एनआरएनए र श्रममन्त्री यादवबीच भेटवार्ता, वैदेशिक रोजगारीलाई मर्यादित बनाउन सहकार्यमा जोड

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधीमण्डल र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवबीच वैदेशिक रोजगारीलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउने विषयमा छलफल भएको छ ।

नवनियुक्त मन्त्री यादवलाई बधाई दिन मन्त्रालय पुगेको संघका केन्द्रीय उपाध्यक्ष तथा एनआरएनए वैदेशिक रोजगार विभागका सभापति डा. बद्री केसी लगायतका पदाधिकारीहरुको टोलीले वैदेशिक रोजगारीका विषयमा छलफलसमेत गरेको थियो ।

भेटर्वार्तामा मन्त्री यादवले वैदेशिक रोजगारीमा गएका नेपालीहरूको समस्या समाधानका साथै वैदेशिक रोजगारीको क्षेत्रलाई मर्यादित, व्यवस्थित तथा सुरक्षित बनाउनका लागि एनआरएनएसँग सहकार्य गरेर अघि बढन मन्त्रालय तत्पर रहेको बताएका थिए ।

‘विदेशमा नेपाली कामदार समस्यामा पर्दा राहत तथा उद्धार कार्यमा एनआरएनएले खेलेको भूमिका प्रसंशनिय छ । आगामी दिनमा पनि यहाँहरुको यो कार्यले निरन्तरता पाओस्, मन्त्रालय सहकार्य गरेर अघि बढन प्रतिवद्ध छ’ मन्त्री यादवले भने ।

संघका उपाध्यक्ष तथा एनआरएनए वैदेशिक रोजगार विभागका सभापति डा. केसीले वैदेशिक रोजगारका क्षेत्रमा संघले चालेका कदमहरु, नेपाल सरकारसँग गरिएका पहलहरु, संघको श्रमिक राहत कोषका साथै आगामी दिनमा वैदेशिक रोजगारीको क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन संघ तथा सरकारले चाल्नुपर्ने कदमहरुका बारे सुझावसहित जानकारी गराएका थिए । उनले सरकार र संघबीचको सहकार्यलाई गति दिन एक संयुक्त कार्यदल गठन गर्न पनि मन्त्री यादवलाई आग्रह गरे ।

सो अवसरमा एनआरएनएका पदाधिकारीहरुले नेपाली कामदारको बिमा, वैदेशिक रोजगारीका क्रममा हुने गरेको मृत्युदरलाई घटाउन थप जनचेतनाका कार्यक्रमहरू, कानूनी प्रतिरक्षाका लागि निःशुल्क कानूनी सेवा उपलब्ध गराउनुपर्ने तथा वैदेशिक रोजगार सम्बन्धी नीतिनियम तय गर्दा एनआरएनएसँग पनि छलफलका लागि मन्त्री यादवलाई सुझाव दिएका थिए ।

अन्तमा मन्त्री यादवले एनआरएनएले राखेका सुझावहरु आफूले अध्ययन गर्ने बताउँदै हाल देखापरेका समस्याहरुलाई समाधान गर्नको लागि पहल गरिने प्रतिबद्धता जनाएका थिए ।

मन्त्रालय पुगेको संघको प्रतिनिधीमण्डलमा संघका उपाध्यक्ष डा बद्री केसीसँगै अर्जुन श्रेष्ठ र सोनाम लामा, सल्लाहकार रामेश्वर शाह, एशिया प्यासिफिक क्षेत्रीय उपसंयोजक खगेन्द्र न्यौपाने, आइसीसी सदस्य विश्वविक्रम राई, ओसेनिया क्षेत्रका पूर्व क्षेत्रीय संयोजक धर्मराज अधिकारी, पूर्व युवा उपसंयोजक लोकराज शर्मा, एनआरएन एकेडेमीका संयोजक डा. प्रमोद ढकाल लगायत सहभागिता थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *