एनआरएनए मध्यपूर्व क्षेत्रीय उपसंयोजकमा साउदीबाट अर्यालको मात्र उम्मेदवारी

news-details

गैर आवासीय नेपाली संघ एनआरएनएको मध्यपूर्व क्षेत्रीय सहसंयोजकमा अहिलेसम्म साउदी अरवबाट राजेन्द्र अर्याल (जोन) ले उम्मेदवारी घोषणा गरेका छन् ।

‘सुरक्षित, मर्यादित वैदेशिक रोजगार र श्रम मैत्री अभियान हाम्रो सरोकार’ भन्ने मुल नारासहित संघको आगामी कार्यकालका लागि मध्यपूर्व क्षेत्रीय उपसंयोजकमा अर्यालले उम्मेदवारी घोषणा गरेका हुन्।

उनले संघको वर्तमान कार्यसमितिमा साउदी अरबको प्रतिनिधित्व गर्दै आईसीसी सदस्य तथा वैदेशिक रोजगार आप्रवासी कामदार कल्याण समितिको मध्यपूर्व सहसंयोजकको जिम्मेवारी सम्हाल्दै आएका छन्।

पाल्पामा घर भएका अर्यालले आफू ‘सेवा नै धर्म हो’ भन्ने भावनाबाट प्रेरित भएर साउदीमा एनआरएनए स्थापना हुनु अगावै पनि विदेशमा बस्ने नेपालीका समस्यामा हातेमालो गर्दै आएको बताउँछन् । व्यक्तिगत तवरले भन्दा समुहगत सहभागिताको अलगै महत्व र प्रभाव पर्ने भएकाले एनआरएनएमा सन् २०१३ देखि आबद्ध भएर हालसम्म निरन्तर लागिरहेको उनको भनाई छ । उनले संस्थामा काम गर्दा सधैं ‘कम गर्नु, फलको आशा नगर्नु’ भन्ने मान्यतालाई आत्मसात गरेको बताए।

साउदी अरबमा विगत २० वर्षदेखि व्यवसाय गर्दै आएका अर्याल मध्यपूर्वमा गैरआवासीय नेपाली तथा नेपाली कामदारहरुमाझ परिचित व्यक्ति हुन । गैरआवासीय नेपाली संघका क्रियाकलापदेखि आप्रवासीका समस्या र सामाजिक क्रियाकलापमा सक्रिय रहँदै आएका उनले एनआरएन अभियानमा एक सशक्त अभियन्ताको छवी बनाएका छन्।

उनले विदेशमा बस्ने नेपालीहरूमा सबैभन्दा ठूलो समस्या भनेको मध्यपूर्वमा काम गर्ने श्रमिकको भएकोले मध्यपूर्वी देशहरूमा नेपालीहरूले भोग्दै आएका समस्या समाधानमा आफूले महत्वपूर्ण भूमिका खेल्नेसमेत प्रतिबद्धता गरेका छन्।

अर्यालले सिङ्गो एनआरएनएको ध्यान नेपालमा सबैभन्दा धेरै रेमिट्यान्स भित्रिने क्षेत्र मध्यपूर्वमा केन्द्रित गर्न तथा त्यस क्षेत्रका नेपालीका सम्पूर्ण समस्या र कामदारहरूको नियमित र उचित पारिश्रमिक, उनीहरूको सामाजिक सुरक्षाका विषयलाई संस्थागतरूपमा उठाउन आफूले उम्मेदवारी दिएको बताएका छन्।

मध्यपूर्वी देशहरूमा आएर नेपालीहरूले प्राप्त गरेको ज्ञान, सीप, क्षमता र अनुभवलाई नेपाल र नेपालीको हितमा जोड्ने कामलाई परिणाममुखी बनाउने उनले प्राथमिक एजेन्डाका रूपमा अगाडि ल्याएका छन्।

‘प्रवासमा आर्जन गरेको सीप र पूँजीलाई एनआरएन अभियान मार्फत देशमा लगानी गर्न र गराउन म अगाडि आएको छु,’ अर्यालले भने।

त्यस्तै अर्यालले वैदेशिक रोजगारको प्रमुख गन्तव्य मानिने मध्यपूर्वी देशहरुलाई सुरक्षित, मर्यादित तथा सम्मानित बनाउन स्थानीय सरकारसँग नेपाली दूतावासको साथ लिई सहकार्य गर्ने, वैदेशिक रोजगारको प्रमुख ठगी स्थानीय स्तरबाट विस्थापित गर्न तथा बिचौलियाहरूको अन्त्य गर्नका लागि नेपाल सरकार, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार महासंघ तथा सम्बन्धित सबै निकायसँग छलफल तथा सहकार्य गर्ने जस्ता योजनालाई पनि प्राथामिकतामा राखेका छन्।

संघको नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशन आगामी अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुँदैछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *