एनआरएनएले वैदेशिक रोजगारका विषयमा आफ्नो धारणासहितको ‘श्वेतपत्र’ जारी गर्ने

news-details

वैदेशिक रोजगारको क्षेत्रलाई मर्यादित, व्यवस्थित तथा सुरक्षित बनाउनका लागि गैरआवासीय नेपाली संघले आफ्नो धारणासहितको श्वेतपत्र तयार गरेर जारी गर्ने भएको छ ।

एनआरएनएका उपाध्यक्ष एवं वैदेशिक रोजगार तथा गैरआवासीय नेपाली कल्याणकारी हित विभागका प्रमुख डा.बद्री केसीको अध्यक्षतामा मंगलबार राजधानीमा वैदेशिक रोजगारविज्ञसहित बसेको वैठकले वैदेशिक रोजगार सम्बन्धी संघको आधिकारिक धारणापत्र बनाउन अगाडि बढिसकेको छ ।

विज्ञसहितको वैठकमा वैदेशिक रोजगारीको क्षेत्रमा हाल देखिएका समस्याहरु, वैदेशिक रोजगारीमा भएका समस्याका समाधानका गैरआवासीय नेपाली संघको भूमिका, वैदेशिक रोजगार कोषको प्रभावकारी उपयोग, वैदेशिक रोजगारीमा जानेहरुको सामाजिक सुरक्षा र संघको वैदेशिक रोजगारी सम्बन्धमा आधिकारीक धारणामा समेटिने विषयमा छलफल भएको संघका उपाध्यक्ष केसीले जानकारी दिए ।

‘वैठकमा उपस्थित हुनुभएका विज्ञ तथा सरोकारवालाहरुले आ–आफ्नो विषयहरुमा रहेर धारणा व्यक्त गर्नुभयो’ संघका उपाध्यक्ष केसीले संघले वैदेशिक रोजगारको क्षेत्रलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउनका लागि नेपाल सरकार र सरोकारवाला संघसंस्थाहरुसंग समन्वय तथा सहकार्य गरी आफ्ना गतिविधिहरु संचालन गर्दै आएको र अव संघले वैदेशिक रोजगार सम्बन्धी आधिकारीक धारणासहितको श्वेतपत्र बनाउन गइरहेकोले राय सुझावहरु संकलन गरेको बताए ।

‘हाम्रो उद्देश्य भनेको संघको अव आउने नेतृत्वले पनि वैदेशिक रोजगार क्षेत्रको बारेमा स्पष्ट जानकारी पाउन सकुन भन्ने हो, यसैका लागि नै विज्ञहरुसँगको रायसहित वैदेशिक रोजगारको बारेमा संघको आधिकारिक धारणासहितको श्वेतपत्र तयार गरेर जारी गर्ने तयारी गरेका हौ’ उपाध्यक्ष केसीले भने ।

वैदेशिक रोजगारविज्ञहरुले संघले सबै विषय समेट्नुको सट्टा आफ्नो स्तरबाट योगदान गर्न सक्ने र आफुले प्रभाव पार्न सक्ने क्षेत्रहरुमा केन्द्रित हुन अनुरोध गरेका थिए । बैठकमा सहभागीहरुले हालै विश्वव्यापी महामारीरुप लिन खोजिरहेको कोरोना भाइरसले वैदेशिक रोजगारी र नेपाली अर्थतन्त्रलाई गम्भिर संकट पार्न सक्ने भन्दै संघलाई यस सम्बन्धमा कसरी असर कम गर्न सकिन्छ भन्ने तर्फ विचार गर्न र विदेशको अनुभव ज्ञान र श्रोत उपयोग गर्न पनि अनुरोध गरेका थिए ।

वैठकमा वैदेशिक रोजगारका विज्ञहरु डा. गणेश गुरुङ, नेपाल सरकारका पूर्व सचिव पूर्णचन्द्र भट्टराई, सरकारका पूर्वसहसचिवद्वय गोविन्दमणि भूर्तेल मधुविलाश पंडित, आप्रवाशनविज्ञ रामेश्वर नेपाल लगायत अन्य सरोकारबाला र संघको तर्फबाट उपाध्यक्ष डा. बद्री केसी, सचिव आरके शर्मा, सहकोषाध्यक्ष लोकप्रसाद दाहाल लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *