एनआरएनए मध्यपूर्व संयोजक शर्मा रिहा, विश्वभरका गैरआवासीय नेपालीहरुद्धारा खुसी व्यक्त

news-details

सामान्य सोधपुछका लागि भन्दै कतार प्रहरीको पक्राउमा परेका गैरआवासीय नेपाली संघ (एनआरएनए) का मध्यपूर्व संयोजक राजेन्द्र कुमार (आरके) शर्मा विहिबार साझ रिहा भएका छन् । कतारी प्रहरीको अनुसन्धान ब्युरोको हिरासतमा रहेका शर्माको रिहासँगै विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरुले खुसी व्यक्त गरेका छन् ।

करिब ४ हप्ता लामो अनुसन्धानपछि शर्मा निर्दोष रहेको भन्दै कतार प्रहरीको अनुसन्धान व्युरोले रिहा गरेको हो । यसअघि शर्माको रिहाको लागि गैरआवासीय नेपाली संघलगायत विश्वभरका एनआरएन अभियान्ताहरुले कतार र नेपाल सरकारलाई आग्रह गर्दै आइरहेका थिए ।

दशैअघि कतारमा आयोजित एक नेपाली सांस्कृतिक कार्यक्रममा प्रर्दशन गरिएको नाटकको विषयवस्तुबारे सोधपुछका लागि भन्दै कतार प्रहरीको अनुसन्धान व्युरोले शर्मालाई हिरासतमा लिएको थियो । उक्त नाटकमा कतारमा नेपाली कामदारमाथि हुने थिचोमिचोको विषय प्रस्तुत गरिएको थियो । शर्मा उक्त कार्यक्रममा विशेष अतिथि थिए ।

शर्मासँगै पक्राउमा परेका उक्त कार्यक्रमका आयोजक राष्ट्रिय लोक तथा दोहोरि गित प्रतिष्ठान कतारका उपाध्यक्ष शक्ति क्षेत्री, कलाकारहरु राम बाबु बोहरा, रित कुमार श्रेष्ठ र कृष्ण ढकाल पनि निर्दोष सावित हुदै रिहा भएका छन् ।

शर्माको रिहाइ भएलगत्तै गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले खुसीयाली व्यक्त गर्दै भने –‘मध्यपूर्व क्षेत्रीय संयोजक राजेन्द्रकुमार शर्माजीको रिहाइले म लगायत सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई हर्षित तुल्याएको छ । हाम्रो आग्रहलाई निष्कर्षमा पु¥याउन बिशेष पहल गर्ने नेपाल सरकार, कतार सरकार, दुवै देशका महामहिम राजदूतहरु एवं सबै सम्बन्धित साथीहरुलाई धन्यबाद । शर्माजीको सुस्वास्थ्यको कामनासहित व्यवसायिक तथा सामाजिक कार्यको निरन्तरताको लागि सुभेच्छा प्रकट गर्दछु ।’

एनआरएनएका पूर्वउपाध्यक्ष तथा कतारका सफल व्यवसायी टिबी कार्कीले शर्मा निर्दोष रहेको र कतारी अनुसन्धान व्युरोले पनि सत्यको पक्षमा नै न्याय दिएको भन्दै भने–‘अन्त्यत सत्यको पक्षमा निर्णय, स्वागत छ सम्पुर्णमा !’ यस्तै अर्का पूर्वउपाध्यक्ष तथा कतारका सफल नेपाली व्यवसायी नरेन्द्र भाटले पनि शर्माको रिहाई कतारमा रहेका सम्पूर्ण नेपालीका लागि खुसीको खबर भएको बताए ।

यस्तै एनआरएनएका सचिव डिबी क्षेत्रीले पनि शर्मालाई सामाजिक तथा व्यवसायीक दौरानका क्रममा विभिन्न आरोह–अवरोधहरु पार गर्नुपर्ने भन्दै यसप्रति विचलित नहुन आग्रह गर्दै भने–‘ कठिनाइ जिबनको पाटो हो । तेसैले यस्लाई सहज लिएर लगातार सामाजिक काममा अघी बढ्नु होला ।’

एनआरएनएका पूर्व उपाध्यक्ष तथा सामाजिक अभियान्ता सागर नेपालले पनि जिवनमा यस्ता समस्याहरु आइरहने बताउदै यसबाट नआत्तिन तथा शान्त र खुसी रहन शर्मालाई आग्रह गरेका छन् । यस्तै ओशियाना क्षेत्रीय संयोजक धर्मराज अधिकारीले पनि शर्माको रिहाइका लागि पहल गरेकोमा संघ नेतृत्वलाई बधाई ज्ञापन गरेका छन् ।

कतारमा सफल नेपाली व्यवसायी तथा सामाजिक अभियान्ताको पहिचान बनाएका शर्माले रिहा भएलगत्तै आफ्नो रिहाइका लागि पहल गर्ने सम्पूर्ण गैरआवासीय नेपाली, नेपाल सरकार, नेपाली दूतावास, सुभेच्छुकहरु तथा सत्यतथ्य अनुसन्धान गरी निर्दोष सावित गरिदिएकोमा कतारी प्रहरीको अनुसन्धान ब्युरोलाई समेत आभार प्रकट गरेका छन् । उनले सामाजिक तथा व्यवसायीक जीवनका दौरानमा यस्ता समस्या आइपर्ने भन्दै यसबाट आफु कतिपनि विचलित नभएको र आगामी दिनमा पनि यही बाटोमा निरन्तर हिडिरहने बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *