एनआरएन युरोप बैठक : नेपालमा लगानी र पर्यटन बढाउन जोड

आइतवार रोम घोषणापत्र जारी गर्दै बैठक सकिने
news-details

गैरआवासीय नेपाली संघ (एनआरएन) युरोप क्षेत्रीय बैठक इटालीको राजधानी रोममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उद्घाटन गरेपछि औपचारिक शुभारम्भ भएको छ ।

एनआरएन युरोपका अध्यक्ष शिव बरुवालको अध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथिको रुपमा काँग्रेस नेता डा शेखर कोइराला, संस्कृति पर्यटन तथा नागरिक उडययन मन्त्रालयका सचिव मोहन कृष्ण सापकोटा, युरोपमा रहेका विभिन्न देशका राजदूतहरु अष्ट्रियाका लागि प्रकाश कुमार सुवेदी, बेल्जियमका लागि लोकबहादुर थापा, डेनमार्कका लागि युवनाथ लम्साल, फ्रान्सका लागि दीपक अधिकारी, जर्मनीका लागि रमेश प्रसाद खनाल, रसियाका लागि ऋषिराम घिमिरे, स्वीट्जरल्याण्डका लागि तीर्थराज घिमिरे, स्पेनका लागि हिराकान्त पौडेल, बेलायतस्थित नेपाली दूतावासका द्धितीय सचिव लव सुवेदी, प्रदेश नम्बर १ का बसन्त बानियाँको सहभागिता रहेको छ ।


यस्तैगरी एनआरएन अध्यक्ष भवन भट्ट, पूर्वअध्यक्षहरु उपेन्द्र महतो, जीवा लामिछाने, शेष घले, संरक्षक रामप्रताप थापा, भिजिट नेपाल २०२० का संयोजक सुरज बैद्य, होटल एसोशिसन अफ नेपाल हानका अध्यक्ष श्रृजना राणा, उपाध्यक्षद्वय कुमार पन्त, कुल आचार्य, महासचिव बद्री केसी, सल्लाहकार हेमराज शर्मासहित एनआरएनका विभिन्न तह र तप्का नेताहरुका साथै सञ्चारकर्मीहरुको सहभागिता रहेको छ ।

‘एनआरएनए यूरोपको उद्देश्य देश विकासको लागि लगानी र पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य’ भन्ने मुल नाराका साथ आयोजित बैठकको मुख्य एजेण्डा लगानी र पर्यटन प्रवर्द्धन रहेको छ ।


यसैगरी नेपालमा लगानीका लागि उपयुक्त वातावरण बनेको सन्देश प्रवाह गर्नुका साथै सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० को प्रचारप्रसार गर्नेपनि उद्देश्य रहेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सरकारले अघि सारेको सुखी नेपाली समृद्ध नेपालको नारालाई मूर्तरुप दिन विदेशी लगानी अपरिहार्य रहेको बताएका छन् ।
स्वदेशी पुँजीले मात्रै देश विकास सम्भव नभएको भन्दै उनले लगानीका लागि विदेशी लगानीकर्ता र गैरआवासीय नेपाली संघ( एनआरएन) सँग आह्वान गरे ।

शनिबार एनआरएन युरोप क्षेत्रको १२ औं बैठकको उद्घाटन सत्रलाई इटालीको रोममा सम्बोधन गर्दै ढकालले नेपालको समृद्धि र विकासको अभियानमा सरकारले एनआरएनसँग सहकार्य गरेरअघि बढ्न चाहेको पनि बताए ।

‘स्वदेशी पुँजीले मात्रै समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य हाँसिल गर्न सकिँदैन’ ढकालले भने, ‘यसमा एनआरएनको भूमिका सहयोगी हुन्छ । लगानीमात्रै नभएर विदेशमा सिकेको सिप र ज्ञान पनि नेपालको विकासका लागि उपयोगी हुन्छ ।’कृषि, ऊर्जा, पर्यटन र पूर्वाधार लगायतका क्षेत्रमा नेपालमा लगानीको पर्याप्त सम्भावना रहेको पनि उनले बताए ।

यस्तै काँग्रेस नेता डा शेखर कोइरालाले प्राप्त उपलब्धिको रक्षाका लागि गैरआवासीय नेपालीले पनि दवाव दिनु जरुरी रहेको बताए । उनले अब सरकारमा रहेकाहरु निःस्वार्थरुपमा आर्थिक र सामाजिक विकासमा होमिने बेला आएको पनि बताए ।

कार्यक्रममा एनआरएन अध्यक्ष भवन भट्ट, पूर्वअध्यक्षहरु उपेन्द्र महतो, जीवा लामिछाने, शेष घले, पर्यटन सचिव मोहन कृष्ण सापकोटा,स्वीटरल्याण्डका लागि नेपाली राजदूत तीर्थराज घिमिरेलगायतले एनआरएनको महत्व र नेपालको विकासमा संघले खेल्नसक्ने भूमिकाका विषयमा चर्चा गरेका थिए ।

बैठकमा विश्वभरका एनआरएन नेताहरुको सहभागिता रहेको एनआरएन युरोपका अध्यक्ष शिव कुमार बरुवालले जानकारी दिए ।
शुक्रबारदेखि सुरु भएको एनआरएन युरोप क्षेत्रीय बैठकको औपचारिक उद्घाटन इटालीको राजधानी रोममा शनिबार गरिए पनि आइतवार रोम घोषणापत्र जारी गर्दै सकिने छ ।

From : Nepalbritain.com

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *