एनआरएनए आइसीसीको कोषाध्यक्षमा जापानबाटै दुई जनाको दावी, थापा र श्रेष्ठले गरे उम्मेदवारीको घोषणा

news-details

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको कोषाध्यक्ष पदका लागि जापानबाट वर्तमान युवा संयोजक सुदन थापा र आइसीसी सदस्य महेश श्रेष्ठले आ–आफ्नो उम्मेदवारी घोषणा गरेका छन । संघको यही अक्टोवरमा हुने विश्वसम्मेलनले चुन्ने नयाँ नेतृत्वका लागि एउटै पदमा जापानबाट २ जनाको उम्मेदवारी घोषणा भएको हो ।

वर्तमान युवा संयोजकसमेत रहेका सुदन थापाले लामो विदेश बसाइ, भोगाई तथा निरन्तर सामाजिक सक्रियताबाट सिकेका ज्ञान, सिप र अनुभबलाई गैरआवासीय नेपाली अभियानमा लगाउने दृढतासहित आफुले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन ।

‘गैरआवासीय नेपाली अभियानमा लामो समयदेखि विभिन्न जिम्मेवारीमा रहेर काम गरेको अनुभव प्रयोग गर्दै संस्थालाई थप उत्तरदायी, पारदर्शी र जिम्मेवार बनाउदै लैजान कार्ययोजना पुरा गर्ने क्षमतासहित कोषाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु र यहाँहरुको साथ, सहयोग र सल्लाहको अपेक्षा राखेको छु’ थापाले भने ।

एनआरएनए एनसीसी जापानको कार्यसमिति सदस्य, उपाध्यक्ष, अध्यक्ष हुँदै आइसीसीको युवा प्रतिनिधी हुदै थापा अहिले युवा संयोजकको जिम्मेवारीमा छन ।

यस्तै जापानबाटै लामोसमयदेखि गैरआवासीय नेपाली अभियानसँगै वित्तिय क्षेत्रमासमेत संलग्न आइसीसी सदस्य महेशकुमार श्रेष्ठले आफ्ना कार्ययोजना र एजेण्डासहित आइसीसी कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन । सिटी एक्सप्रेस ग्रुपसँग आवद्ध रहेका श्रेष्ठले आफुले कोषाध्यक्षको जिम्मेवारी पाए गैरआवासीय श्रमिक कल्याण कोषको स्थापना गरी उक्त कोषमा वार्षिक ८ करोड रुपैया संकलन गर्ने प्रतिवद्धतासमेत जाहेर गरेका छन ।

‘एनआरएनएको एउटा जिम्मेवार सदस्यको नाताले यो अभियानलाई थप अगाडि बढाउन तथा संस्थामा आम्दानीको श्रोतहरु जुटाउने, अनावश्यक खर्च कटौती गरी मितब्ययिता अपनाउने, आम्दानी र खर्चको सन्तुलन मिलाउने जस्ता नितान्त आर्थिक व्यवस्थापनका लागि लामोसमयसम्म फाईनान्सियल सेक्टरमा काम गरेको अनुभवलाई सही रुपमा उपयोग गर्ने अठोटसहित कोषाध्यक्ष पदमा दावेदारी प्रस्तुत गरेको हुँ’ श्रेष्ठले भने ।

आइसीसी सदस्य श्रेष्ठले एनआरएनए आइसीसीको नेपालको संविधानमा एनआरएनको अधिकार सम्वन्धी समितिको संयोजक, एनआरएन विधान संशोधन तथा नियमावली निर्माण सुझाव समितिको क्षेत्रीय संयोजक, व्यापार तथा लगानी प्रवद्र्धन समितिको सहसंयोजकको जिम्मेवारी कुशलतापूर्वक निभाइरहेका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *