विदेशमा रहेका अधिकांश गैरआवासीय नेपालीको स्वदेश फर्किने चाहना

news-details

विदेशमा रहेका अधिकांश नेपालीले स्वदेश फर्किने ईच्छा देखाएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गत आइतवारदेखि सुरु गरेको २४ सै घन्टा हेल्पलाइनमा फोन गर्ने मध्यका ७७ प्रतिशतले मातृभूमि नेपाल फर्किन चाहेको र त्यसको लागि आवश्यक प्रबन्ध गरिदिन आग्रह गरेका छन् ।

गैरआवासीय नेपाली संघका महासचिव डा हेमराज शर्माका अनुसार संघमा प्राप्त फोनकलका आधारमा सबैभन्दा धेरै समस्या मध्यपूर्वका गैरआवासीय नेपालीमा रहेको देखिएको छ । त्यहाँ रहेका अधिकांश नेपालीले नेपाल फर्किन चाहाना राखेका छन् ।

हटलाइनमा प्राप्त सूचना अनुसार ७७ प्रतिशत गैरआवासीय नेपालीले स्वदेश फर्किन चाहेका छन् भने ११ प्रतिशतले विदेश जानको लागि आवश्यक प्रकृया पूरा गरिदिन आग्रह गरेका छन् । अन्य समस्या हुनेमा १२ प्रतिशत गैरआवासीय नेपाली छन् ।

मध्यपूर्वमा धेरै नेपालीको जागिर छुटेको वा कम्पनीबाट राजीनामा दिएर नेपाल जानको लागि तयारी अवस्थामा रहेको देखिएको छ । महासचिव शर्माका अनुसार गैरआवासीय नेपालीका बारेमा नेपालमा रहेका अभिवाभकहरु धेरै चिन्तित देखिएका छन् । तीमध्ये धेरैले विदेशमा रहेको आफ्नो छोराछोरीलाई तत्काल नेपाल फर्काउन चाहेको र त्यसको लागि सहजीकरण गरिदिन संघ समक्ष आग्रह गरेका छन् । सोमवार साँझसम्म संघलाई प्राप्त टेलिफोनमध्ये भारतको मुम्बई, हैदरावाद, नैनिताल, हरियाना, नयाँ दिल्लीमा नेपालीको ठूलो समूह खान बस्नसमेत नपाएर अलपत्र परेका छन् ।

युएई, भारत, मलेसिया, साउदी अबर, दक्षिण कोरिया, मोजाम्कि, फिनल्यान्ड, अमेरिका, युकेलगायतका देशमा बसोवास गर्ने गैरआवासीय नेपालीले संघ समक्ष आ–आफ्ना समस्या टिपोटको महासचिव डा। शर्माले जानकारी दिए ।

विदेशबाट छुट्टीमा नेपाल गएका धेरैको भिषा सकिएपछि तत्काल विदेश जाने व्यवस्था गरिदिनसमेत उनीहरुले गैरआवासीय नेपाली संघ समक्ष आग्रह गरेका छन् । गैरआवासीय नेपालीबाट प्राप्तभएका सुझाव र समस्यालाई तत्कालै समाधान गर्न एनआरएनएका राष्ट्रिय समिति र विदेशस्थित नेपाली कुटनीतिक नियोगसँग समन्वयन गरी काम अघि बढाइएको संघका अध्यक्ष कुमार पन्तले जनाए ।

यसअघि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अध्यक्ष कुमार पन्तको संयोजकत्वमा एक कोभिड–१९ उच्चस्तरीय समिति गठन गरेको थियो ।

समितिले कोरोना भाइरसबाट प्रभावित नेपालीको तथ्यांक संकलन गर्ने, स्वास्थ्यसम्वन्धी सामग्री नेपाल पठाउने, गैरआवासीय नेपालीले राहत संकलन तथा वितरण गर्ने काम गर्दै आएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *