९ महिनादेखि बन्द मलेसिया खुलाउन एनआरएनद्धारा राजदूत पाण्डेलाई आग्रह

नवनियुक्त राजदूत पाण्डेलाई एनआरएन मलेसियाको स्वागत
news-details

मलेसियाका लागि नेपाली नवनियुक्त राजदूत उदयराज पाण्डेलाई गैरआवासीय नेपाली संघ (एनआरएन) मलेसियाले उनकै कार्यकक्षमा स्वागत गरेको छ । नेपाली दूतावास क्वालालाम्पुरमा मंगलबार एनआरएन मलेसियाका पदाधिकारीले भर्खरै कार्याभार सम्हालेका राजदूत पाण्डेलाई विगत ९ महिनादेखि बन्द रहेको मलेसिया रोजगारी तत्काल खुलाउनका लागि आग्रह समेत गरेको छ ।

एनआरएन मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपानेको नेतृत्वमा गएको टोलीले मलेसियामा रहेका नेपाली र उनीहरुले भोगेका समस्याका बारेमा जानकारीसमेत गरायो । एनआरएन अध्यक्ष न्यौपानेले राजदूत पाण्डेलाई विगत ९ महिनादेखि मलेसिया रोजगारी बन्द हुँदा मलेसियामा रहेका नेपाली कामदारले पनि समस्या झेल्नु परेको यथार्थका वारेमा जानकारी गराएको बताए । अध्यक्ष न्यौपानेले भने–‘मलेसिया रोजगारी बन्द हुँदा मलेसियामा कार्यरत नेपालीहरु भिषा सकिदा वा कन्ट्रयाक सकिदा समेत कम्पनीले घर नपठाउने ठूलो समस्या छ ।’

मलेसियामा नयाँ कामदार जान नपाउँदा पहिलादेखि कार्यरत कामदारलाई कम्पनी छोड्ने गरेको छैन । जसका कारण कयौ नेपाली कामदार भिषा सकिएर गैरकानूनी बनेका छन् ।

एनआरएन मलेसियाले श्रम समझदारी भएको लामो समय बित्दा समेत मलेसिया रोजगारी नखुलेको भन्दै राजदूत पाण्डेलाई गतिरोध हटाएर मलेसियामा रहेका नेपालीहरुको अभिभावक बन्न आग्रह गरेको छ । श्रम समझदारी पछि पनि मलेसिया रोजगारी नखुल्दा दुई देशबीचको कुटनैतिक सम्बन्धमा आँच आउन नदिन राजदूत पाण्डेलाई एनआरएनले आग्रह गरेको अध्यक्ष न्यौपानेले रोजगार मञ्चलाई जानकारी गराए ।
मलेसियाको जेलमा रहेका नेपालीहरु उद्धार, दूतावास र नेपाली समुदायवीचको सहकार्य, समस्यामा परेका नेपालीहरुको समाधानमा दूतावास लाग्नु पर्नेमा एनआरएनले सुझाएको छ ।

जवाफमा राजदूत पाण्डेले रोकिएको मलेसिया रोजगारी चाँढै खुल्ने आश्वाशन दिए । ‘केही विषयका कारण मलेसिया रोजगार नखुलेको र मेडिकलको सिण्डिकेट हटाउन नेपाल सरकारले भनिसकेकोले अव कोही नेपाली नठगिने गरी मलेसिया रोजगारी खुल्छ’ राजदूत पाण्डेको भनाई उदृत गर्दै न्यौपानेले बताए ।

साउदी अरवमा राजदूत भएर काम गरिसकेका पाण्डे अनुभवी र एक्शन ओरियन्टेड मानिन्छन् । राजनैतिक भागवण्डामा राजदूत बनेका भएपनि सबै नेपालीको पक्षमा काम गर्ने प्रतिवद्धता उनको छ । अव ९ महिनादेखि रोकिएको मलेसिया रोजगारी नेपाली कामदारको हीतानुसार खोल्न सके उनको पहिलो गाँस नै मीठो हुने पक्का छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *