एनआरएनएको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक सम्पन्न, श्रमिक कल्याणकारी कोषका लागि १ करोड ६ लाख रुपैयाँ प्रदान

news-details

गैरआवासीय नेपाली संघको नवनिर्वाचित अन्तर्राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठकमा सदस्यहरुले वैदेशिक रोजगारीमा पिडित भएकाहरुलाई सहयोग गर्ने हेतुले स्थापित श्रमिक कल्याणकारी कोषका लागि रु १ करोड ६ लाख रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता गरेका छन् ।

संघका अध्यक्ष कुमार पन्तको प्रस्तावमा संघका नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुले सो रकम दिने घोषणा गरेका हुन् ।

संघको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले १९ वटा एजेन्डामाथि बृहत छलफल गरेको थियो । बैठकले यस अघिनै थालिएका कार्यक्रम र शुरु गरिएका पहलहरुलाई निरन्तरता दिँदै विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको छ ।

बैठकले सरकारले अघि सारेको नेपाल भ्रमण वर्ष २०२० मा सहकार्य गर्नका लागि निवर्तमान अध्यक्ष भवन भट्टको संयोजकत्वमा एक समिति गठन गरेको छ । यस्तै पुर्वाधार विकासका लागि रु १० अर्बको लगानी भित्र्याउने अभियान अगाडी बढाउन अध्यक्ष कुमार पन्तको संयोजकत्वमा एक समिति बनाई १ महिनाभित्र कार्य योजना प्रस्तुत गर्न बैठकले निर्णय गरेको छ ।

यस्तै आफु रहेकै मुलुकबाट मतदान गर्ने व्यवस्था र निशुल्क सदस्यता बारे अध्यन गर्न उपाध्यक्ष मन केसीको संयोजकत्वमा एक समिति गठन गरेको छ र यस समितिमा महासचिव डा हेमराज शर्मा, सचिव गौरीराज जोशी र कोषाध्यक्ष महेश श्रेष्ठ रहेका छन ।

महासचिव डा हेमराज शर्माको संयोजकत्वमा विशेष महाधिवेशन बोलाउने तयारी गर्ने निर्णय समेत बैठकले गरेको छ । विशेष महाधिवेशनले संघको संस्थागत संरचना र निर्वाचन प्रणालीको परिवर्तन गर्नेछ । संघको काठमाडौस्थित सचिवालयलाई चुस्त बनाउन डा हेमराज शर्माको नेतृत्वमा एक समिति गठन गरेको छ ।

संस्थाको आर्थिक प्रतिवेदन तयार गर्न कोषाध्यक्ष महेश श्रेष्ठको संयोजकत्वमा एक समिति निर्माण गर्ने निर्णय गरेको छ । आगामी २ वर्षका लागि मार्गचित्र कोर्न निकट भविष्यमा एक कार्यशालाको आयोजना गर्ने भएको छ ।

संघमा अब ५ बिभाग

बैठकले ५ उपाध्यक्षहरुको नेतृत्वमा ५ विभाग (वैदेशिक रोजगार, परोपकारी तथा मानव कल्याण, व्यापार तथा लगानी, सिप, ज्ञान तथा नबप्रवर्तन र नेपाल प्रवर्धन) निर्माण गर्ने र बिभागमा अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्यहरु र सम्बन्धित क्षेत्रका विज्ञहरु रहने ब्यबस्था गरेको छ ।

यस्तै बैठकले एनआरएनए फाउण्डेसन स्थापना गरी सबै परोपकारी कार्यक्रम यसै फाउण्डेसन मार्फत एकद्वार प्रणालीबाट गर्ने निर्णय गरेको छ । एनआरएन विज्ञ सम्मेलनलाई निरन्तरता दिँदै दोश्रो विज्ञ सम्मेलन सन २०२० गर्ने निर्णय गरिएको छ । त्यस्तै संघको अगामी क्षेत्रीय सम्मेलन मध्यपूर्वमा आयोजना गर्ने निर्णय समेत बैठकले गरेको छ ।

संघको संरक्षक परिषद गठन

बैठकले गैरआवासीय नेपाली संघको संरक्षक परिषद्को सदस्य समेत चयन गरेको छ । परिषदमा प्रमुख संरक्षक डा. शेष घले र अन्य संरक्षकहरुमा पूर्वअध्यक्ष देवमान हिराचन र जीवा लामिछाने, निवर्तमान अध्यक्ष भवन भट्ट र पूर्व संरक्षक रामप्रताप थापा रहेका छन । वैठकले संस्थापक अध्यक्ष डा उपेन्द्र महतोलाई संघको उच्च वरियतामा राख्ने समेत निर्णय गरेको छ ।

सल्लाहकार समिति गठन

संघको बैठकले गैरआवासीय नेपाली संघको ११ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । सो समितिमा निवर्तमान उपाध्यक्ष कुल आचार्य, सपिला राजभण्डारी, रामेश्वर शाह, टीबी कार्की, सोम सापकोटा, त्रिलोक गुरुङ, विश्व आदर्श पण्डित, पुष्प तिमल्सिना, जमुना गुरुङ, एसी शेर्पा र हरिबोल भण्डारी रहेका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *