गैरआवासीय नेपाली संघमा अब ६ उपाध्यक्ष रहने, विधानसभाको व्यवस्था स्थगन

news-details

गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)मा ६ उपाध्यक्ष रहने गरी विधान संशोधन हुने भएको छ ।

शुक्रबार राजधानीमा भएको पहिलो विधानसभाले विषयगत रुपमा छ उपाध्यक्ष रहने गरी विधान संशोधन गर्ने निर्णय गरेको महासचिव डा बद्री केसीले जानकारी दिए ।

वैदेशिक रोजगार, लगानी, नेपालीले सिकेको सीप, प्रशासन र महिला, युवा तथा दोस्रो पुस्ताको प्रतिनिधित्व गर्ने गरी छुट्टाछुट्टै छ उपाध्यक्ष राख्ने विधानसभामा सहमति जुटेको छ । यसअघि एक महिलासहित तीन उपाध्यक्ष रहने व्यवस्था थियो ।

विधानसभाले गरेको निर्णय विशेष महाधिवेशनमा लगेर पारित गर्नुपर्ने भएकाले अब विधानसभा नरहने उनले जानकारी दिए । महाधिवेशनमा प्रतिनिधि सङ्ख्या भने पुरानै विधानअनुसार नै रहने भएका छन् ।

सल्लाहकार डा हेमराज शर्माको संयोजकत्वमा बनेको विधान समितिले संशोधन प्रस्ताव पेश गरेको थियो । सन् २००३ मा स्थापनापछि पहिलो पटक विधानसभामार्फत संशोधनको विषय प्रवेश भएको थियो ।

यसैबीच शुक्रबारदेखि सुरु भएको गैरआवासीय नेपालीको ‘विश्व विज्ञ सम्मेलन’ आज असोज २८ गते सम्पन्न हुदै छ । सम्मेलनमा कृषि, जलविद्युत, यातायात, वातावरण प्रदूषण नियन्त्रण, ऊर्जा, पूर्वाधार विकास, व्यावसायिक सीप, स्वास्थ्य र शिक्षालगायतका विषयमा छलफल भइरहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *