विदेशमा यो साता १३ नेपालीको ज्यान गयो, १८ हजार २ सय ९३ जनाको उद्धार

news-details

कोरोना भाइरसको संक्रमणले विदेशमा यो साता थप १३ जनाको ज्यान गयो । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार युएईमा थप ६ जना, भारतमा ५ जना, ओमानमा १ जना, कुवेत १ जना नेपालीको निधन भएको हो ।

समितिका अनुसार शनिबार साँझसम्म विदेशमा मात्र १४ देशमा संख्या १ सय ४३ जना नेपालीको कोरोना संक्रमणले ज्यान गएको हो ।

हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेन, ओमान लगायत देशमा रहेका नेपालीहरुको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको छ ।

एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता विदेशमा मध्यपूर्वका देशबाहेक अन्य मुलुकमा कोरोना संक्रमणको बढ्ने दर न्युन हुदै गइरहेको तथ्यांकले देखाउँछ ।

समितिका अनुसार शनिवार साँझसम्म विदेशमा २८ हजार ९ सय १८ जनामा कोरोना संक्रमण देखिएको छ भने २५ हजार २ सय २६ जना गैरआवासीय नेपाली कोरोना मुक्त भएका छन् ।

नेपालमा १५ हजार ४ सय ९४ जनामा कोरोना संक्रमण देखिए पनि हाल सम्म ६ हजार ४ सय १५ जना कोरोना मुक्त भएका छन् । यस्तै ३४ जनाले ज्यान गुमाएका छन् । एनआरएनएका अनुसार हाल सम्म विश्वभर ३७ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट प्रभावित भएका छन् ।

१८ हजार २ सय ९३ जनाको उद्धार

यसै बीच कोरोना भाइरसका कारणले विश्वव्यापी लकडाउन सुरु भएपछि बिभिन्न देशमा रोकिएका नेपालीहरुको उद्दारको काम तीब्रता दिइएको छ । एनआरएनए र विदेशस्थित नेपाली कुटनीति नियोगको संयुक्त पहलबाट जुनको पहिलो सातादेखि हालसम्म २१ देशका १८ हजार २ सय ९३ जनाको उद्दार गरिएको छ ।

अफगानिस्तान, अष्ट्रिेलया, ओमान, कतार, म्यानमार, कुवेत, जापान, थाइल्याण्ड, दक्षिण कोरिया, वंगलादेश, मलेसिया, माल्दिभ्स, श्रीलंका, युएई, साृदी अरब, सिंगापुर, हङ्गकङ्ग, पाकिस्तान, बहराइन, अमेरिका र बेलायतलगायतका देशमा रहेका नेपालीहरु नेपाल फर्किका छन् ।

यसै बीच विदेशमा निधन भएका नेपालीको ३ सय ५२ शव मध्य १ सय १५ जनाको शव नेपाल ल्याएर अन्त्येष्टि गरिएको छ भने बाँकी १०५ शवको व्यवस्थापनको काम बाँकी रहेको छ । ती शव मध्य १ सय ३२ जना नेपालीहरुको शव परिवारको सहमतिमा विदेशमै अन्त्येष्टि गरिएको छ ।

एनआरएनएलाई आइएलओको ५ करोड १० लाख सहयोग

संयुक्त राष्ट्र संघअन्तर्गतको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले एनआरएनएलाई ५ करोड १० लाख रुपैयाँ अनुदान सहयोग दिने भएको छ ।

एनआरएनएले हिजो शनिवार एक विज्ञप्ति जारी गर्दै आइएलओ र गैरआवासीय नेपाली संघबीच मंगलवार सहमतिपत्रमा हस्ताक्षर भएको जनाएको छ ।

संघका अध्यक्ष कुमार पन्तका अनुसार विशेष गरी कोभिड १९ बाट प्रभावित मलेसिया, युएई, कतार र साउदी अबर गरि चार देशका नेपालीको सहयोगार्थ आइएलओले सो आर्थिक सहयोग गरेको हो ।

सो रकम कोभिड १९ ले श्रम बजारमा पारेको प्रभाव अध्ययन गर्न र श्रमिकको हितमा खर्च हुने गैरआवासीय नेपाली संघले जनाएको छ । संघका अनुसार कोभिड–१९ ले श्रम बजारमा पारेको प्रभावको अध्ययन गर्न र श्रमिकको हितका लागि सो रकम खर्चिने छ ।

संघले ती मुलुकमा रहेका नेपालीको सहयोगका लागि नेपाली कुटनीतिक नियोगसंग समन्वय गरि कार्यालय स्थापना गरेर आफ्नो कार्य अघि बढाउने तयारी गरेको छ । ती कार्यालयबाट विदेशमा कोरोनाकै कारणले जागिर छोड्न बाध्य पारिएकालाई सुरुमै कानुनी परार्मश दिने तयारी संघले गरेको छ ।

संघका महासचिव डा शर्माले गैरआवासीय नेपाली संघले पहिलो पटक विदेशी संस्थाबाट यति ठूलो आर्थिक सहयोग प्राप्त गरेको जानकारी दिए । शर्माले भने, ‘संघका लागि यो एक कोषे ढुंगा सावित हुनेछ, संधैं व्यक्तिको खल्ती ताकेर बस्नु पर्दैन, संस्था संचालन गर्न अन्य स्रोतसमेत परिचालन गर्न सकिन्छ भन्ने यो एउटा सन्देश हो ।’

सहयोगको लागि गैरआवासीय नेपाली संघको तर्फबाट संघका उपाध्यक्ष डा बद्री केसी, महासचिव डा हेमराज शर्मा, डा पुरु श्रेष्ठ र एकनाथ खतिवडाले प्रपोजल तयार पारेका थिए ।

आइएलओले सो प्रस्तावलाई करिब ५ हप्ता लगाएर अध्ययन गरेपछि आर्थिक सहयोग गर्ने निष्कर्षमा पुगेको थियो । अन्तर्राष्ट्रिय श्रम संगठनले विश्वभर छरिएका श्रमिकको हितमा काम गर्दै आएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *