महासचिवमा डिबी क्षेत्रीको उम्मेदवारीले एनआरएनमा बढयो उत्साह

news-details

गैरआवासीय नेपाली संघको नवौ विश्वसम्मेलनपछि आउने नयाँ नेतृत्वका लागि महासचिव पदमा ओमानबाट डिबी क्षेत्रीले आफ्नो बलियो दावेदारी प्रस्तुत गरेका छन । वर्तमान कार्यसमितिमा सचिवसमेत रहेका क्षेत्रीले आफ्ना प्रतिवद्धतासहित महासचिव पदका लागि उम्मेदवारी प्रस्तुत गरेसँगै विश्वभर छरिएर रहेका एनआरएनहरुमा उत्साह बढेको छ ।

वैदेशिक रोजगारीको क्षेत्रमा रहेका श्रमजिवी नेपालीको सामाजिक सुरक्षाको आवाज उठाँउदै आएका क्षेत्री हजारे अभियानका जन्मदाता पनि हुन । लामो समयदेखि एनआरएनएले अघि सारेको यो मुद्धा सरकार र कर्मचारी संचयकोषसँगको सहकार्यसँगै अहिले कार्यान्वयनको चरणमा पुगेको छ ।

विशेषगरी श्रमिक वर्गको मुद्धा उठाउँदै आएका क्षेत्री एनआरएन अभियानमा स्पष्ट भिजन भएका व्यक्तिका रुपमा चिनिन्छन । एनआरएनएमा प्रवासमा रहेका हरेक नेपालीको सहभागितासहित समान पहुँचको वकालत गर्दै आएका क्षेत्रीलाई अधिकांश एनआरएनहरुले कार्यसमितिमा देख्न चाहेका छन ।

क्षेत्रीले सुरक्षित तथा मर्यादित वैदेशिक रोजगारी, पर्यटन प्रवद्र्धन, लगानी तथा सचिवालयको विकाससहित संस्थाको गरिमा उचो बनाउनेसहितका प्रतिवद्धतासहित महासचिवमा आफ्नो बलियो दावेदारी प्रस्तुत गरेका हुन ।

लामो समयदेखि एनआरएन अभियानमा रहेका क्षेत्रीले हालसम्म एनआरएनए राष्ट्रिय समन्वय परिषदका संस्थापक अध्यक्ष हुदै आइसीसीमा मध्यपूर्वी क्षेत्रीय संयोजक हुदै हाल सचिवसम्मको जिम्मेवारी कुशलतापूर्वक निभाइसकेका छन ।

हेर्नुहोस महासचिवका उम्मेदवार क्षेत्रीको घोषणापत्र

घोषणा–पत्र

आदरणीय गैरआवासीय नेपाली संघका पञ्जीकृत सदस्य तथा अभियान्ताहरू,

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए, आईसीसी) को महाधिवेशनसमा महासचिब पदमा उम्मेदवार दिने घोषणा गर्न पाउँदा म असाध्यै हर्षित छु । विश्वभर छरिएर रहेका नेपालीको साझा संस्था एनआरएनको यो भूमिका दिलाउन यहाँहरूले पु¥याउनुभएको योगदानलाई म कहिल्यै भुल्ने छैन ।

मलाई यो उम्मेदवारका लागि कसैले टपक्क टिपेर ल्याएको होइन । तपाईं सम्मानित पार्षद् र अग्रजहरूको हरेक चरणमा विश्वास जितेर आएको हुँ । म एउटा होटल क्षेत्रमा काम गर्ने सामान्य श्रमिक हुँ । मैले आफ्नो जीवनको ऊर्जाशील श्रम आफ्नो मुलुकमा पोख्न पाइनँ । खाडी जानुप¥यो । निम्न मध्यमवर्गीय परिवारमा जन्मिएर हुर्किएको म सन् १९९८ मा रेस्टुरेन्ट श्रमिकको हैसियतमा साउदीको दमाम पुगें । दमाममा कार्यरत होटलले ओमानमा फ्रेन्चाइज खोल्ने भएपछि सन् २००६ मा ओमान गएँ । त्यहाँदेखि अहिलेसम्म ओमानमै पसिना बगाइरहेको छु ।

गैरआवासीय नेपाली संघको अभियानमा म विशेष हिसाबले होमिएँ । जब ओमानमा पुगें, त्यतिखेर नेपाली दूतावास थिएन । ओमानलाई साउदीको रियादस्थित नेपाली दूतावासले हेर्ने भए पनि भौगोलिक दूरी र सहज पहुँचको अभावमा ओमानवासी नेपालीहरू असाध्यै कष्ट, हैरानी र समस्याहरू आफैंभित्र गुम्स्याएर बसेका थिए । हाउसमेडमा कार्यरत युवतीहरूले व्यहोरेका शारीरिक र मानसिक शोषणका मुद्दालाई सम्बोधन गरिदिने कोही थिएन । मेरो एक्लो आवाज सुन्ने फुर्सद सिंहदरबारलाई थिएन । यी मुद्दा सुनाउन र ओमानमा नेपाली दूतावास स्थापना गर्नकै लागि एनआरएन, ओमान स्थापनाको अग्रसरता लिएँ । त्यसमा म संस्थापक सदस्य भएँ । त्यसपछि २००९–११ प्रवक्ता, २०११–१३ र २०१३–१५ दुई कार्यकाल अध्यक्ष भएँ । यस अवधिमा ओमानमा रहेका नेपालीका सवाललाई केन्द्रमा स्थापित गराउन सफल भएँ । जसले गर्दा ओमानमा नेपाली दूतावास स्थापना भयो । यसले मलाई थप ऊर्जा मिल्यो ।

वैदेशिक रोजगार केहीयताको ठूलो मुद्दा हो । यसको सम्बोधन र सुनुवाइ हुन सकिरहेको थिएन । मैले खाडीका सवाललाई प्रमुख बिषय वनाउन एनआरएनए मध्यपूर्व संयोजकमा गएर काम गर्ने सपना देखें । एनआरएनका पार्षदको विश्वास जितरे २०१५ देखि १७ सम्म मध्यपूर्व संयोजकमा काम गर्ने मौका मिल्यो । यो समयमा वैदेशिक रोजगारीमा जाने कामदारलाई सामाजिक सुरक्षा योजनाभित्र समेट्नुपर्छ भन्ने विषयलाई मुख्य मुद्दा बनाएँ । त्यसलाई सरकारले नीतिगत हिसाबले सम्बोधन गरिसकेको छ । यसपछि २०१७–१९ मा आईसीसी सचिवमा निर्वाचित भएँ । यसले विश्वभर छरिएर रहेका नेपालीका विषयहरू थप नजिकबाट बुझ्ने अवसर मिल्यो । यही अवसरकाबीच विश्वभर छरिएका नेपालीको आपसी एकता, सद्भाव र समन्वय गर्न सक्दो प्रयास गरें ।

सचिवमा रहेर आफ्नो भूमिका निर्वाह गरिराख्दा मलाई मध्यपूर्व र मलेसियाको मात्रै सवाल होइन, वैदेशिक रोजगारीका लागि पूर्वी यूरोप, अफ्रिका, अमेरिका, अस्ट्रेलिया र क्यानाडालगायत मुलुकहरूमा जाने नेपालीका सवालहरू पनि सिकायो । पूर्वी यूरोपमा सडकपेटीमा सुत्न बाध्य पारिएका र अमेरिका लग्ने नाममा बिचल्ली भई मृत्युको मुखमा पुगेकाहरूको मुद्दा बन्न सकेको छैन । यी क्षेत्रका आवाजलाई दरिलो रूपमा उठाउन विश्वभर रहेका नेपालीको साथ आवश्यक पर्छ । यूरोप, एसिया, अमेरिका र अष्ट्रेलियामा रहेका नेपालीलाई एकसाथ जोड्न सकेमा मात्रै विश्वभर रहेका लाखौं नेपालीको मुद्दामा नेपाल सरकारलाई थप जिम्मेवार बनाउन सकिनेछ ।

यही कारण अब मैले एनआरएनएको महत्वपूर्ण पद महासचिवमा गएर सेवा गर्ने अठोट लिएको छु । विश्वभरका नेपालीले देशका लागि सकेको योगदान दिनुपर्छ भन्नेमा दुईमत छैन । मेरो मुख्य मुद्दा भनेको विदेशमा छरिएका नेपालीले आफ्नो संवैधानिक अधिकार प्राप्त गरून्, देशले उनीहरूको हकहित र सुरक्षाका लागि पनि काम गरोस् भन्ने हो । अर्थात् विदेशी भूमिमा नेपाल सरकारको दरिलो उपस्थिति होस् भन्ने हो ।

नेपालमा झन्डै ५४ लाख २३ हजार घरधुरी छन् । विश्वभर यही नै संख्याको वरीपरि नेपालीहरू छरिएका छन् । सम्भवतः हरेक घरधुरीका एक सदस्य बाहिर छन् । अब तपाई सोच्नुस्– बाहिर रहनेको सवाल कति महत्वपूर्ण छ ?

धेरैले सोध्छन्, एनआरएनको मुख्य काम के हो ? एनआरएनको मुख्य काम विदेशमा रहेका नेपालबीच एकता बढाउनु हो । आपसी सहयोग र सद्भावको विकास गर्नु हो । संसारभर छरिएका नेपालीबीच स्वस्थ र मर्यादित हिसाबले समन्वय गराउनु हो । यो कार्यबाट म विचलित हुने छैन ।

वैदेशिक रोजगारको क्षेत्र बहुआयामिक छ । यसको लाभ र असर व्यक्ति, घर परिवार, समाज, राष्ट्र र रोजगारदाता मुलुकसम्म पर्ने गर्छ । यसैले यसको सुधारमा पनि सबै क्षेत्रको उत्तिकै महत्वपूर्ण भूमिका र योगदान रहन्छ । वैदेशिक रोजगार क्षेत्रको सुधार गर्ने पहिलो विषय नीति तथा कानुनी पक्ष हो । दोस्रो कार्यान्वयन पक्ष । नीति वनाउन र कार्यान्वयन गर्न एनआरएनले सरकारसँग सहयोगी र समन्वयत्मक ढंगले काम गर्नेछ । सूचना शक्तिशाली हतियार हो । विदेशमा समस्यामा परेका नेपालीको सूचना सही समयमा सही ठाँउमा पु¥याउनु नै हाम्रो काम हुनेछ । यसैका लागि सबै एनसीसीलाई परिचालन गर्नेछु ।

गैरआवासीय नेपालीको अभियानलाई राजनीतिक रूपमा मात्रै बढी चर्चामा आउने प्रवृत्ति रहेको र पर्याप्त स्रोत साधन जुटाउन सक्ने भए तापनि कुनै एजेन्डामा स्थिरता नभएको भनी आरोप आउने गरेको छ । यसबाट हामी मुक्त हुनुपर्छ ।

मैले २०१९–२०२१ कार्यकालका लागि अन्तर्र्रािष्ट्रय समन्वय परिषद्को महासचिब पदमा उल्लिखित विषयमा काम गर्न उम्मेदवारी दिने घोषणा गरेको हुँ–

मेरा केही घोषणा

क) वैदेशिक रोजगार
१. विदेशमा रहेका नेपाली श्रमिकको हक–हितको संरक्षण र सामाजिक सुरक्षालाई प्राथमिकता दिई प्रमुख गन्तव्य मुलुकसँग द्विपक्षीय श्रम सम्झौता गराउन सरकारलाई आवश्यक सहयोग र समन्वय गर्नेछु । साथै, श्रम कुटनीतिको नीतिलाई अवलम्बन गर्न सरकारसँग निरन्तर पहलकदमी लिनेछु ।

२. भारतले १४ देशसँग सामाजिक सुरक्षा सम्झौता गरेको छ । फिलिपिन्सले विदेशमा गई काम गर्ने कामदारलाई व्यक्तिगत रूपमा आफ्नो सामाजिक सुरक्षामा सहभागी हुन सक्ने व्यवस्था गरेको छ । यसैलाई आधार बनाएर हामीले विदेशमा कार्यरत कामदारलाई सामाजिक सुरक्षा दिनुपर्छ भन्ने ‘हजारे अभियान’ चलायौं । यसमै रहेर कर्मचारी सञ्चय कोषले वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूलाई सञ्चय कोष एवम् सामाजिक सुरक्षा योजनामा आवद्ध गर्न आवश्यक नीतिगत, कानूनी, संस्थागत र प्रक्रियागत सुधारका क्षेत्र पहिचान गरेको छ । अहिले कर्मचारी सञ्चय कोषबाट तयार गरिएको वैदेशिक रोजगार सञ्चय कोष सञ्चालन नियमावली, २०७५ को मस्यौदा समेतका आधारमा वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूको सञ्चय कोष तथा सामाजिक सुरक्षा वापतको रकम जम्मा गर्ने, लगानी गर्ने, सुविधा उपलब्ध गराउने, रकम भुक्तानी गर्ने कार्यविधि र कार्य प्रक्रिया सहितको कानुनी व्यवस्थाका लागि नियमावली÷कार्यविधिको मस्यौदा तयार छ । यो हाम्रो विगतको प्रयासको उपलब्धि हो । अब यसलाई अन्तिम रूप दिई कार्यान्वयनमा लैजान विशेष पहल गर्नेछु ।

३. वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूलाई सामाजिक सुरक्षा योजनामा आवद्ध हुन प्रोत्साहित गर्न उपयुक्त बजारीकरण रणनीति तयार गरी प्रचारमूलक एवम् प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्ने कार्यमा समन्वय र सहजीकरणका लागि गैरआवसीय नेपाली संघले संस्थागत जिम्मेवारी लिने व्यवस्था मिलाउनेछु ।

४. पाकिस्तानमा योगदान रकमको विप्रेषण आप्रवाहमा अलग्गै सहुलियत दिने गरिएको सन्दर्भमा वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूलाई योजनामा आकर्षण गर्न योगदानको रकम पठाउँदा लाग्ने विप्रेषण शुल्कमा छुट तथा सहुलियत दिने पहल गर्नेछु । सामान्यतया प्रति कारोबार न्यूनतम् ३ देखि ६ अमेरिकी डलरसम्म लाग्ने गरेको छ । शुल्कका कारण पनि रोजगारीमा रहेका व्यक्तिहरूले विप्रेषण आप्रवाहको वैकल्पिक उपाय वा अनौपचारिक माध्यम खोजी गर्ने गरेको पाइन्छ । शुल्क सहुलियत भएमा हुन्डी हट्नुका साथै मुलुकको कोषमा रकम बढ्नेछ ।

५. गैरआवासीय नेपाली संघ सरकारको एक मुख्य सहयोगी निकाय हो । वैदेशिक रोजगारीमा जाने कामदारको हितका पक्षमा काम गर्न सरकारको नेतृत्वमा वैदेशिक रोजगार परिषद्को स्थापना गर्न पहलकदमी लिनेछु । यसमा संस्थागत प्रतिनिधित्वका लागि काम गर्नेछु ।

६. नेपालको श्रम जनशक्ति नेपालकै आन्तरिक श्रम बजारमा खपत नभएसम्मका लागि वैदेशिक रोजगार विकल्प बनिराख्छ । नेपालीका लागि वैदेशिक रोजगार अवसर पनि हो । वैदेशिक रोजगारमा जानेमध्ये करिब ७५ प्रतिशत युवाले गन्तव्य मुलुकलाई आवश्यक पर्ने कुनै पनि सिपमूलक तालिम प्राप्त गरेका हुँदैनन् । सिपको अभावमा नेपाली कामदारले पाउने पारिश्रमिक उस्तै काम गर्ने अन्य मुलुकका कामदारको भन्दा कम छ । सीप नभएकै कारण कामदार अपमानित हुनुपर्ने, विभिन्न समस्यामा पर्ने तथा कार्यस्थल दुर्घटनामा पर्ने गरेको पाइन्छ । दक्ष सिपयुक्त कामदार उत्पादन गर्न सरकारसँग समन्वय गर्नेछु ।

७. वैदेशिक रोजगारीबाट पीडित कामदार तथा तिनका परिवारलाई प्रदान गरिने आर्थिक सहायताको प्रक्रियालाई सरलीकृत गरी स्थानीय तहमा नै सहज रूपमा प्राप्त गर्न सकिने गरी पहल गर्नेछु । गन्तव्य देशमा न्यायमा पहँुचका लागि एनआरएनका सदस्यहरूलाई अधिकतम परिचालन गर्नेछु ।

८. हरेक देशको आफ्नै कानुन छ । संस्कति छ । वैदेशिक रोजगारमा जाने नेपालीलाई देशगत हिसाबले प्रभावकारी रूपमा पूर्वप्रस्थान अभिमुखीकरण तालिम दिन जरुरी छ । व्यावहारिक अभिमुखीकरण तालिमका लागि देशगत पाठ्यक्रम तयार गर्न सरकारलाई सहयोग गर्नेछु ।

९. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सूचना केन्द्र छ । विश्वभरका नेपालीस“ग सम्बन्धित सूचना मन्त्रालयलाई दिइने व्यवस्था मिलाउनेछु । जसले नतिजा ल्याउन ठूलो सहयोग गर्नेछ ।

१०. वैदेशिक रोजगारीबाट फर्केका जनशक्तिको सिप तथा विप्रेषणलाई राष्ट्रको आर्थिक विकासमा टेवा पुग्ने र आन्तरिक रोजगारीको सिर्जना हुने गरी लगानी गर्न सामाजिक तथा आर्थिक पुनःएकीकरणका लागि प्रभावकारी कार्यक्रम ल्याइनेछ ।

११. सबै कागजातको प्रमाणीकरण र नवीकारण आदि ‘पेपेरलेस’ अनलाइनमार्फत् गर्न नेपाल सरकारका अध्यागमन विभाग, पररास्ट्र मन्त्रालय, गृह मन्त्रालय, श्रम मन्त्रालय र दूतावासलाई इन्टरलिंक गर्न पहल गर्नेछु ।

१२. सम्बन्धित देशमा रहेका दूतावासबाटै यथाशक्य पुनः श्रम स्विकृित दिलाउनेछु ।

१३. देश बाहिर रहेका ५० लाख नेपालीलाई विदेशबाटै मतदान गर्ने र शिक्षित वर्गलाई देशको नेतृत्व छान्ने अधिकारका लागि अध्ययन गरी लागू गराउन पूर्ण कोसिस गर्नेछु ।

१४. मध्यपूर्वको पहलमा चलाइएको अभियान वैदेशिक रोजगार राहत तथा उद्दार कोषको राशी प्रयोग र कार्यन्वयनमा आउन सकेको छैन । यसलाई कार्यान्वयन गर्ने÷गराउने छु । राहत कोषको कार्यान्वयनसँगै वैदेशिक रोजगारमा मृत्यु भएका तथा अङ्गभङ्ग भएकाहरूलाई राहत उपलब्ध गराउने प्रक्रियाको थालनी गरिनेछ । विदेशमा कोमामा रहेका नेपालीहरूको उद्दार गरी स्वदेशमै उपचार गराउने कार्यको पहल गर्नेछु ।

ख) पर्यटन
१. अतिथि देवोभवः कार्यदल र टुरिज्म बोर्डमार्फत् वार्षिक ३० लाख पर्यटक भ्रमण गराउने रणनीति अपनाइनेछ । त्यसका लागि खाडी राष्ट्रका धनाढ्यहरूलाई लक्षित गरी विशेष कार्यक्रम ल्याउने छु । ‘एक प्रवासी नेपाली एक पर्यटक’ लक्ष्यसाथ विश्वका सबै मुलुकहरूमा ‘वेलकम टु नेपाल’ अभियान चलाइने छ ।

२. नेपालको अध्यागमन विभागमा अरबिक भाषा बोल्ने सहजकर्ताका रूपमा कर्मचारीसहित छुट्टै डेस्क स्थापनामा पहल गरिनेछ । उनीहरूलाई भिसा लागत निःशुल्क गरी आकर्षित गरिनेछ ।

ग) लगानी
१. विदेशमा गैरआवासीय नेपालीको स–सानो बचतलाई एकाकार गरी नेपालको अनुहार फेर्न सक्ने क्षमता भएका परियोजनाहरूमा लगाइनेछ । त्यसो गर्न सकिएमा एकातिर त्यस्ता परियोजना कार्यान्वयन हुने र अर्कातर्फ नेपालमा स–साना पुँजीहरूको संग्रह गरी ठूलो परिमाणको पुँजीको आवश्यकता परिपूर्ति हुने प्रकारको पुँजी बजार विकासमा योगदान मिल्नेछ । यसका लागि हजारे अभियान सञ्चालन गरी पुँजी संकलन गरिनेछ । यसमा थोरैदेखि धेरै तलब खाने नेपालीको सहभागिता हुनेछ ।

२. विदेशबाट फर्केर स्वदेशमै सिप अनुसारको व्यवसाय गर्न खोज्नेलाई सहुलियत ऋण प्रदान गर्न सरकार र निजी बैंकहरूसँग समन्वय गरिनेछ ।

३. गैरलगानी प्रबद्र्धनका लागि सचिवालयभित्र नै एक लगानी सेवा इकाइको विकास गरिनेछ । उक्त इकाइले नेपालमा लगानीसम्बन्धी कानुन–नियमको जानकारी दिनुका साथै गैरआवासीय नेपालीहरूले चाहेको सेवा उपलब्ध गराउने संरचना निर्माण गरिनेछ ।

४. नेपाल राष्ट्र बैंकले गैरआवासीय नेपालीहरूलाई नेपालको बैंकमा विदेशी मुद्रामा खाता खोल्न सक्ने र आफूले चाहेको बेलामा सो रकम बाहिर लैजान पनि सक्ने व्यवस्था गरेको छ । यो स्वागतयोग्य व्यवस्था हो । संघका तर्फबाट नेपालमा गैरआवासीय नेपालीहरूलाई अल्पकालीन तथा दीर्घकालीन लगानी गर्न प्रोत्साहन गर्ने किसिमको नीति निर्माण गर्न र सो कार्यान्वयनका लागि तदारुकतासाथ काम गरिनेछ ।

५. गैरआवासीय नेपालीहरूको संलग्नतामा नेपाललाई विश्व बजार र विश्वको प्रचलित व्यावसायिक प्रणाली र प्रविधिसँग जोड्ने संरचना विकासमा जोड दिइनेछ । गैरआवासीय नेपालीहरूले नेपालमा लगानी गर्न खोज्दा आइपर्ने कठिनाइँ तथा प्रक्रियायागत झन्झट कम गर्न सरकारसँग सहकार्य गर्ने दरिलो माध्यमका रूपमा संघको विकास गरिनेछ ।

घ) सचिवालय
१. गैरआवासीय नेपाली संघको सचिवालयलाई स्वावलम्बी र सेवामूलक इकाइका रूपमा विकास गर्दै लैजानु अपरिहार्य छ । यसका लागि सचिवालयलाई पूर्ण व्यावसायिक बनाइनेछ ।

२. सचिवालयले अझैसम्म पनि संघका पदाधिकारी वा कुनै व्यक्तिको निर्देशनमा काम गर्ने गरेको आरोप लाग्ने गरेको छ । यस्तो आरोप नलागोस् भन्ने अभिप्रायले नीति निर्माण गर्ने कार्य निर्वाचित व्यक्तिहरूले गर्ने र निर्वाचित पदाधिकारी वा अन्तर्र्रािष्ट्रय समन्वय परिषद्को निर्णय र निर्देशनको अधिनमा रही स्वायत्त रूपले कार्यान्वयन गर्ने इकाइका रूपमा काम गर्ने सचिवलायको विकासमा जोड दिइनेछ ।

३. मूलत सचिवालयलाई दक्ष कार्यान्वयन निकायका रूपमा विकास गरिनेछ । यसलाई सेवा प्रदायकका इकाइका रूपमा विकास गर्दै लगिनेछ । मूलतः संघको प्राथमिकता निर्धारण गरी सोही प्राथमिकताका आधारमा सचिवालयले गर्ने काम र दिने सेवा दिन निर्धारण गरी सोही अनुसारको संरचना निर्माण गरिनेछ । संघको सचिवालयलाई अन्तर्राष्ट्रिय स्तरको बनाइनेछ ।

४. प्रत्येक क्षेत्रमा सचिवालयको काम र कार्य बोझ निर्धारण गरी सोहीअनुसार यसको संरचना बनाइनेछ । सचिवालयमा रहने कर्मचारीहरूको पद निर्धारण गरी प्रत्येकको कामको विवरण तयार पारिनेछ । उक्त कार्यविवरणका आधारमा आवश्यक ज्ञान र सिप निर्धारण गरी कर्मचारी छनोट र नियुक्ति गर्ने व्यवस्था मिलाइनेछ । प्रत्येक कर्मचारीलाई कार्य विवरण उपलब्ध गराई कामको मूल्यांकन गर्ने र त्यसैअनुसार सेवा सुविधा दिने प्रबन्ध गरिनेछ ।

५. गैरआवासीय नेपाली संघको संरचना विश्वव्यापी हुँदै गएको छ । यसमा राष्ट्रिय समन्वय परिषद्हरूसँगको समन्वय बढाउनु अति आवश्यक छ । त्यसैले राष्ट्रिय समन्वय परिषद्हरूसँग समन्वय गर्न र क्षेत्रीय संयोजकहरूलाई सघाउन संघको सचिवालयमा प्रत्येक क्षेत्रका लागि क्षेत्रीय इकाई वा विभाग स्थापना गरिनेछ । यस्तो इकाइ वा विभागले सम्बन्धित क्षेत्रका राष्ट्रिय समन्वय परिषद्हरूसँग समन्वय गर्ने र राष्ट्रिय समन्वय परिषद्हरूले अनुरोध गरेबमोजिम सेवा प्रदान गर्ने छन् । यस्ता इकाइमा राष्ट्रिय समन्वय परिषद्ले चाहेमा आफ्नै साधन स्रोत प्रयोग गरी छुट्टै कर्मचारीको व्यवस्था गर्न सक्ने व्यवस्था मिलाइनेछ । यसो भएमा अबका दिनहरूमा राष्ट्रिय समन्वय परिषद्लाई के कामका लागि कोसँग सम्पर्क गर्ने भन्ने समस्या हुने छैन ।

६. संघको प्रमुख काम सुरक्षित आप्रवासन पनि हो । यसका लागि आप्रवासनको विश्वव्यापी मान्यताको ज्ञान भएका, गैरआवासीय नेपालीहरूको आवश्यकता बुझ्ने र सेवा दिनसक्ने किसिमको ज्ञान सीप भएको कर्मचारीहरू भएको छुट्टै इकाइ बनाइनेछ । यस्तो इकाइमा आप्रवासन कानुन, आप्रवासनको आर्थिक, सामाजिक र मनोवैज्ञानिक पक्षसमेत बुझ्ने विशेषज्ञता भएका व्यक्तिहरू रहने छन् । त्यसलाई आप्रवासन सेवा प्रदायक इकाइका रूपमा विकास गरिनेछ ।

७. संघको अर्को प्रमुख काम भनेको लगानी प्रबद्र्धन हो । लगानीसम्बन्धी कानुनमा विशेषज्ञता भएका व्यक्तिको मातहातमा रहने गरी लगानी प्रबद्र्धन इकाइ व्यवस्था गरिनेछ ।

८. विश्व आधुनिक सूचना प्रविधिमय बनेको छ । संघलाई आधुनिकत्तम सूचना प्रविधिको प्रयोग गर्ने संस्थाका रूपमा विकास गरिनेछ ।
९. संघको वित्तीय अवस्थाबारे जानकारी सबै सदस्यलाई होस् भन्ने हेतुले प्रत्येक महिना संक्षिप्त वित्तीय विवरण र त्रैमासिक वित्तीय विवरणमा सबैको पहुँच हुने व्यवस्था मिलाइनेछ ।

अतः यसपटक पनि यहाँहरूले विगतको जस्तै आशा, भरोसा र विश्वास गर्नुहुनेछ भन्नेमा म विश्वस्त छु । मैले व्यक्तिगत स्वार्थ नभई सामूहिक हितका लागि काम गर्छु भन्ने प्रतिबद्धता व्यक्त गर्छु ।

डम्बरबहादुर (डिबी) क्षत्री
महासचिवको उम्मेदवार
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय समिति

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *