गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको नयाँ नेतृत्वका लागि एसिया प्यासिफक क्षेत्रीय संयोजकमा जापानबाट रोविन्द श्रेष्ठ (गोविन्द)ले आफ्नो उम्मेदवारी घोषणा गरेका छन । यस अघि क्षेत्रीय उपसंयोजकको जिम्मेवारी निभाइसकेका श्रेष्ठ अघिल्लो कार्यकालमा झिनो मतान्तरले संयोजक पदमा पराजित भएका थिए ।

जापानमा सफल नेपाली व्यवसायी र सामाजिक अभियन्ताको परिचय बनाउन सफल श्रेष्ठ एनआरएन अभियानमा लामो समयदेखि सक्रिय छन । पदमा रहदा होस या नरहदा निरन्तर एनआरएनका क्रियाकलापमा सक्रिय श्रेष्ठले एनआरएन भवन, लाप्राक नमुनावस्ती निर्माण, वाराका हावाहुरी पीडितलगायतमा संघको प्रतिनिधित्व गर्दै तथा व्यक्तिगतरुपमा ठुलो सक्रियता र सहायता प्रदान गरेका थिए ।

विगतमा एसिया प्यासिफिक उपसंयोजक भएर कुशलतापूर्वक कार्यसम्पादन गरिसकेको र त्यसयता पनि निरन्तर संस्थामा रहेर काम गरिरहेकाले ती अनुभवहरुलाई उपयोग गर्दै एनआरएनए अभियानमा थप योगदान पु¥याउने अठोटसहित एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा आफुले दावेदारी प्रस्तुत गरेको श्रेष्ठको भनाई छ ।

एनआरएन अभियानमा आफु छोटो यात्राका लागी नभई एउटा पूर्ण यात्रीको रुपमा जोडिएको हुँ, तसर्थ मलाई यो अभियानमा यहाँहरुको साथ सहयोग र अपार मायाँको निरन्तर खाचो छ र दिइरहनुहुन्छ भन्ने अपेक्षा पनि छ’ श्रेष्ठ भन्छन –‘सम्पूर्ण अग्रजहरु तथा शुभचिन्तकहरुको चाहना तथा अपेक्षा अनुरुप आफुलाई अझ सक्रिय र क्रियाशील बनाउने प्रणसहित आगामी एनआरएनए अधिबेशनमा एनआरएनए एसिया प्यासिफिक सयोजकको रुपमा उभ्याएको छु, यहाँहरुले मलाई सल्लाह, सुझाब, साथ–सहयोग र मायासहित यो जिम्मेवारी निर्वाहका लागि योग्य सम्झनुहुनेछ भन्ने बिश्वास गरेको छु ।’

एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा रोविन्द श्रेष्ठको उम्मेदवारी

जापानका अलवा नेपालमा पनि विभिन्न व्यवसायको क्षेत्रमा हात हालेका श्रेष्ठ एनआरएन अभियान विशुद्ध सामाजिक अभियान रहेको र गैरआवासीय नेपालीहरुसँग देशले पनि धेरै अपेक्षा गरेको भन्दै उक्त जिम्मेवारी निभाउन तत्पर भएर नै नेतृत्वका लागि आफु अघि बढेको बताए ।

‘हामीले स्वदेशमा रोजगारी सिर्जनासँगै लगानी भित्राएर मुलुक समृद्ध बनाउने अभियान गरिरहेका छौ, यसलाई अझ व्यापक र बृहत बनाउन आवश्यक छ त्यसका लागि संस्थागतरुपमा उपयुक्त जिम्मेवारी निर्वाह गर्ने मेरो अठोट हो’ श्रेष्ठले आफ्नो उम्मेदवारीबारे प्रष्ट्याउदै भने –‘एनआरएन अभियानमा मैले पु¥याएको योगदान सबै साथीहरु सामू छर्लङग नै छ, यहाँहरुको सल्लाह, सुझाव तथा साथ सहयोगले अझ धेरै योगदान पु¥याउने अवसर पाउनेछु भन्नेमा म आशावादी छु ।’

श्रेष्ठलाई दक्षिण कोरियाबाट पूर्व उपसंयोजक विनोद कुवरलगायत एसिया प्यासिफिक क्षेत्रका अधिकांश एनआरएनए एनसीसीबाट समर्थन रहेको छ । एसिया प्यासिफक क्षेत्रीय संयोजकमै यस अघि जापानबाटै पारसमणी पोखरेलले पनि उम्मेदवारी घोषणा गरिसकेका छन भने अन्य क्षेत्रबाट पनि उम्मेदवारी आउने संभावना छ ।