गैरआवासीय नेपाली संघले कोरोना संक्रमण (कोभिड १९)को उपचार सहजताका लागि देशका विभिन्न सात अस्पतालाई १२५ थान सुरक्षा कवच (पिपिई) उपलब्ध गराएको छ ।
उक्त सामाग्री संघको काठमाडौस्थित सचिवालयमार्फत वितरण गरिएको र सो अवसरमा संघका उपाध्यक्ष सोनाम लामा, एशिया प्यासिफिक क्षेत्रीय संयोजक रोविन्द श्रेष्ठ, एसिया प्यासिफिक क्षेत्रीय उप–संयोजक खगेन्द्र न्यौपाने, स्वास्थ्य समितिका उप–संयोजक शक्ति चौरसिया, प्रमुख कार्यकारी आधिकृत डा हेमन्त दबाडी र प्रमुख लेखा अधिकृत रबिना महर्जनको उपस्थिति रहेको संघको सचिवालयले जानकारी दिएको छ ।
उक्त पिपिई नारायणी अन्चल अस्पताललाई २५ थान, सगरमाथा अञ्चल अस्पताललाई २० थान, जनकपुर अञ्चल अस्पताललाई २० थान, बारा जिल्ला अस्पताललाई १० थान, रौतहट जिल्ला अस्पताललाई १० थान, केन्द्रीय कारागार अस्पताललाई १५ थान र भरतपुर क्यान्सर अस्पताललाई २५ थान वितरण गरिएको थियो ।
गैरआवासीय नेपाली संघले संस्थागतरुपमा नै नेपालमा कोरोना नियन्त्रण, रोकथाम तथा यसको उपचार सामाग्रीका लागि अभियान नै चलाएर सरकारलाई सहायता उपलब्ध गराइरहदा विभिन्न राष्ट्रिय समन्वय परिषदहरुले त्यसका अलवा स्वस्र्फुतरुपमा कोरोना उपचारका थप सामाग्रीहरु सहयोग गरिरहेका छन ।








