एनआरएनको लगानीमा बन्ने जलविद्युतमा एकै दिन जुट्यो ३ करोडको शेयर

बेनीको बिरेन्द्र चोकमा खुल्यो धौलागिरी हाइड्रोको सम्पर्क कार्यालय
news-details

म्याग्दीको मालिका गाउँपालिकामा एनआरएनद्धारा निर्माण हुन लागेको २५ मेगावाट क्षमताको दरवाङ–म्याग्दीखोला जलविद्युत आयोजनामा स्थानीयबाट एकै दिनमा तीन करोड रुपैयाँ भन्दा बढी शेयर रकम संकलन भएको छ ।

धौलागिरि कालिका हाइड्रो लिमिटेडले गत सोमबार बेनीको बिरेन्द्र चोकमा सम्पर्क कार्यालय स्थापना गरेकै दिन तीन करोड दश लाख रुपैयाँ संस्थापक शेयर संकलन भएको कम्पनीका अध्यक्ष विनोद कुँवर जानकारी दिए । अध्यक्ष कुँवरका अनुसार एक महिनासम्म न्युनतम पचास हजार रुपैंया बराबरको शेयर लगानी गर्न पाइनेछ ।

बीस करोड रुपैयाँ जिल्लाबासीबाट संस्थापक शेयर जुटाउने अध्यक्ष कुँवरले बताए । उक्त अवसरमा बेनीका व्यवसायी राजेश शाक्यले एक करोड रुपैयाँ शेयर लगानी गरे । बेनी नगरपालिका र म्याग्दीका अन्य स्थानीय तहका वासिन्दाहरुको अपेक्षा अनुसार उनीहरुको सहजताका लागि बेनीमा सम्पर्क कार्यालय स्थापना गरेर संस्थापक शेयर जुटाउन थालिएको अध्यक्ष कुवँरको भनाई छ ।

सम्पर्क कार्यालय र संस्थापक शेयर संकलन गण्डकी प्रदेशका सांसद विनोद केसी, पूर्व सांसद नवराज शर्मा, नेपाल उद्योग वाणिज्य महासंघ पूर्व उपाध्यक्ष प्रमोद श्रेष्ठ, नेपाली काँग्रेस म्याग्दीका सचिव मिनबहादुर कार्की, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य लगायतको उपस्थितिमा सुरुवात गरिएको थियो ।

एक अर्ब १५ करोड रुपैयाँ संस्थापक शेयर पुँजीमा जिल्लाबासीलाई पनि समेट्ने प्रयास गरिएको हो । पाँच र्अब १५ करोड रुपैयाँ कुल लागत अनुमान गरिएको आयोजनामा सानिमा बैङ्कको नेतृत्वमा प्रभु, कुमारी, सेञ्चुरी, महालक्ष्मी र मुक्तिनाथ बैंकले अधिकतम ७० प्रतिशत लगानी गर्ने भएको छ । ४५ करोड रुपैयाँको साधारण शेयर आयोजना अन्तिम चरणमा पुगेपछि जुटाइने छ । तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको वार्षिक १५ करोड युनिट विद्युत उत्पादन गर्ने जनाइएको छ ।
गैरआवासीय नेपाली संघ कोरियाका पूर्व अध्यक्ष तथा म्याग्दी प्रवासी नेपाल संघ (मोेना) का पूर्व वरिष्ठ उपाध्यक्ष कुवँरको नेतृत्वमा बन्न लागेको आयोजनामा कोरिया, जापान, अमेरिका, हङकङ, बेलायत लगायत देशमा रहेका प्रवासी म्याग्देलीको लगानी छ । पूर्वाधार निर्माणको पूर्व तयारीमा रहेको आयोजनाले आगामी जेठदेखि सुरुङ, पहुँचमार्ग, बाँध र विद्युतगृह निर्माणको काम सुरु गर्ने तयारी गरेको छ ।

सडकको पहुँच पुगेको र प्रशारण लाइन निर्माण हुन लागेको, अनुकुल भुगोल लगायतका कारणले यो आयोजना तोकिएकै समयमा सम्पन्न हुने र लगानीकर्तालाई पर्याप्त मुनाफा दिन सक्ने प्रवद्र्धकहरुको भनाई छ । दरवाङ, देविस्थान, ताकम र बिमको सिमा क्षेत्रमा पर्ने फेदीमा बाँध रहने आयोजनाको पाँच किलोमिटर सुरुङ र बालौटे विद्युतगृह रहनेछ । यस आयोजनाबाट उत्पादित विद्युत बिमको डाँडाखेत सबस्टेशन केन्द्रिय प्रशारण लाइनमा जोडिने भएको छ । नेपाल विद्युत प्राधिकरणले डाँडाखेतमा सब स्टेशन र त्यहाँदेखि राहुघाटसम्म प्रशारण लाइन निर्माणको प्रक्रिया अघि बढाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *