कतारमा एनआरएनए एनसीसीको अधिबेशनले गर्माएको माहोल

नेतृत्वका लागि मुक्तदा र कटुवालका समर्थक कै घम्साघम्सी !
news-details

विश्वभर सञ्जाल रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद (एनसीसी)का अधिबेशन धमाधम हुन थालेका छन् । केही देशहरुले नयाँ नेतृत्व चयन गरिसके भने केहीलाई नेतृत्व चयनको चटारो छ । एनआरएनएको इतिहाँस बोकेको देश कतारमा भने महाधिबेशनको माहोल गज्जवले तातेको छ ।

एनआरएनए कतारले आगामी अगष्ट २३ तारिखमा महाधिबेशन तथा नयाँ नेतृत्वको चयन गर्दैछ । निर्वाचनको मिति आइनपुग्दै अहिले कतार एनआरएनमय भएको छ । हुन त कतारमा ४ लाख भन्दा बढि नेपाली कार्यरत रहेको अनुमान छ, सबैमा एनआरएनएप्रति चासो नभएता पनि समाजका अगुवाहरुलाई भने चुनावी माहोलले छोपेको छ । आफ्नो पक्षमा माहोल बनाउन र आफ्नो मान्छे नेतृत्वमा ल्याउनका लागि अहिले कतारमा घम्साघम्सी नै शुरु भैसकेको छ ।

सामाजिक सञ्जालमा मात्र होइन हरेक कार्यक्रम र मिटिङमा एनआरएनएको चुनावको विषय नै मुख्य प्राथमिकतामा पर्न थालेको छ । त्यती मात्र होइन अहिलेसम्म कै सबैभन्दा धेरै पञ्जिकृत सदस्य पनि यस पटक कतारले बनाउन सफल भएको छ । यस अधिवेशनका लागि ४ हजार ४ सय ६५ जनाले एनआरएनएको सदस्यता लिएको एनआरएनए एनसीसी कतारले जानकारी दिएको छ । यति धेरै मतमध्ये धेरै भन्दा धेरै सदस्य आफ्नो पक्षमा पार्नका लागि अहिले जोडघटाउको खेल भइरहेको छ ।

मुक्तदा र कटुवालको चर्चा, समर्थकको लडाई

एनआरएनए कतारको नेतृत्व गरिरहेका नविन पोखरेल कार्यसमितिको कार्यकाल सकिदैछ । नयाँ नेतृत्वका लागि अहिलेसम्म दुई जनाले खुलेर दावी गरिरहेका छन् । अघिल्लो चुनावमा अध्यक्ष पदमा नै पराजय भोगेका मोहम्मद मुक्तदा मुसलमान र एनआरएनए कतारका प्रथम उपाध्यक्ष तेज कटुवालले आगामी नेतृत्वका लागि दावी गरिरहेका छन् । महत्वपूर्ण त के छ भने दुवै जना नेकपा समर्थित हुन् ।

मुक्तदा अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजका अध्यक्ष हुन् । उनी अहिले एनआरएनए कतारको सल्लाहकारको जिम्मेवारीमा छन् । नेकपा पार्टीमा राम्रो पहुँच बनाएका मुक्तदामा एनआरएनए एनसीसी कतारको २०१७–१९ कार्यसमितिको सचिवालय सदस्यमा बसेर काम गरेको अनुभव छ ।   उनमा संस्थालाई आइपर्दा आर्थिक तथा नैतिक सहयोग गर्न सक्ने सामथ्र्य छ । कतारमा व्यवसाय गरिरहेका मुक्तदा यस पटक अघिल्लो पटकको हारलाई उल्टाएर एक पटक एनआरएनए एनसीसी कतारको नेतृत्व सम्हाल्न चाहन्छन् । उनले रोजगारमञ्चलाई भने –‘ सामाजिक काम गर्नका लागि हरेक कुरा दिन सक्नुपर्छ, त्यसका लागि म तयार छु र तयारीका साथ नै अघि बढेको हुँ ।’ उनी आफ्नो पक्षमा बहुमत सदस्य रहेको दावी गर्दै यसपटक नेतृत्वको जिम्मेवारी आफैले पाउनेमा विश्वस्त रहेको बताउछन ।

यता कटुवाल भने एनआरएनएको प्रथम उपाध्यक्ष भएकै बेला कयौ पटक कार्यबाहक अध्यक्षको पद सम्हालिसकेका छन् । त्यसअघिको कार्यकालमा पनि सदस्य हुँदै कार्यबाहक महासचिव भएर काम गरेका कटुवाल अध्यक्षका दरिलो दावेदार हुन् । एनआरएनएमा रहेर कमाएको अनुभवलाई एक कार्यकाल अध्यक्ष भएर सेवा गर्ने धोको रहेको उनको भनाई छ । कटुवाल कतारमा कामदारका रुपमा नै झण्डै दुई दशकदेखि कार्यरत छन् । उनी रोजगार मञ्चलाई भन्छन् –‘मजदुर तथा कामदारको पीडा र समस्यालाई कामदारले नै बुझ्छ यसैले आगामी नेतृत्वका लागि मेरो दावेदारी हो ।’ उनी पनि कतारमा रहेका अधिकांश संघसंस्था र अग्रजको साथ रहेकोले नेतृत्व आफैले पाउनेमा ढुक्क रहेको दावी गर्दछन् ।

मुक्तदा र कटुवाल दुवै अध्यक्षका आकांक्षी भए पनि को चै उम्मेदवार बन्छ भन्ने अझै टुङगो लाग्न सकेको छैन । दुवै नेकपा समर्थित भएकाले पार्टीले कसलाई उम्मेद्वार बनाउँछ भनेर सबैले कुरिरहेका छन् । पार्टीले चाँडो निर्णय नगरिदिदा सबैलाई सकस परेको छ ।

कतारमा रहेका एनआरएनका अगुवा तथा पार्टीका नेतृत्व तहले कसैले मुक्तदा र कसैले कटुवाललाई समर्थन गरिदिदा महोल गर्मिएको हो । एकाथरीले मुक्तदालाई जसरी पनि अध्यक्षको उम्मेदवार बनाउने ठेक्का लिएर हिडेका छन् भने अर्कोथरी कटुवालको विकल्प नभएको बताउँदै हिडेका छन् । कतारको एनआरएनएमा मुक्तदा र कटुवालको भन्दा पनि उनीहरुका समर्थकको जुङ्गाको लडाई चै हेर्न लायक छ । यद्यपी आउने २६ तारिख आफ्नो उम्मेदवारी टुङ्गो लगाउने गरी नेकपाले गृहकार्य गरिरहेको जनाएको छ ।

अहिले मुक्तदा र कटुवाल दुवै पार्टीले निर्णय नगरे पनि अध्यक्षमा उम्मेदवारी दिने अवस्थामा पुगेका छन् । दुवै जनाले उम्मेद्वारी दिएमा तेश्रो व्यक्ति आउने संभावना छ । नेपाली काँग्रेस समर्थित उम्मेदवार अहिलेसम्म बाहिर नदेखिएकाले मुक्तदा र कटुवाल आफैमा लडेको र लडाएको हेर्दै उनीहरु बसेका छन् ।

एनआरएनएमा कतारले इतिहाँस बोकेको छ । मध्यपूर्व मध्येकै कतारमा धेरै एनआरएनका नेताहरु रहेका छन् । लोकतन्त्रमा चुनावी प्रकृया राम्रो होला तर कतारजस्तो मुलुकमा निर्वाचन गराउन धेरै समस्या रहेको छ । अझ यस बर्ष त ४ हजार भन्दा बढिले मतदान एउटै थलोमा कसरी गर्न सक्लान् भनेर एनआरएनका अगुवाहरु नै डराएका छन् ।

त्यसैले एनआरएनए ओमानजस्तो सर्वसम्मत नेतृत्व चयन गरेर एनआरएनए कतारले पनि उदाहरण सिक्ने हो की !

प्रथम उपाध्यक्षमा गुरुङ र भण्डारीको दावी

एनआरएनए एनसीसी कतारको आगामी कार्यकालका लागि अध्यक्षको टुङ्गो नलागेता पनि प्रथम उपाध्यक्षमा अहिलेका कोषाध्यक्ष उत्तम गुरुङ र सहयुवा संयोजक नारायण भण्डारी (समाजसेवी)ले उम्मेदवारी घोषणा गरेका छन् । गुरुङले कतारमा रहेर सामाजिक काम गर्नुका साथै एनआरएनए कतारमा कोषाध्यक्षको कार्यभार सफलतापूर्वक सम्हालेका छन् भने भण्डारीले विगत १० बर्षदेखि निरन्तर सामाजिक काममा आफुलाई उभ्याइरहेका छन् ।

एनआरएनए कतारको द्वितिय उपाध्यक्षमा शिव खड्का र टंक कुमार खड्काले दावी गरिरहेका छन् भने सरिता गुरुङले महिला उपाध्यक्षमा उम्मेदवारी दिने आकांक्षा व्यक्त गरेकी छिन् ।

चुनावी माहोल तातिरहेको बेला अन्य पदका लागि पनि आकाक्षीहरु देखिन थालेका छन् । बर्तमान युवासंयोजक माया केसीले महासचिवमा उम्मेदवारी दिने आकाक्षा व्यक्त गरेकी छिन् भने पदम गिरीले पनि महासचिवमा नै उम्मेदवारी दिने बताएका छन् । डिल्लीराम भट्टराईले सचिव पदमा उम्मेदवारी दिने बताएका छन् । सचिव पदका लागि संखुवासभाका द्रोण कार्कीले आकाक्षा देखाएका छन् । अन्य आकाक्षींहरु आउने क्रम जारी रहेकाले पहिला अध्यक्षको टुङ्गो लाग्न आवश्यक रहेको सबैको बुझाई छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *