएकोमा भने गैरआवासीय नेपाली संघ मलेसियाले सरकारलाई धन्यवाद दिएको छ ।

यद्यपी चार्टर्ड उडानमा भाडा महंगो भएको तथा सीमित ट्राभल एजेन्सीले मात्र लाभ लिएको एनआरएनए मलेसियाको बुझाई छ । चार्डर उडानबाट स्वदेश फर्कन नसकेका नेपालीहरुका लागि नियमित उडानको हवाई भाडा सस्तो बनाइनु पर्ने र स्वदेश फर्कन चाहनेहरुका लागि अवसर दिनुपर्ने एनआरएनए मलेसियाले जोडदार माग राखेको छ ।

यसैबीच सरकारले विदेशमा समस्यामा परेका वा बेखर्ची भएकाहरूलाई निःशुल्क उद्धार गर्ने घोषणा गरे पनि अझै प्रभावकारी कार्यान्वयन हुन नसकेकाले सरकारले छिटोभन्दा छिटो समस्यामा परेका नेपालीलाई निःशुल्क उद्धारका लागि समेत कदम चाल्न एनआरएनए मलेसियाले माग राखेको छ ।