एनआरएनए एनसीसी कतारको अध्यक्षमा मुक्तदा र कटुवालको उम्मेदवारी दर्ता, चुनावी रौनकता तात्तियो

news-details

गैरआवासीय नेपाली संघ कतारको आगामी अगष्ट २३ तारिखमा हुने महाधिबेशनले छान्ने नयाँ नेतृत्वका लागि मोहम्मद मुक्तदा मुसलमान र तेज कटुवालले उम्मेदवारी दर्ता गराएका छन् । दुवै जनाले शुक्रवार एनआरएनए कतारको निर्वाचन समितिमा आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

निर्वाचन समितिका अनुसार शुक्रवार अध्यक्षका लागि मुक्तदा र कटुवाल दुई जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा उम्मेदवारी दर्ता गराए लगत्तै दुवै जना आ–आफ्नो विजयी निश्चित भएको दावीसहित मैदानमा उत्रिएका छन् ।

अहिलेसम्मकै सबैभन्दा धेरै ४ हजार ४ सय ६५ जना पञ्जिकृत सदस्य बनाएको एनआरएनए एनसीसी कतारमा उम्मेदवारी दर्ता सकिएसँगै चुनावी रौनकता ह्वात्तै बढेको छ ।

अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजका अध्यक्ष तथा एनआरएनए कतारका सल्लाहकार रहेका मुक्तदालाई नेकपा पार्टीको समर्थन रहेको छ भने एनआरएनएको प्रथम उपाध्यक्ष रहेका कटुवाले भने आफुलाई स्वतन्त्र उम्मेदवारको रुपमा प्रस्तुत गरेका छन ।

मुक्तदाले बिहीबार नै एक कार्यक्रमको आयोजना गर्दै अध्यक्षको उम्मेदवारी घोषणा गरेका थिए भने कटुवालले भने सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका थिए ।

कतारमा व्यवसाय गरिरहेका मुक्तदा अघिल्लो कार्यसमितिमा पनि अध्यक्षका उम्मेदवार थिए । उनी यस पटक अघिल्लो पटकको हारलाई बदलेर एक पटक एनआरएनए एनसीसी कतारको नेतृत्व सम्हाल्न चाहन्छन् । रोजगारमञ्चसँगको कुराकानीमा उनले भने –‘सामाजिक काम गर्नका लागि हरेक कुरा दिन सक्नुपर्छ, त्यसका लागि म तयार भएर आएको छु र सबैको समर्थन पाउनेमा पनि विश्वस्त छु ।’ उनी आफ्नो पक्षमा बहुमत सदस्य रहेको दावी गर्दछन् ।

यता कटुवालले भने वर्तमान कार्यसमितिमा एनआरएनएको प्रथम उपाध्यक्ष रहदा कयौ पटक कार्यबाहक अध्यक्षको पद सम्हालिसकेका छन् । अघिल्लो कार्यकालमा सदस्य हुदा पनि उनले पटक पटक कार्यवाहक महासचिवको पद सम्हाल्ने मौका पाएका थिए । उनी एनआरएनए एनसीसी कतारको कार्यसमितिमा अहिलेसम्म निभाएको जिम्मेवारी र प्राप्त गरेको कार्यानुभवले आफु अध्यक्षको लागी योग्य भएर नै अघि सरेको दावी गर्छन । कतारमा कामदारकारुपमा २ दशकदेखि कार्यरत रहेका कटुवालले रोजगारमञ्चलाई भने –‘मजदुर तथा कामदारको पीडा र समस्यालाई कामदारले नै बुझने हुँदा मेरो उम्मेदवारी स्वभाविक हो । कतारका अधिकांश पञ्जिकृत सदस्यहरु, संघसंस्था, कार्यसमिति पदाधिकारीहरुको समर्थन पनि मलाई नै छ ।’

यस्तै अध्यक्ष पदको उम्मेदवारीसँगै एनआरएनए कतारको कार्यसमितिका अन्य पदमा पनि उम्मेदवारी दिने क्रम जारी रहेको छ ।

एनआरएन अभियानका धेरै अभियान्ता र नेताहरु जन्माइसकेको एनआरएनए एनसीसी कतारमा नेतृत्वका लागि खाडी मुलुकहरुमध्ये बढी रस्साकस्सी चल्ने गरेको छ । यहाँका अभियान्ताहरुले पटक पटक आइसीसीको कार्यसमितिमा विभिन्न पदमासमेत सक्षम नेतृत्व दिइसकेका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *