एनआरएनएको नयाँ नेतृत्वका लागि मिडिलइष्टबाट यी अनुहार, भन्छन्–‘हामी भोट बैंक मात्र होइनौं, प्राथमिकता दिइयोस्’

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले ८० भन्दा बढि राष्ट्रमा आफ्नो सञ्जाल विस्तार गरेसँगै यसको ब्यापकता बढेको छ । अझ ९ औ विश्व सम्मेलनको मिति नजिकिदै गर्दा एनआरएन भित्र नयाँ नेतृत्व आफ्नो पक्षमा पार्नका लागि चहलपहल चुलिएको छ । चुनावी सरगर्मी बढिरहँदा अहिले विभिन्न देशमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्ले अधिवेशन गर्दै नयाँ नेतृत्व चुन्ने क्रम शुरु भएको छ ।

मध्यपूर्वमा रहेका एनआरएनए एनसीसीहरु मध्ये पहिलो पटक एनआरएनए ओमानले आफ्नो पाचौँ राष्ट्रिय महाअधिवेसन यही जुन २८ तारिख मस्कटमा गर्दैछ । मध्यपूर्वमा कतारपछि एनआरएनको केन्द्र मानिने ओमानको अधिबेशनलाई एनआरएन बृतमा अर्थपूर्णरुपमा लिइएको छ । अधिवेशनको अवसरमा विश्वभरिका एनआरएनए अगुवा तथा नेतृत्वका आकाक्षीहरु मस्कट पुग्दैछन् ।

एनआरएनए ओमानका अध्यक्ष दिपक श्रेष्ठका अनुसार सम्मेलनमा सयौँको संख्यामा अतिथिहरूको सहभागिता रहने भएको छ ।

अहिलेसम्म एनआरएनए आईसीसी अध्यक्ष भवन भट्ट, उपाध्यक्षहरु कुमार पन्त, कुल आचार्य, एनआरएनए अमेरिका क्षेत्रीय संयोजक गौरीराज जोशी, मध्यपूर्वका संयोजक आर के शर्मा, एनआरएनए एसिया प्याशिफिक संयोजक किरण विक्रम थापा, एनआरएनए मध्य पूर्व सहसंयोजक गोपाल कँडेल र प्रविण गुुरुङ, एनआरएनए आईसीसी सदस्यहरू चित्र केसी, मनोज गोर्खाली, सुदिप कार्की, जोन अर्याल, मध्यपूर्वका पूर्व संयोजक नरेन्द्र भाट, एनआरएनए आईसीसी पूर्व उपाध्यक्ष टिबी कार्की, एनआरएनए यूकेका अध्यक्ष योगकुमार फगामी, एनआरएनए बेल्जियमका अध्यक्ष लोकप्रसाद दाहाल, एनआरएनए यूएईका अध्यक्ष रमेश श्रेष्ठ, एनआरएनए यूकेका उपमहासचिव विनय अधिकारी, एनआरएनए आईसीसी सदस्य विमल सुवेदी, विनोद भट्टराई, एनआरएनए मध्यपूर्वका पूर्वसहसंयोजक तथा वर्तमान आइसीसीका मानार्थ सदस्य राजु सैयद, एनआरएनए आईसीसी सदस्य अमित राई, आईसीसी सदस्य कमल श्रेष्ठ, एनआरएनए बेल्जियमबाट गोविन्द सुवेदी, बहराइनबाट दुर्गा गिरी,  मध्यपूर्वका भूतपूर्व सहसंयोजक धर्मराज गिरी सहभागी हुने टुङ्गो लागिसकेको छ ।

मध्यपूर्वमा एनआरएनए ओमान त्यहाँको सरकारबाट मान्यता पाउने पहिलो एनसीसी संजाल हो । एनआरएन सोसियल क्लवको नाममा ओमान सरकारबाटै मान्यता पाएको यस संजालले ओमान र नेपालमा धेरै सामाजिक काम गर्दै आएको छ । एनआरएन आइसीसी सचिव डिबी क्षेत्रीको कर्मथलो ओमानलाई आफ्नो पक्षमा पार्न सबै एनआरएन यतिबेला दश काम छोडेर भएपनि ओमान पुग्ने दाउमा छन् ।

एनआरएनए नेतृत्वमा मध्यपूर्व

एनआरएनएका अध्यक्षदेखि अन्य पदका आकांक्षीहरुको समेत सहभागिताले ओमानको महाधिबेशन निकै अर्थपूर्ण त बन्दैछ तर एनआरएनए नेतृत्वमा मध्यपूर्व अगाडि आउन सकेन वा आउन अझ दिइएको छैन भन्ने वहस पनि थप चुलिएको छ ।

एनआरएनए आइसीसी नेतृत्वमा सचिव, उपाध्यक्ष हुँदै अध्यक्ष पदमा चुनाव लड्ने हिम्मत लिएका टिबी कार्की बाहेक नेतृत्वका लागि मध्यपूर्वबाट अहिलेसम्म कसैले आँट गर्न सकेका छैनन् । हुन त एक दशक अगाडि नै आइसीसीको उपाध्यक्ष बन्न सफल सागर नेपाल पनि त्यहाँ भन्दा माथि आउन सकेनन् । यूएईबाट रामेश्वर साह कोषाध्यक्ष भएर सफलतापूर्वक कार्यकाल पुरा गरेपनि त्यहाँ भन्दा माथि आएनन् । कतारबाट नरेन्द्र भाटले उपाध्यक्ष पदमा प्रतिस्पर्धा त गरे तर जित्न सफल भएनन् । यद्यपी उनी फेरि नेतृत्व तहमा आउने संभावना अधिक छ । एनआरएन अभियानमा परिचित भाट सबैको साथ पाएमा एनआरएनए आइसीसीको नेतृत्व आँक्न तयार छन् ।

अब चर्चा गरौ एनआरएनएको आगामी नेतृत्वका लागि संभावना बोकेका मध्यपूर्वका एनआरएनहरुको । एनआरएन आइसीसी सचिव भएर काम गरिरहेका डिबी क्षेत्री मध्यपूर्वका उदाउँदो नेता हुन् । एनआरएन ओमानको संस्थापकदेखि मध्यपूर्व संयोजक हुँदै आइसीसी सचिव पदमा पुगेका क्षेत्री भिजन र मिशन बोक्ने एनआरएन मानिन्छन् । एनआरएन भित्र ‘हजारे अभियान’ सिन्धुलीगढी निमार्णको गुरुयोजना तथा मध्यपूर्वका नेपालीहरुका भरोसा बनेका क्षेत्री एनआरएनएको आगामी नेतृत्वका लागि आउने पक्का छ ।

एनआरएनए ओमान तथा मध्यपूर्वले क्षेत्रीलाई महासचिव पदमा जानलाई सल्लाह दिइरहेका छन् । क्षेत्री भन्छन्–‘अहिले नै हामीले हतारो गर्न हुँदैन, समय आएपछि माथिल्लो पदमा पक्कै जानेछु ।’ क्षेत्रीलाई महासचिव वा उपाध्यक्षमा जसरी भए पनि लैजान मध्यपूर्व एकमत हुने जनाइएको छ ।

मध्यपूर्वमा एनआरएन अभियानमा सक्रिय भएर लाग्नेमा मध्यपूर्व संयोजक आरके शर्मा पर्दछन् । सफल व्यवसायी तथा समाजसेवीका रुपमा नाम कमाएका शर्मालाई आगामी कार्यकालमा जसरी भएपनि आइसीसीको मुख्य पदमा पठाउन मध्यपूर्वको एक मत छ ।

एनआरएनका हरेक अभियानमा सक्रिय भएर लागेका शर्मा कोषाध्यक्ष पदमा जाने संभावना रहेको छ । यद्यपी शर्मा भने एनआरएनका अगुवा, अन्य आकांक्षी र मध्यपूर्वका साथीहरुसँग छलफल भइरहेको बताउँछन् ।

एनआरएनए मध्यपूर्वबाट शर्मा संभावना बोकेका अभियन्ता हुन् । शर्मालाई कोषाध्यक्षमा नै पठाउनु पर्ने एनआरएनका अगुवाहरुको पनि भनाई छ । संभवत शर्मा कोषाध्यक्ष पदमा जाने छन् ।

एनआरएनए साउदी अरबमा अध्यक्ष हुँदै आइसीसी सचिव, मध्यपूर्व संयोजक पदमा उम्मेदवारी दिएका धरम केसी आगामी कार्यकालमा कुन पदमा जाने हुन् खुलेका छैनन् । एनआरएन मुद्धामा खरोरुपमा प्रस्तुत हुने केसी सबैका प्रिय भने बन्न सकेका छैनन् ।

साउदी अरवकै राजु सैयद अहिले एनआरएनए आइसीसी मानार्थ सदस्य छन् । एनआरएन अभियानमा सक्रियरुपमा लागेका सैयद मात्र होइन उनकी श्रीमति यस्मिन बेगम सैयद अहिले एनआरएन मध्यपूर्व महिला उपसंयोजक छिन् । एनआरएनएको आगामी नेतृत्वमा यस्मिनलाई माथिल्लो पदमा पठाउने, नभए आफैं जाने सोचमा सैयद छन् । उनी एनआरएनए मध्यपूर्वका अनुभवी र पुरानो खेलाडीका रुपमा चिनिन्छन् ।

एनआरएनए आइसीसी सदस्य मनोज गोर्खाली मध्यपूर्व संयोजकका आकांक्षी रहेका छन्, तर उनकै सहयात्री मध्यपूर्व उपसंयोजक प्रविन गुरुङले मध्यपूर्व संयोजकमा दावी गरिरहदा गोर्खालीले पनि त्यही पद दावी गर्नेहुन या अन्य पदमा दावी गर्नेहुन टुंगो लगाएका छैनन । कतारमा व्यवसायका अलावा ठूला–ठूला साँगीतिक कार्यक्रमहरु गरिरहेका गुरुङ सामाजिक कार्यमा पनि सक्रिय छन् ।

एनआरएनए मध्यपूर्वका अर्का उदयमान व्यक्ति हुन् कतारका अब्दुल वासिद । एनआरएनएको सामाजिक उद्यमशिलता विकास समितिको मध्यपूर्व संयोजक रहेका वासिदलाई एनआरएनएको आगामी कार्यकालमा अगाडि बढाउने मध्यपूर्वका नेपालीको सोच छ । यता सामाजिक कामका साथै एनआरएनए एनसीसी यूएईका अध्यक्ष रमेश श्रेष्ठ पनि एनसीसीको भारी विसाएर आइसीसीको भारी बोक्ने योजनामा छन् । आइसीसी सदस्य कुमार कार्की पनि एनआरएनको आगामी नेतृत्वमा अगाडि जाने सोचमा छन् ।

हुन त एनआरएनएको नेतृत्वमा आउन चाहने आकाक्षी धेरै छन् । कतारबाट विनोद भट्टराई, हंशराज ढकाल, यूएईबाट नै गोपाल कँडेल, बहराइनबाट दुर्गा गिरी, कुवेतबाट सुरज मास्के आगामी कार्यकालका लागि होमवर्क गरिरहेका छन् ।

आइसीसीले वेवास्ता गरे छुट्टै संस्था खोल्ने

मध्यपूर्वमा एनआरएनहरुबीच आ–आफ्नै चर्काचर्की भए पनि मध्यपूर्वको सवालमा भने एक जुट हुने गर्छन । एनआरएनए आइसीसीको नेतृत्व अहिलेसम्म नपाएको मिडिल इष्टमा एनआरएनका धेरै सदस्य छन् । ‘अझै आइसीसीले मध्यपूर्वलाई बेवास्ता गरे मध्यपूर्व चुप लागेर बस्दैन’ एनआरएनए मध्यपूर्वका पूर्वउपसंयोजक धर्मराज गिरी भन्छन्–‘एनआरएनएले यस क्षेत्रलाई समेट्न नसके मध्यपूर्वलाई मात्र समेटेर मिडिलइष्ट नेपाली एशोसिएशन नबन्ला भन्न सकिन्न ।’

मध्यपूर्वका नेपालीहरुका समस्या धेरै छन् । एनआरएनएले मध्यपूर्वका मुद्धालाई बोकेको भएपनि प्रभावकारी कार्यान्वयन गर्न सकेको छैन ।

अध्यक्षमा पन्त, भट्ट र आचार्यको दावी

आगामी अक्टोवरमा हुन गइरहेको महाधिवेशनमा अहिलेसम्म अध्यक्षमा कुमार पन्तले उम्मेदवारी दिने पक्कापक्की भएको देखिन्छ । दोश्रो कार्यकाल उपाध्यक्ष बनिसकेका पन्तले आफूले उल्लेख्य कार्य गरेर आम एनआरएन र नेपालीहरूको मन जितेको बताउँदै आएका छन् । अघिल्लो कार्यकालमै अध्यक्षका दाबेदार रहेका वर्तमान उपाध्यक्ष पन्तले आफु सर्वसम्मत अध्यक्षको हकदार बताउँछन् । यो पटक पन्तलाई बलियो उम्मेदवारको रुपमा पनि हेरिएको छ ।

तर वर्तमान अध्यक्ष भवन भट्टले आफूले शुरु गरेका कार्यहरू बाँकी रहेका भन्दै अझै एक कार्यकाल अध्यक्ष दोर्होयाउने आन्तरिक तयारी गरेका छन् । उनले अझै एक कार्यकाल दोर्होयाउने आकांक्षा राख्न थालिसकेका छन् । अध्यक्ष भट्ट आफ्नो कार्यकालमा धेरै कामहरू गरेको बताउँछन । आफ्नो कार्यकालमा शंखमुल पार्कको निर्माण सम्पन्नदेखि एनआरएनए भवन निर्माण सम्पन्न र लाप्राक बस्ती निर्माण सम्पन्न जस्ता ठूला काम गरेर आफू सफल अध्यक्षको रुपमा उभिएको उनले दावि गर्दै आएका छन् ।

यसपटक हालका उपाध्यक्ष कुल आचार्य पनि अध्यक्ष बन्ने दाउमा छन् । यद्यपी उनलाई पुनः उपाध्यक्ष पद नै दोर्होयाउन दवाव रहेको बुझिएको छ ।

यसरी एनआरएनएको नयाँ नेतृत्वको चहलपहल बढिरहँदा काम गर्न सक्ने सक्षम नेतृत्व छनौट गर्न आवश्यक छ नत्र भोलि पछुताउनु पर्नेछ । संस्थामा रहेर काम गर्न सक्ने र समय दिन सक्ने नेतृत्व छान्नु नै बुद्धिमति हुन्छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *