गैरआवासीय नेपाली संघ दक्षिण कोरियाको अध्यक्ष पदका लागि विपिन कुमार गुरुङले उम्मेदवारी दिने भएका छन् । आगामी सेप्टेम्बर २१ र २२ तारिखमा हुन गइरहेको एनआरएन कोरियाको सातौं महाधिवेशनमा गुरुङले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

एनआरएन कोरियाका बरिष्ठ उपाध्यक्ष रहेका गुरुङ सामाजिक काममा सक्रिय छन् । ६ बूँदे प्रतिवद्धता सार्वजनिक गर्दै गुरुङले आफु एनआरएन कोरियाको स्वतः २०१९–२१ का लागि अध्यक्षको दावेदार भएको बताएका छन् ।

आफु अध्यक्ष बनेपछि उनले एनआरएनए दक्षिण कोरियालाई कानूनीरुपमा दर्ता गराउने, नेपाली कामदारलाई कानूनी, आर्थिक र मनोवैज्ञानिक सहयोग गर्ने अभियान चलाउने, अक्षयकोष स्थापना गर्ने, दक्षिण कोरियामा एनआरएनको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने, संस्थाको गतिविधि पारदर्शी बनाउने र कोरियामा रहेका नेपालीलाई स्वदेशमा लगानीको वातावरण बनाउने जस्ता प्रतिवद्धता जनाएका छन् ।

सन् २००० मा कोरियामा प्रवेश गरि व्यवसाय गरिरहेका गुरुङ सामाजिक क्षेत्रमा पनि सक्रिय छन् । एनआरएनए दक्षिण कोरियाको सदस्य हुँदै उपाध्यक्ष र वर्तमान वरिष्ठ उपाध्यक्ष रहेर उनले काम गरिरहेका छन् ।

अध्यक्षको उम्मेद्धवारी घोषणा गर्दै उनले भनेका छन्–‘आजको दिनसम्ममा सामाजिक काममा सकारात्मक सोचले सबै मिलेर केही राम्रो कामहरु गरौं भन्ने भावानाले निरन्तर लागिरहेको छु ।’

आफ्नो उम्मेदवारी प्रति प्रष्ट पार्दै गुरुङले भने– सवै अग्रज, सहकर्मी तथा साथीभाईहरुको सल्लाह र सुझाव अनुसार अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्दछु । यहाँहरुले विगतमा गरेको सहयोग र साथलाई आत्मसाथ गर्दै आगामी दिनमा पनि उच्च मुल्यांकन गरेर अगाडि जाने प्रतिवद्धता व्यक्त गर्दछु । ’

उनले विगतमा गरेका केही आफ्ना राम्रो कामहरुलाई थप निरन्तरता दिंदै यस संस्थाको गरिमालाई उच्च कायम गर्न अझ अगाडि बढ्ने प्रतिबद्धतासमेत जाहेर गरेका छन् । अहिलेसम्म एनआरएन दक्षिण कोरियामा कसैले अध्यक्षको दावेदारी नगरेको हुँदा गुरुङ नै सर्बसम्मत हुने प्राय निश्चित छ ।

एनआरएनए दक्षिण कोरियाको अध्यक्षमा गुरुङको उम्मेदवारी घोषणा