एनआरएन आइसीसी सचिवका उम्मेद्वार शर्माका ६ बूँदे प्रतिवद्धता

news-details

गैरआसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को आसन्न नबौ महाधिबेशन तथा नयाँ नेतृत्व चयनका लागि मध्यपुर्व संयोजक आर के शर्मा (राजेन्द्र कुमार शर्मा) ले सचिब पदमा ६ बूँदे प्रतिवद्धतासहित उम्मेदवारी घोषणा गरेका छन् ।

उनले सचिव पदमा उम्मेदवारीका ६ आधार भन्दै सुरक्षित, मर्यादित वैदेशिक रोजगार तथा श्रमिकका मुद्दालाई पहिलो प्राथमिकतामा राखेका छन् । त्यसैगरी रेमिट्यान्सको सही सदुपयोग र लगानी, स्वदेशमा पर्यटन प्रवद्र्धन तथा सामुहिक लगानी, एनआरएनमा सबैको साझा र समान स्वामित्व, भिजन २०२० एण्ड वियाण्ड लागु गर्न र विज्ञ तथा सीपयुक्त नेपालीको पहिचान गर्न भनेर शर्माले आफ्नो प्रतिवद्धतामा जनाएका छन् ।

एनआरएनए एनसीसी कतारको सल्लाहकार, आइसीसी सदस्य हुँदै मध्यपुर्व संयोजकको नेत्तृत्व कुशलतापूर्वक गरिरहेका शर्माले एनआरएन आइसीसी सचिव पदका लागि २०१९–०२१ कार्यकालका लागि सचिब पदको उम्मेदवारी घोषणा गर्दै मध्यपुर्वमा रहेका नेपालीहरु नेत्तृत्व गदै उम्मेदवारी दिएका छन् ।

विगतमा उठाएका मुद्धालाई सरकारले केही हदसम्म सम्बोधन गरेको भएता पनि केही मुद्धा कार्यान्वयनमा ल्याउनका आफ्नो उम्मेदवारी भएको उनले बताएका छन् । स्वास्थ सुरक्षा तथा सचेतना कार्यक्रम देखि घरेलु कामदारको रुपमा आउने महिलाहरुले झेल्नु परेको समस्याहरुलाई निराकरण देखि दुताबास बाटै श्रम स्वीकृति दिलाउने सम्मका कार्यहरुलाई मुर्तरुप दिन उनले जोड दिएका छन् । विदेशबाट लगानी तथा पर्यटन नेपाल भित्र्याउन पहल गर्दै आएका शर्मा सम्पुर्ण एनआरएनका अभियान्तहरुको रोजाईमा पर्ने गरेका छन् ।

कतार लगायत विभिन्न देशहरुमा सफल ब्यावसाय गर्दै आईरहेका शर्मा मध्यपुर्वका खाडी राष्ट्रहरुमा श्रमिक नेपालीहरुको माझमा निकै लोकप्रिय समेत रहेका छन् । एनआरएनको अभियानमा उनको उम्मेदवारी सगै अर्थपुर्ण रुपमा समेत हेरिएको छ ।

सचिवको उम्मेदवारीका बारेमा शर्मा भन्छन्–‘ नेपालीको दुःखमा मल्हम लगाउन वा भएका संभावनाहरु राष्ट्र विकासमा लगाउनका साथै आगामी कार्यकालमा एनआरएन अभियानमा अझ सशक्त रुपमा भुमिका खेल्ने अभिप्रायले एनआरएन आइसिसि सचिवको उम्मेदवारी दिने निर्णय गरेको छु ।’

मध्यपूर्व संयोजक रहेका शर्मा हिजोका दिनमा एनआरएनका नागरिकताको निरन्तरता लगायत धेरै मुद्दाहरु मध्यपूर्वले संगसंगै काँधमा बोकेर सफल पारेको हुँदा अव मध्यपूर्वका मुद्धा आइसीसीले पहिलो प्राथमिकतामा राख्नु पर्ने औल्याउँछन् । अव मध्यपूर्व र मलेसियाका समस्याहरुलाई समाधान गर्नको लागि विश्वको ध्यान जानु पर्ने शर्मा बताउँछन् ।
आज मध्यपूर्वमै बसेर जसले समस्या भोगिरहेको छ, उसले मात्र सबैको बुझेको हुँदा एक पटक एनआरएन आइसीसी सचिव पदमा सहयोग गर्न उनले आग्रह गरेका छन् ।

शर्माका प्रतिवद्धता :

१) सुरक्षित, मर्यादित वैदेशिक रोजगार तथा श्रमिकका मुद्दा : वैदेशिक रोजगारमा रहेका मध्यपूर्व, मलेसिया, दक्षिण कोरिया, जापान लगायतका देशमा रोजगार गर्ने कामदारका मुद्दा पहिलो प्राथमिकतामा राख्न मेरो उम्मेदवारी हो । आज देशको अर्थतन्त्र धान्ने श्रमिकहरुको समस्यालाई नजिकबाट बुझेकाले उहाँहरुको मुद्दा एनआरएनको सर्वाधिक महत्वको विषय हुनुपर्छ भन्नेमा मेरो जोड रहनेछ । सुरक्षित वैदेशिक रोजगार बनाउन तथा समस्यामा परेकाहरुको सहयोगका लागि सरकारसँगको सहकार्यमा छुट्टै कोष स्थापना गरी पीडितलाई तत्काल सहयोग गर्नका लागि । थप श्रम बजारलाई विस्तार गर्नका साथै स्वास्थ्य सुरक्षा तथा जनचेतनाका कार्यक्रम संचालन गर्न मेरो उम्मेदवारी । रेमिट्यान्स पठाउने श्रमिकहरुको इज्जत बढाउन पनि मेरो उम्मेदवारी हो ।

२, रेमिट्यान्सको सही सदुपयोग र लगानी : मध्यपूर्व, मलेसिया, जापान र कोरियाका समस्या तथा संभावना लगभग एउटै किसिमका छन् । आज म जस्ता युवाहरुले विदेशमा पसिना बगाएर पठाएको रेमिट्यान्स ६० प्रतिशत भन्दा धेरै रकम अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ । हामीहरु अबको १०÷१५ बर्षपछि दीर्घ रोगसँगै अशक्त भएर फर्किदा औषधीउपचार लगायतका खर्चको पनि कसरी जोहो गर्ने भन्ने स्थिति बन्दै छ । यि विभिन्न विषयलाई सम्बोधन गरेर हामीले पठाएको रेमिटेन्सलाई उत्पादनमुलक क्षेत्रमा लगाउनु मेरो प्राथमिकता हुनेछ । सरकारले आफु ग्यारेण्टी बसेर रेमिट्यान्समार्फत भित्रिएको रकम लगानी गर्ने वातावरण बनाउनु आवश्यक छ । अनुत्पादक क्षेत्रमा भइरहेको खर्च कटौती गर्दै राष्ट्र विकासमा बैदेशिक रोजगारीले ठोस योगदान पु¥याउने वातावरण बनाउनु मेरो प्राथमिकता हो ।

३) स्वदेशमा पर्यटन प्रवद्र्धन तथा सामुहिक लगानी :पर्यटकहरुलाई नेपाल भित्राउनका लागि प्रोत्साहन गर्न आवश्यक भूमिका खेल्नेछु । पर्यटन सम्बन्धी विशेष दख्खल राखेका गैर आवासीय नेपाली विज्ञहरुलाई समेटेर विशेष कार्यदल गठन गरी एनआरएन अभियान अन्तर्गत नै पर्यटन प्रवद्र्धनका लागि विशेष कार्यक्रमहरु संचालन गर्नतिर दत्तचित्त भएर लाग्नेछु । साथै विदेशी लगानी नेपाल भित्र्याउन एनआरएन मार्फत विशेष पहल गर्नेछु । सामुहिक लगानी ल्याउन मेरो विशेष जोड रहनेछ । नेपाल पर्यटन बर्ष २०२० लाई सफल बनाउन विभिन्न कार्यक्रम ल्याउनेछु ।

४) एनआरएनमा सबैको साझा र समान स्वामित्व : अहिले भन्ने गरिन्छ एनआरएन धनीहरुको मात्रै संस्था हो तर यो एनआरएन धनीहरुको संस्था होइन सम्पुर्ण विदेशमा रहनुभएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको काटेको घाउमा मल्हम लगाउने उद्देश्यले स्थापना गरिएको हो र अहिले पनि यो यथावत छ । चाहे मध्यपूर्वमा नेपालीलाई समस्या होस् चाहे अफ्रिकामा नेपाली चेली परिबन्दमा पर्दा, चाहे विश्वकै कुनै कुनामा नेपालीले दुख पाउँदा एनआरएन सधै निस्वार्थ रुपमा खट्नु पर्छ । यसमा मेरो भूमिका अग्रपंक्तिमा रहनेछ । भावनात्मक एकतासहितको बलियो संगठन बनाउन पहल गर्नेछु भने एनआरएन सबैको साझा र समान स्वामित्व बनाउन मेरो पहल रहनेछ ।

५) भिजन २०२० एण्ड वियाण्ड लागु गर्न : भिजन २०२० एण्ड वियोण्ड पारित भइसकेको छ । एनआरएनको विकासका लागि यो कार्यक्रम लागु गराउन जरुरी छ । यसबाट एनआरएनको संस्थागत विकासमा टेवा पुग्नेछ । एनआरएन स्थापनाको लामो समय बित्दा समेत धेरै विषयहरु संस्थागत हुन वाँकी छन् । सचिवालयमा दिगो आर्थिक ब्यवस्थापका लागि नियमित स्रोतको जोहो गर्नु जरुरी छ । जसबाट हाम्रा कामकारवाहीलाई थप प्रभावकारी बनाउन सकियोस् । नागरिकताको निरन्तरता, यसतर्फ मैले ठोस प्रयास गर्नेछु ।
६, विज्ञ र सीपयुक्त नेपालीको पहिचान गर्न : आज गैरआवासीय नेपालीहरु विदेशमा दक्ष काम गरिरहनु भएको छ । तर, नेपालमा ठूला ठूला परियोजनामा विदेशबाट इन्जिनियर तथा दक्ष कामदारले काम गरिरहेका छन् । नेपालीहरुले त्यो भन्दा राम्रो काम गर्न सक्छन् । तर हामीहरुले सीपको पहिचान र क्षमता अभिवृद्धी गर्न नसकिरहेको अवस्था छ । भोलिका दिनमा नेपाली दक्ष कामदारहरु विदेशमा होइन नेपालमा नै खपत हुने वातावरण बनाउन मैले विशेष पहल गर्नेछु ।

माथि उल्लेखित बुंदाहरु मेरा प्राथमिकतामा परे पनि तत्कालिन अवस्थामा आइपर्ने सबै काममा मेरो सक्रिय भूमिका रहनेछ । एनआरएनए अभियानमा काम गर्ने मेरो अभिप्रायलाई एनआरएनए आईसीसी सचिवको भूमिकामार्फत पूरा गर्ने अवसरका लागि यहाँहरु सबैमा हार्दिक अनुरोध गर्दछु । अन्तमा तपाइको सद्भाव, सहयोग र सुझाव नै मेरो लागि अमूल्य नीधि हुन्, त्यसकै बलमा एनआरएन अभियानलाई अझ उचाईमा पु¥याउन सधै प्रतिवद्ध रहनेछु ।

धन्यवाद सहित
आरके शर्मा (राजेन्द्रकुमार शर्मा)
उम्मेदवार सचिव (२०१९—२०२१)
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *