गैरआवासीय नेपाली संघ (एनआरएन) मलेसियाले पाँचथरको मिक्लाजुङमा भएको हत्याकाण्डमा बाँच्न सफल बालिका सीता खुजुमलाई आर्थिक सहयोग प्रदान गरेको छ । एकै परिवारका ९ जनाको हत्या हुँदा सीताले भागेर ज्यान जोगाएकी थिइन् ।

एनआरएन मलेसियाले ‘एक एनआरएन एक परोपकारी योजना’ अन्तर्गत रु एक लाख रुपैया आर्थिक सहयोग सोमबार काठमाडौंमा सीताकी आमा बुद्धमाया खुजुमलाई प्रदान गरेको हो । एनआरएन मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपाने, सल्लाहकार योगेन्द्र कुँवर, सदस्य रामचन्द्र नेपालले संयुक्तरुपमा उक्त रकम सीताकी आमालाई हस्तान्तरण गरेका हुन् ।

एनआरएन मलेसियाको पाँचथरमा बाँचेकी सीता खुजुमलाई आर्थिक सहयोग

आर्थिक सहयोग बुझ्दै आमा बुद्धमायाले परिवारको हत्यारा पत्ता लगाउन सरकारलाई आग्रह गर्दै सुनसरीमा बस्दै आएकी छोरीको शिक्षादिक्षाका लागि पैसा खर्च गर्ने बताइन् । उनले भावुक हुँदै भनिन्–‘घटना सम्झन सक्दिन, हत्यारालाई जसरी भए पनि कारवाही होस् ।’

एनआरएन मलेसियाले नेपालकै दर्दनाक हत्याकाण्डबाट ज्यान बचाउन सफल बालिकालाई केही राहत मिलोस् भनेर सहयोग गरिएको अध्यक्ष न्यौपानेले बताए । एनआरएन मलेसियाका सल्लाहकार कुँवरले सहयोग रकम सानो भएता पनि छोरीका निम्ति नै खर्च गर्न आमालाई आग्रह गरे ।

विदेशमा बस्ने नेपाली तथा विभिन्न संघसंस्थाले स्वदेशमा रहेका पीडितहरुका घाउमा मल्हम लगाउने काम गरिरहेका हुन्छन् ।