एनआरएनए मध्यपूर्व संयोजक शर्माको रिहाईका लागि चौतर्फी दवाव

news-details

गैर आवासीय नेपाली संघ (एनआरएनए)ले संघका मध्यपूर्व संयोजक तथा कतारका सफल नेपाली व्यवसायी राजेन्द्र कुमार (आरके) शर्मा सम्पर्क बाहिर भएको झण्डै एक महिना पुग्दासमेत सार्वजनिक भएका छैनन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमण अगाडि नै सार्वजनिक गर्न पहल भएता पनि उनलाई अझै बाहिर सार्वजनिक गरिएको छैन ।
कतारको सुरक्षा निकायले गिरफ्तार गरेर राखेकोमा एनआरएनएले ध्यानाकर्षण गराउँदै सोमबार प्रेस विज्ञप्ति जारी गरेर सम्पर्क बाहिर राखेकोमा आपत्ति जनाएको हो । उनलाई अक्टोवर १८ तारिखमा कतारको सुरक्षा निकायले पक्राउ गरेको थियो ।

राष्ट्रपतिले कतारको गृहमन्त्रीलाई नै भेटेर रिहा गर्न आग्रह गर्दा समेत उनी अझै हिरासतमुक्त भएका छैनन् । नेपाली दूतावास कतार र राजदूत रमेश कोइरालाका साथै कतारमा रहेका नेपाली समुदायले उनको रिहाईका लागि अथक पहल गरिरहेका छन् ।

उनलाई किन गिरफ्तारी गरियो भन्ने विषयमा त्यहाँको सरकारी निकायले आधिकारिक जानकारी गराएको छैन । गिरफ्तार गरिएको तेस्रो दिनमा शर्माले आफ्नो भाई युवराज शर्मालाई फोन गरेर प्रहरी निगरानीमा रहेको जानकारी गराएका थिए ।

कतारमा दशैं अगाडि आयोजना गरिएको एक साँस्कृतिक कार्यक्रमको प्रस्तुतिका विषयलाई लिएर गिरफ्तार भएको र सुरक्षित रहेको बाहेक अन्य जानकारी पाउन नसकेको पारिवारको भनाई छ ।

उनी अक्टोवर ५ तारिखमा दोहामा लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको कतार शाखाको आयोजनामा भएको एक साँस्कृतिक कार्यक्रममा सहभागी भएका थिए । त्यस कार्यक्रममा रोजगारदाताले नेपाली कामदारलाई दिएको पीडाको विषय समेटिएको थियो । शर्मा त्यस कार्यक्रमको विशेष अतिथिका रुपमा उपस्थित थिए । उनी बाहेक उक्त कार्यक्रमका आयोजक प्रतिष्ठानका उपाध्यक्ष शक्ति क्षेत्री र कलाकारहरु राम बाबु बोहरा, रित कुमार श्रेष्ठ र कृष्ण ढकाललाई पनि त्यहाँको सुरक्षा निकायले त्यस कार्यक्रम पछि नियन्त्रणमा लिएको बुझिएको छ ।

गत विहिबार संयोजक शर्माले करिब १५ मिनेट परिवारका सदस्यहरुसँग कुरा गरेको र नेपाली समुदायको नेतृत्वकर्ता भएर पनि त्यस किसिमको कार्यक्रम किन रोक्ने प्रयास नगरेको भन्ने विषयमा नै कतार प्रहरीको सोधखोज केन्द्रित रहेको शर्माले परिवारका सदस्यहरुलाई गराएकोे बताइएको छ ।

उनको गिरफ्तारी पछि परिवार तथा एनआरएनएले कतारस्थित नेपाली दुतावास, परराष्ट्र मन्त्रालयलगायत सम्बन्धित निकायहरुमा उनको अवस्था यकिन गर्न र रिहाइका लागि आवश्यक पहल गरिदिन अनुरोध गर्दै आएको छ ।

संघले प्रेस विज्ञप्तिमार्फत संघका मध्यपूर्व संयोजक शर्मा र हिरासतमा रहेका अन्य नेपालीहरुको शिघ्र रिहाइका निम्ति जोडदार अपील गरेको छ । यस्तै, संघले प्रेस विज्ञप्ति मार्फत कसैले पनि व्यक्तिको स्वाभिमानमाथि चोट पुग्ने गरी संघ र संघका पदाधिकारीहरुलाई समेत जोडेर काल्पनिक, आधारहिन र भ्रामक समाचार संप्रेषण तथा टिका टिप्पणी नगरिदिन आग्रह गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *