एनआरएनए ओशिनिया क्षेत्रीय सम्मेलन सम्पन्न, नौं बूँदे सिड्नी घोषणापत्र जारी (पूर्ण पाठसहित)

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ओशिनिया क्षेत्रीय बैठक नौं बूँदे सिड्नी घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको छ । मे ११ मा शुरु भएको तेस्रो ओशिनिया क्षेत्रीय बैठक मे १२ आज अस्ट्रेलियाको सिड्नीमा भव्यताका साथ सम्पन्न भएको हो ।

बैठक नेपाल सरकारका न्याय, कानुन तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यता तथा अस्ट्रेलिया सरकारका केन्द्रीय अध्यागमन मन्त्री डेभिड कोलमनको विशेष उपस्तिथिमा सम्पन्न भएको हो ।

१४ राष्ट्रका ३०० भन्दा बढीको सहभागितामा भएको बैठकमा गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त, उपाध्यक्ष कुल आचार्य, महासचिव बद्री केसी, सह कोषाध्यक्ष सोम सापकोटा लगायत बिदेशी प्रतिनिधिको पनि सहभागिता रहेको थियो । ‘सम्मेलन ‘समृद्ध नेपालको लागि एनआरएन सदैव र सबैको लागि’ भन्ने मूल नारामाथि आधारित रहेको थियो ।

‘इन्भेस्टमेन्ट, इनोभेसन र टुरिजम’ भन्ने विषयमा केन्द्रित हुने सम्मेलनमा यस क्षेत्रका बुद्धिजिबिले कार्यपत्रहरु पेश गरेको र त्यसमाथि ब्यापक बौद्धिक तथा ब्यबहारिक बहस भइरहेको आयोजक समितिका संयोजक तथा एनआरएन ओसेनिया संयोजक धर्मराज अधिकारीले बताए ।

सम्मेलनमा क्यानाडाबाट डा प्रमोद ढकाल, अमेरिकाबाट डा अम्बिका अधिकारी, अस्ट्रेलियामा क्रियाशील डा राजु अधिकारि, डा कुश श्रेष्ठ, डा कृष्ण हमाललगाएतले विभिन्न बिषयमा कार्यपत्र पेश गरेका थिए । सम्मेलनका निष्कर्षहरू नेपालको विकास निमार्णका लागि निकै उपयोगी रहेको संयोजक अधिकारीले बताए ।

घोषणापत्रको पूर्ण पाठ :

१. गैरआवासीय नेपालीहरुको सामूहिक लगानीलाई नेपालको समृद्धिमा सहयोग पुग्ने गरी परिचालन गर्न स्थापित हुने सामूहिक लगानी कोष, जलविद्युत, लगायतका परियोजनाहरुमा यस क्षेत्रबाट पनि सक्दो लगानी गर्ने प्रतिबद्धता यो बैठक गर्दछ ।

२. नेपाल सरकारद्वारा घोषणा गरिएको भ्रमण वर्ष २०२० लाई सफल बनाउन गैरआवासीय नेपाली संघले अघि सारेको ‘नेपाल प्रवर्द्धन वर्ष २०१९’ अभियानलाई विभिन्न प्रवर्द्धनातमक कार्यक्रम सञ्चालन गरी भ्रमण वर्ष २०२० लाई सफल बनाउने निर्णय गरियो ।

३. महिला सशक्तिकरण अभियानको थालनी र महिला उद्यमशीलतालाई प्रोत्साहन दिन कार्ययोजना अगाडि बढाउने निर्णय गरियो । स्वदेश तथा विदेशमा हुने घरेलु हिंसाविरुद्ध जनचेतना अभियान सञ्चालन गर्दै गैरआवासीय नेपाली अभियानको मूलधारमा महिला सहभागिताको सुनिश्चितता गराउने निर्णय गरियो ।

४. गैरआवासीय नेपाली संघले Knowledge City र Academyको प्रस्तावलाई आत्मसात् गरी कार्यान्यन गर्न प्रमुख भूमिका खेल्ने र विदेशमा रहेका नेपाली ज्ञाताहरुको सीप, ज्ञान र प्रविधिलाई नेपालको विकासमा लगानी गर्ने वातावारण बनाउने निर्णय गरियो ।

५. नेपाल र अस्ट्रेलिया बीचमा आपसी सहयोग सद्भावलाई कायम AussieMed Foundation Australia र Nepal Science Foundation, NRNA बीचमा सहकार्य गर्ने निर्णय गर्दै आपसी सम्झौतामा हस्ताक्षर सम्पन्न भयो ।

६. ओसेनिया क्षेत्रमा बसोबास गर्ने युवा तथा दोस्रो पुस्तालाई गैरआवासीय नेपाली अभियानको मूलधारमा समाहित गर्न उनीहरुका निम्ति उपयोगी र आकर्षण गर्न सकिने कार्यक्रमहरु तय हुनुपर्ने महसुश गरी आगामी दिनमा यसतर्फ विशेष ध्यान दिनुका साथै यस क्षेत्रका गैरअवासीय नेपाली बालबालिकालाई नेपालीभाषा, संस्कार, संस्कृति सिकाउने कार्यक्रमहरु तय गर्ने निर्णय गरियो ।

७. आवश्यक कानुन निर्माण गरी तत्काल गैरआवासीय नेपाली नागरिकता वितरण गर्न र नागरिकता प्राप्त व्यक्तिले अन्य सम्पूर्ण अधिकार प्रयोग गर्न सक्ने गरी सम्पूर्ण व्यवस्था ऐनमै गर्न यो बैठक सम्बधित निकायलाई अनुरोध गर्दछ ।

८. अस्ट्रेलिया सरकार तथा राजनीतिक दलहरुको नेपाली समाजसँग सहयोग र सहकार्य गर्ने प्रतिबद्ताको यो बैठक स्वागत गर्दछ ।

९. यो बैठक सफलतापूर्वक सम्पन्न गर्न सघाउनु हुने नेपाल सरकार, अस्ट्रेलिया सरकार, अस्ट्रेलियास्थित नेपाली दूतावास, सम्पूर्ण एनसीसीहरु, आयोजक राष्ट्र अस्ट्रेलिया र प्रायोजकहरु स्वयंसेवी, पत्रकार, कलाकार सबै पक्षलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *