गैरआवासीय नागरिकता लिन व्यक्ति स्वयं उपस्थित हुनुपर्ने

news-details

गैरआवासीय नेपालीले नागरिकता प्राप्त गर्न गृह वा मातहतका निकायमार्फत् मात्र आवेदन दिन पाउने भएका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले व्यक्ति स्वयम् उपस्थित भई गृह वा मातहतका निकायबाट आवेदन दिनुपर्ने व्यवस्थामा सहमति गरेको हो ।

सरकारले पेस गरेको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको मूल विधेयकमा गृह मन्त्रालयमा आवेदन दिनसक्ने व्यवस्था गरेको थियो । कतिपय सांससदहरूले सम्बन्धित देशकै कूटनीतिक नियोगबाट आवेदन दिन मिल्ने व्यवस्थाका लागि संशोधन दर्ता गरेका थिए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरू कृष्णभक्त पोखरेल, गणेशकुमार पहाडी, इन्दुकुमारी शर्मा र तुलसी थापा तथा नेपाली काँग्रेसका दिलेन्द्रप्रसाद बडु र दिव्यमणि राजभण्डारीले कूटनीतिक नियोगबाट आवेदन दिनसक्ने पक्षमा संशोधन दर्ता गरेका थिए ।

गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिले पहिले नेपालको नागरिकता त्यागेको हुनुपर्ने, नागरिकता लिन चाहने व्यक्तिको बाबु वा आमा, बाजे वा बज्यै, साविकमा नेपालमा रहेको हुनुपर्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी, एनआरएन नागरिकता लिन चाहने व्यक्तिले विदेशी मुलुकको नागरिकता लिएको प्रमाण पेश गर्नुपर्ने हुन्छ भने, सार्क राष्ट्र बाहेकको देशमा बसोबास रहेको प्रमाण पेश गर्नुपर्ने हुन्छ । सार्क राष्ट्रमा बसोबास भएका गैर आवासीय नेपालीले भने एनआरएनले प्राप्त गर्ने नागरिकता पाउने छैनन्। त्यसरी नेपालको गैर आवासीय नागरिकता प्राप्त गर्ने व्यक्तिले नेपालको संविधान र कानुनको परिपालना गर्ने प्रतिवद्धता व्यक्त गर्नुपर्ने हुन्छ। जसका लागि शपथको पनि व्यवस्था गर्न लागिएको छ।

गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिहरूले भने नेपालको रहदानी प्राप्त गर्ने छैनन्। राजनीतिक अधिकारबाहेकको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्ने गरी मिल्ने नागरिकताका आधारमा पासपोर्ट मिल्ने छैन ।

-गोरखापत्र

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *